एकान्तबास, सुनसान,
आकस्मिक बन्दाबन्दी,
जहाँ,
कतै खैलाबैला, हल्ला-खल्ला छैन,
तथापि,
बेखर्ची, बेसहारा भै
झमझम झरीमा रुझेका, माउ बिनाका चल्ला झैँ,
आफ्नो गुँड भेट्टाउन
बख्खु चप्प्पल पट्याँस-पट्याँस पट्काउँदै
अनिश्चित यात्रामा निस्केका
निरीह पाइलाहरुको मन्द आवाज बाहेक!
मलाई न कुनै आवाजले छुन्छ,
न त कुनै रोदनले,
सुनसान यही मौसममा
मेरो मथिंगलमा
बेमौसमी तानाबाना चल्छन्, अनि
पुराना, काला, ढुसी पलाएका
खोइलाहरु संगाल्छु,
वर्षौं भो खेतबारी बाँझै छ,
न नयाँ मकै छन्, न नयाँ खोइला, त्यसैले
तिनै मक्रालिएका खोइला टिपन-टापन गर्दै
एउटा कटेरी ठड्याउँछु, अनि
एकोहोरो त्यसैलाई हेर्दै खित्खितिन्छु!
हेर्दाहेर्दै, कठै मेरो कटेरी
अनायासै गर्ल्याम्म ढल्छ,
घरी रुन्छु, घरी हाँस्छु,
मेरै अगाडि
मेरो पौरख ढलेको देखेर!
आफैँ सम्हालिँदै
ठूला-साना खोइला-खोइली बटुल्दै
लामालाई भाँच्दै, छोटालाई गाँस्दै
पुन: ठड्याउँछु मेरो कटेरी-
सन्तुलन मिलाउन चारै कुनामा
साना-साना काला ढुंगा
धागोले बाधेर झुन्ड्याएको छु,
ढल्नै लागेको परालको टौवामा झैँ, जताततै
सुकेका खिर्रो र फदेलाका सिन्का चिरिचिरी
टेका लगाएको छु!
ढुक्क छु अब-
न कुनै भुइँचालो, न कुनै तुफान,
कसैले हल्लाउनै नसक्नेगरी
अजम्बरी स्तम्भ बनेको छ
मेरो सुन्दर खोइलाको कटेरी!