श्रीमानको कोरोनाले ज्यान गयो
उनी सानो छोरो लिएर चण्डीगढबाट मानसिक सन्तुलन गुमेझैँ भई
आइन् गुवाहाटी ज्यान जोगाएर
केही छैन साथमा, बैंक एकाउन्ट श्रीमानको
देखाइन् मलाई रुँदै, गुहारिन् गोडा छोएर
भनिन् 'म बेखर्ची भएँ' हजुर
उनीको खाताको रकम चाहियो मलाई
उनीको वेदना सुनेर धुरुधुरु रोयो मेरो कविता।
गुवाहाटीका युवा प्राध्यापक, नम्र र ज्ञानी
गृहऋण लिने तर्खरमा मेधी सर
सबै कागजी कामहरू भए
आज एउटी महिला आएर भनिन्
म मेधी सरको श्रीमती
उहाँ खस्नु भयो कोरोनामा
सोधिन् नमिनीको छ होला उनीको खातामा
उनीको वेदना सुनेर मुटु चिरि रोयो मेरो कविता।
उनी रिटायर्ड राजपत्रित अधिकारी
श्रीमानको उहिले स्वर्गबास भएको
मसँग साह्रै घनिष्ठ र मन मिल्ने
सानो छोरो सत्ताइस वर्षको
नर्सिङ होममा कोरोनामा प्राण गयो
ठूलो छोरो दुई महिना भयो हस्पिटलमा कोरोनाले
फोन गरेर गुहारिन् उनीको रकम निकालेर-
पुर्याईदिनु पर्ने घरसम्म
अहोभाग्य ठानेँ आफैंलाई काम गरेर
उनीको वेदना सुनेर लुप्त भयो मेरो कविता।
श्रीमान कोरोनामा सिकिस्त आइसियूमा
श्रीमती पनि सन्तान प्राप्तिको निम्ति हस्पिटलमा
हाहाकार छ वातावरण, गुहारिन् मलाई
'वृद्ध आमा र सानो नाति बैंकमा जान्छन्
मेरो खाताबाट रकम निकालेर दिए म
जीवनभर ऋणी' भनि फोन गरिन्
सम्पूर्ण चिहान झैँ भयो मेरो कविता।
न कथाको अन्त, न व्यथाको
जीवनले रङ्ग फेर्छ प्रतिदिन
कहिलेकहीँ त असन्तुलित हुन्छ मन
हेर्न सक्दैन तमाम दुःख र वेदनाहरु
ठाउँ नै छैन दुःख बिसाउने
मेरो कविता चित्कार गर्छ सपनीमा
उकुसमुकुस भएर हिजोआज
धुरुधुरु रुन्छ मेरो कविता।