मायामोह जितें भनेर मुखले, लोभी र पापी अति
घाटै पुग्छ हरे! मरेर मनुवा, छोड्दैन धन सम्पत्ती।
मिथ्या हो जग यो भनेर मुखले, लुट्ने र ढाट्ने सधैं
मान्छे हाँस्छ अझै भुलेर कसरी, ढाँटेर आफै कठै?
देवै हुन् अतिथि भनेर मुखले, चोसो र मोसो गरी
गाली गर्दछ भित्र भित्र मनमा, अहिले मरोस् झैं गरी।
छोरी हुन् देवकी भनेर घरकी, छोरा र छोरी त्यसै
एकै हुन् समान भनेर मुखले, भेद्भाव गर्ने सधैं।
दानी बन्न भनी ठगेर दुनियाँ, फैलाइ हातपाउ सदा
के लाग्ला निद खै? र चैन मनमा, मागेर दानी हुँदा।
आत्मा ज्ञान भयो भनेर मुखले, पाखण्ड ढोंगी पनि
आँखामा धुल छर्दछन् ती चटके, जान्ने र सुन्ने बनी।
खोजे मिल्छ हिरा र रत्न वनमा, रुद्राक्ष एकै मुखे
मिल्ने छैन कतै ल जान मनुवा, मनमा र मुखमा एकै।