सतिको सराप र मतिको धरापले नपुगेर
हाम्रा थाप्लामा थपिएको तँ
हर कामको ‘सगुन दूत’!
वाह ! अजम्मरी ‘भनसुन’ भूत!
परिचय भिर्दैनस्, ढोकाबाट छिर्दैनस्
मैलिएको तर नओइलिएको
मेचीदेखि काली फैलिएको
देशतन्त्रको अदृश्य राजा- ‘भनसुन’ तँ !
विधान देखिन्छन् तर हुन्नन् कहीं
तँ देखिईन्नस् तर हुन्छस् जहाँतहीं !
पद पाउन ‘भनसुन’, पदक लाउन ‘भनसुन’
पद बचाउन ‘भनसुन’, पैसो पचाउन ‘भनसुन’
बनाउन भनसुन, बटार्न भनसुन
उचाल्न र थेचार्न भनसुन !
जादुमय तँ !
पहिरिए चम्केको मतिहीन मुढो भइने
नपहिरिए भोकै, न्याय कुरेरै बुढो भइने !
तँ भए चोखा, तँ नभए च्युत
ठूलो निधारको भकुन्डे बिगुत
हाम्रो मौलिक ‘भनसुन’ भूत !
हे ‘भनसुन’ ! तँ बिना त नुन-तेल पनि झर्दैन
तँ भएपछि ढुक्क ! पढ्न लेख्न पर्दैन
कोही भोकमरीले मर्दैन
अपराधी नै भए पनि जेल जानै पर्दैन
गए पनि भोलिपल्ट नेता भएर निस्कन्छ
भनसुन-पुराण सगर्व पस्कन्छ
मैले पो जानिनँ त
बाँच्न त तँ नै तँ चाहिने रै’छस् !
उघारेर हेर्ने हो भने
सबको शिरदेखि पाउ तँ मात्रै पाइने रै’छस् !
नाङ्गाको शरीरमा तैं लगाइने रै’छस् !
आँशुहरू अनसनमै मरे मरून्
स्तुतिमा त तैं गाइने रै’छस् !
बाह्रमासे ‘भनसुन’ को मनसुन अगाडि
नाथे ज्ञानगुनको बिस्कुन रूँदो रै’छ
पहिले पहिले गहना सुनको हुन्थ्यो होला
अचेलको त गहना नै भनसुन हुँदो रै’छ
उफ! तँ बिना सास फेर्न खोज्नेलाई
काँडाले धुनुसम्म धुँदो रै’छ
म ढले ढलुँ, तैं बाँचेस् भूत !
तँ त कामयावहरुको मनको विद्युत
अजर अमर ‘भनसुन’ भूत !