बिसौँ वर्षपछि गाउँ पुगेको म
खेत, पाखोबारी, खरबारी,
डाँडा-काँडा र कन्दरा एकनास टोलाए
मलाई हेरेर!
म फिस्स हाँसेर सम्बोधन टक्र्याएँ
तर तिनीहरु मुस्कुराएनन्
सायद बेखुस थिए मसँग
नाराज थिए
माया मारेकोमा।
खेतको कान्ला हाम्फाल्दै थिएँ
नराम्ररी बजारिएँ
गुनासो पोखेँ- ए खेतका गराहरु हो!
चिनेनौ मलाई?
यी नै खेतका बाउसे र हलि त हुँ नि म
मलाई पछार्ने खेतको कान्लो बोल्यो-
तैले बिर्सिस् होला, हामीले कहाँ बिर्सेका छौं र
सहरका एसी जडित कोठामा गुम्सिएर
खुट्टा चाल्न बिर्सिएर
दोष हामीलाई थुपार्न
लाज लागेन है!
म लाजले भुतुक्क भएँ
बाटो मोडेँ, अन्तै गएँ।
नाङ्गै पौडिने खोलाको याद आयो
त्यतै बरालिंदै थिएँ
ढुंगा चिप्लेर छाती बजारियो
असह्य दुख्यो र खोलासँग गुनासो पोखेँ-
ए खोला! मलाई चिनिनस् है?
त्यो खहरेमा, खोलामा
पौडिएर ज्यान चिसो हुँदा
ढुंगामाथि सुतेर तातो लिने
चिच्याएर केटाकेटीको सातो लिने
उबेलाको नाबालक मै त हुँ नि!
मलाई पछार्ने खोलाको ढुंगा बोल्यो-
चिल्लो र सम्मो बाटोमा सयर गर्ने
स्वार्थी मनुवा! तैले हो बिर्सेको, मैले हैन।
जहाँ जहाँ गएँ
खरबारीमा, पाखोबारीमा
अग्राखका अजङ्ग रुखहरु
चारकोशे झैँ देखिने घुम्टे डाँडा,
शिरुभाको सम्मोका झाडीदेखि
घर छेउको बाँदर धपाउने मकैबारीसम्म
सबै सबैको भाव एउटै थियो
गुनासो एउटै थियो
म सहर पसेर स्वार्थी भएँ
गाउँ बिर्सेर देखाउनकै लागि आधुनिक भएँ
जब जब संकट पर्छ,
जब सहरले मुखमा लाउने माड दिन छाड्छ
यस्तै यस्तै लकडाउन र भूकम्पहरुमा
आपत अनि विपदहरुमा
मात्रै गाउँ सम्झिने
सबै सबैले भने जस्तै
म स्वार्थी त हुँ नि
फगत चार आनामा
घरको चार कुनामा सीमित हुन
सहरिया हुने होडमा रहेको
आफूलाई सहरबासी भन्न रुचाउने
गाउँ जाने महिना अनि वर्ष गन्न रुचाउने
धिपिर धिपिर जिन्दगी घिसारिरहेको
गाउँ बिर्सेको एउटा स्वार्थी मनुवा!
फगत स्वार्थी मनुवा!