मेरी आमा महान् छिन्
सासू-आमा खै किन बिझाउँछिन्!
मेरी छोरी त प्यारी छिन्
तर बुहारी खै किन बिझाउँछिन्!
मेरी दिदी प्यारी
मेरी बहिनी प्यारी
जेठानी र देवरानी खै किन बिझाउँछिन्!
आमाजू र नन्द खै किन बिझाउँछिन्!
मेरा बा महान छन्
ससुरा बा खै किन बिझाउँछन्!
मेरो दाजु प्यारो छन्
मेरो भाइ पनि प्यारो छन्
जेठाजु र देवर खै किन बिझाउँछन्!
आँखामा भ्रम बनेर बसेका
सम्बन्धका जालोहरू
मोतिबिन्दु बनेर ढाकेपछि
निलिदिन्छ सिङ्गो आकाशलाई
छोरी चन्चल गङ्गा
बुहारी शान्त समुन्द्र
छोरीका हातका सुन्दर बाला
जब बिझाउँछन चुरा बनेर बुहारीको हातमा
छोरीको गुलियो जेरी झैँ लाग्ने बोली
जब अमिलो गुन्द्रुक झैँ अमिलो लाग्छ
बुहारीको बोली
आमाका आँखामा नबिझाउने छोरी
छोरीको आँखामा नबिझाउने आमा
चसक्क बिझ्छ आँखामा सासूको चस्मा
चसक्क बिझ्छ आँखामा बुहारीको गाजल
सम्बन्धका भ्रमहरू
धुँदाधुँदै मैलिन्छन्, फाटिन्छन्
छोरीको हातमा सजिएका मेहेन्दीका रङहरू
बुहारीका हातबाट मेटिँदा नमेटिँदै
असल त ज्वाइँ थिए
छोरा त उहीँ हो
छुटाउन नसकेपछि आँखाहरूले
सम्बन्धका मिठा भ्रमहरूलाई
सोध्दैछु
खराब मेरी आमा कि
खराब उनकी सासू?
खराब मेरा बा कि
खराब उनका ससुरा?
खराब उनकी छोरी कि
खराब मेरी बुहारी?
आँखामा लागेका भ्रमका
जालो हटाउन नसक्ने
कतै आँखामा मैले लगाएको
चस्मा नै खराब हो कि
या मेरो दृष्टि भ्रम हो
चस्मा फेरूँ कि
चस्माको फ्रेम?