जिन्दगीको हिँडाइ
कोही एक्लै हिँड्छन्
कोही युगल भई हिँडछन्
कोही समूहमा हिँड्छन्
आखिर हिँडनु नै छ
समयसँगै
कोही लक्ष्य साँधेर
निश्चित दिशातिर
कोही लक्ष्यविहीन
आशा निराशाको दोसाँधमा
अहँ! हुँदो रहेनछ हिँडाइको अन्त्य
पुगिँदो रहेनछ त्यो सोचेको गन्तव्य
कतिसम्म कमाए पुग्छ?
कतिसम्म सुख भए हुन्छ?
सीमा नै छैन त्यसको
नहुँदा भए हुन्थ्यो जस्तो
हुँदाखेरी अझ भए हुन्थ्यो जस्तो
खै त यसको पूर्णबिराम?
खै त मनको विश्राम?
न त रात न त दिन
कुदिरहन्छन् मानिसहरू
गुडिरहन्छन् मोटरमा
उडिरहन्छन् प्लेनमा
चलिरहन्छन् मेशिनसँगै
आ-आफ्नै हिसाबकिताब मिलाउँदै
अथवा मिलाउने चाहना बोकेर
जिन्दगीको हिँडाइ
हिँडि नै रहन्छन्
कोही दु:खका पाइला घिसारेर
कोही संसारै आफ्नो बनाउछु जस्तो गरेर
जिन्दगीको हिँडाइ
कोही आँसु छोपेर हिँड्छन्
कोही हाँसो देखाएर हिँडछन्
कोही पसिनाले भिजेर हिँड्छन्
कोही नानारत्नले सजिएर हिँड्छन्
आखिर हिँडनु नै छ
समयसँगै
कोही लक्ष्य साँधेर
निश्चित दिशातिर
कोही लक्ष्यविहीन
आशा निराशाको दोसाँधमा।