ऊ पहिले नै गम्भीर बनिसकेकी थिई। कुहिनु टेकेर दुवै हत्केलाले अनुहार करिब करिब छोपी। अनि, विस्तारै टाउको केही उठाएर मुस्किलले घुमिरहेको सिलिङ पंखातिर हेर्दै अगाडिको अनुहारबाट आँखा हटाई।
ढिलो लवज र मधुरो स्वरमा बोली, 'हरेक पटक माइत जाँदा एकदिन यादहरु पल्टाउन त्यहाँ पुग्छु नि' सिंहदरबार गेट अगाडिको चिया पसलमा दोस्रो कप चिया अगाडि आएपछि नर्मदाको मुखबाट निस्किएको वाक्य थियो यो।
तात्तातो चियाका दुईवटा गिलास साक्षी छन्। अरु टेबलका मान्छेहरु आ-आफ्नै गफमा मस्त। सबैजसो टेबलबाट निस्किएको चुरोटको धुवाँ पिउनेले भन्दा नपिउनेले बढी लिइरहनुपरेको छ।
नित्य भने दायाँ हातको माझी र चोर औंलाले च्यापेको चुरोट ओठमा लैजान घरिघरि बिर्सिन्छ। औंलामा च्यापिएको भएर पनि बेवारिसे झैं चुरोटको लम्बाई! एक्लै घटिरहेको छ। औंलो पोल्न खोज्दो रहेछ, खरानी झार्छ।
नर्मदा यादहरु पल्टाउन पुग्ने ठाउँ, त्यो गुलमोहरको फेद। वसन्त ऋतुमा यसरी झपक्क फुल्थ्यो कि, परसम्म राताम्य हुने। ठूलो ठाउँ ओगटेको थियो त्यसले।
बुधबारेबाट उत्तर बर्नेको उकालो उक्लिएर चिया बगानको बीचतिर सफा मेची राजमार्गलाई अलिकति दायाँ छोडेपछि पुगिन्थ्यो। हावा ठोक्किएर र उमेरले बिदा गरेपछि झरेका गुलमोहरका राता फूलका पत्रहरु, लाग्छ, गलैंचा विच्छ्याएको सफा कोठा जस्तै भुइँ।
चर्को घाम छलिन, सानोतिनो पानी पर्दा ओतिन, त्यति मात्र कहाँ हो र, त्यतिकै पनि उनीहरु असन्तुलित ढंगले जमिन माथि पसारिएका गुलमोहरका उबडखाबड जराहरुमा ज्यान बिसाउथें।
उनीहरु कलेजका सहपाठी। घरबाट ओसारेको दालचामलको भरमा टरेका गरिव भान्सा। घर जान ढिलो भएका केही छाकहरु नुन, बेसार, चिनी, चियापत्ती वा बेलाबेला त दाल, आलु, चामल, गुन्द्रुक समेत पैँचो गरेर खानुपर्ने अवस्था।
विर्तामोडमा उनीहरु दुवैका डेरा टाढा थिएनन्। दुईघर ओर्तिर पर्तिरको बसाइ। डेरा बसेर पढाइ सुरु गरेको करिब एक सातासम्ममा दुवै परिचित भइसकेका थिए। एकअर्का घरका कोठामा बलेको बत्ती दुवैले देख्थे।
कुकरको सिटी वा घन्किएको मोबाइलको गीतले पनि एकअर्कालाई सुनिरहेका हुन्थे। एकै बान्कीका गीत सुन्थे र तीनका शब्द गुन्गुनाउँदै भाकामा लोलाउँथे।
गुलमोहरको रुखमुनि उनीहरु प्रायः प्लास्टिकको बट्टामा बोकेको फुको चटपटे र बोतलमा भरेको पानीसँग समय खान्थे। शनिबारको दिन त घामले पृथ्वीलाई अर्धचक्कर मार्दा पनि उनीहरुका गफ सकिँदैनथे।
सपनाको पन्तुरो पनि साथै थियो नि, किताब बोकेका हुन्थे। पढ्थे। एकअर्कालाई प्रश्न सोधासोध गर्दथे। पढाइमा दुवै मध्यम कोटीका। नोट सारासार गर्दथे। अमिलो पिरो चटपटे खाएर पानी पिएपछि गर्मी मध्यान्हमा पिसाब फेर्न दश पाइला पर्तिर चियाको बोटमा छलिएर अर्कोपट्टि फर्किंदा भइहाल्थ्यो।
फर्किएर एकअर्काको अनुहार केही लजालु नजरले हेर्यो। फेरि लयमा फर्किहाल्यो। नाके स्वरको नित्यलाई केही टाठो स्वरमा पढेको मात्र घुस्थ्यो। कराएरै पढ्ने उसको बानी। विपरीत नर्मदा मनमनै वा भनौँ बढीमा ओठ चलाएर मात्र पढ्थी।
ओठको माथ्लोपट्टि उठेको कोठी उसले पढ्दा उप्किएका शब्दकै लयमा सक्रिय भइरहेको हुन्थ्यो। कोठीको यो चाल उसले चोर आँखाले सुटुक्क हेर्दथ्यो।
अर्को एउटा सफा दिन। ढल्दो वसन्त। गुलमोहरका राता फूलहरु निख्रिन लागेका। झरेका धेरैजसो सुकेर माटोको रङ्गसँग मिल्दै गएका। एउटा जीवनचक्र झैं लाग्ने। यी झरेका फूलहरुलाई प्रकृतिले जतनसाथ मौसम अनुसारको रंग हालिदिएको थियो।
अलिक दिन अघिसम्म बैँसले परिपूर्ण थिए। तीनमा हावाले बयेली खेल्दा उनीहरुको मन पनि फूलजस्तै रंगिन बनेर एकअर्काको अनुभूतिको गहिरो बिन्दुसम्म छुन्थ्यो। हृदयका अन्तर तन्तुहरु तरंगीत हुन्थे।
एकैछिन अघि पढिरहेको अर्थशास्त्रको माग र आपूर्तिको नियम पल्टिएको पुस्तकको पन्ना हावाले उसकै गतिमा पल्टायो। अघिल्लो दिनको वर्षाले ओसिएको माटोमा आजको चर्को घाम ठोक्किँदा एकपाराको गन्ध आइरहेको छ।
सुकेका पात पतिङ्गरहरु पनि कुहिँदै छन्। अस्तिसम्म हाँगाहरुमा फुलेका फूलहरु कत्ति चाँडो माटोमा मिसिँदै गएका। अस्तित्वमा आयो, उमेर चढ्यो र ढल्यो, फेरि प्रकृतिमा मिल्ने दिन आइहाल्यो। चराचर जगतका अरु यावत झैँ फूल र मान्छे उस्तै उस्तै त हुन्!
परीक्षा सुरु हुन सातादिन मात्र बाँकी हुँदा उनीहरु यो वर्षको अन्तिम बसाइ गुलमोहरको रुखमुनि बसेर भविष्यको भाष्य कोरिरहेका थिए। कम्तीमा स्नातकोत्तर पढ्ने र जीवनको एकैपोयो डोरी बाट्नेसम्मको एकमेलो उम्मेदको मार्गचित्र उनीहरु दुवैको कल्पनामा कुँदिएको थियो। यो पूर्णकदको सपना उनीहरुले देखेका हुन्।
सपना नै त हो। देख्न सजिलै हुन्छ। एक्ला एक्लै देखेपनि हुन्छ। तर पूरा गर्न अरु तत्वहरु पनि जिम्मेवार हुन्छन् भन्ने चेत पस्न अलिक बाँकी रहेछ। सात दिने परीक्षा सिध्याएर नर्मदा इलामको करफोक मुन्तिरको घर र नित्य विर्तामोडबाट सिधा दक्षिण भद्रपुर तिर लाग्नु थियो।
पिरोल्ने, चिमोट्ने वा भनौँ सम्झाइरहने अनेक यादहरु जिउँदा थिए। चट्पटे, आलुदम, चिसिन लागेको भेज मःमः, मुलाको अचार र पानीका बोतलको साथमा बिताएका क्षणहरु चाहेर पनि भुलिने खालका थिएनन्।
जीवनमा यात्रा एक्लै गर्न असम्भव हुँदैन। गाह्रो पनि हुन्न। जब यात्रामा कसैको अस्थायी साथ मिल्छ नि, त्यसपछिको पूरा यात्रालाई त्यो साथको सम्झनाले हरेक पल हल्लाइरहन्छ। भएको आज दुवैलाई त्यही हो।
प्रेमलाई कुनै दार्शानिकले जान्ने भएर भनेको रहेछ, यो त नियमित निकटताको उपज हो। तर यो कहाँ ति दार्शानिकले भने झैं त्यो परिधिमा बाँधिएर बस्दो रहेछ र! अदेखमा झन् बढी अग्लिँदो र अनुभूत हुँदो रहेछ।
लामो सास फेर्दै चियाको अन्तिम घुड्को पिएपछि उसले आफ्नो कुरा सुनाउने पालो ठान्यो। प्रमाणपत्र तहको पढाइ पूरा नगरी राहदानी बनाउन सदरमुकाम चन्द्रगढी गएदेखि पश्चिम एसियाका खाडी मुलुकमा जम्मा ९ वर्ष बिताएका हरेक दिनहरु ऊ उसैगरी सुनाउन चाहन्थ्यो, जसरी एकले पढेको मधुमालतीको कथा अर्कोले रिठ्ठो नबिराइ सुन्थे।
पढ्नेले भन्दा सुन्नेले बढ्ता बुझ्थ्यो। पात्रहरुका ठेगानामा आफूलाई उभ्याउथें र तिनीहरु अभर पर्दा उनीहरुको मुटु जोडले धड्किन्थ्यो। कथालाई आफ्नै कहानीमा ढालेर सुन्थे, उसैगरी बुझ्थे।
खाडीको तातो, जतनसँग थोपाथोपा गन्ती गर्दै पानी पिएको, लखतरान भएर साँझ कोठामा पसी एक्लै खाना पकाएर खाएको, साथीहरुसँगको जमघटको नाममा घरीघरी यी नै हातले एक/दुई प्याला मदिरा रित्याएको, यिनै त हुन उसले करिब ९ वर्ष साटेका उमेरका यादहरु।
पिरोल्नका लागि उसलाई बढ्ता त नियमित उच्च रक्तचापको ओखती खानुपर्ने आमा, मृगौलाको पत्थरिया झिक्न नसकेका बाबुको उपचार खर्चको अभाव पनि थिए। नुन भुटुनको अभरको भारी छँदै थियो।
विदेशिने क्रममा ढल्कँदो किशोरको काँधमा सवालाख रुपैयाँ ऋणको बोझ पनि थियो। 'घरमा पढ्ने तँ मात्र होइनस्' प्रमाणपत्र तहको परीक्षा लेखेर घर फर्किएको त्यो साँझ भात खाएपछि वरण्डामा बाबुले उसलाई भनेका थिए- 'यति पढाएँ, अब आँखा देख्ने भइस्।'
आकाशमा एक्कादुक्का ताराहरु पिल्पिलाइरहेको त्यही अँधेरी रात हो उसले खाडीको बाटो समात्ने निधो गरेको। खाडीको भन्दा पनि खडेरीको बाटो। कहिल्यै फापेन उसलाई विदेशको रोजगारी।
चार वर्षपछि पहिलो पटक घर फर्किंदा उसको लगेजमा एउटा चौडा टेलिभिजन, बहिनीलाई घडी र मेकअपको बक्स, केही लुगाफाटो र मिठाइका झोलहरु थिए। अर्को साता घरले बहिनी अन्माउँदै थियो।
विदेश बसाइले आफू गएको ऋण तिर्ने, घरको चुहुने छानो फेर्ने, बोराको ढोका भएको खाल्डे चर्पीलाई टिनको छानो भएको पक्की बनाउने र आमाबाबुको नियमित उपचार गर्नेसम्म मात्र भ्यायो। थपमा बहिनीको बिहेपनि उसैको कमाइबाट हुँदै थियो।
त्यसपटक लामो बिदा थिएन। तीन सातामै काममा फर्किहाल्नु पर्ने भाका भ्याउन उसलाई चटारो थियो। आफूसँगै बस्ने झापा, मोरङ र धनकुटाका ६ जना साथीहरुले पठाएका पार्सल पुर्याउन र तीनका घरको सञ्चो बिसञ्चोको खबर भेटेरै लगिदिनु थियो। त्यसका लागि बहिनी अन्माए पछिका कम्तीमा तीन दिन उसलाई चाहिएको थियो।
कहाँ पुगि होली, के गर्दै होली, भनेर नर्मदाको खबर बुझ्न मात्र होइन एकपटक भेटेर उसैगरी गुलमोहरका जराहरुमा बस्न मन नभएको कहाँ हो र! तर सम्पर्क मेसो मिलेन। मनको चाह पनि कस्तो जब्बर बनेर आइदिन्छ भने।
ऊ पूराना याद र पाइला पछ्याँउदै विर्तामोडको आफू पढेको कलेज, डेरा बसेको घर, इलाम जाने ट्याक्सी अडिने चोक हुँदै बर्नेको त्यो गुलमोहरको फेद पुगेको हो। तर यसपालि एक्लै।
चियाका प्लट छुट्याउन बनाएको खोल्सो उफ्रिएर पारगर्दा समाउने बुढी र कान्छी औंलाका नङ लामो पालेको पातलो छाला भएको अर्को मुलायम दाहिने हात यसपालि थिएन। चट्पटे र आलुदम बोकेको लेडिज ब्याग उघ्रिएन।
हिँड्ने बेलामा अनुहार लुकाउँदै खोस्टो उघारेर उसलाई मिठो लाग्ने हर्बल चकलेट मुखैमा हालिदिने त्यो मान्छे छेउमा थिइन। ऊ एक्लै थियो। परदेशबाट छोटो म्यादमा आएको युवकलाई जबर्जस्ती तानेर त्यहाँ पुर्याउने याद बाहेक अरु के थियो र? यादका त्यान्द्रा समाँउदै त्यसैमा एकान्तमा रमाउन र रुन कसैको अनुमति पनि त चाहिँदैन!
चियाका छिप्पिएका पात छिमल्ने याम परेछ। पात झरेर हाँगामात्र बाँकी रहेछन् गुलमोहरका पनि। फूलहरु अस्ति नै माटोमा मिलिसकेका। उभिएर भुइँमा हेर्यो। आफ्नो हराएको विगतका सबै पत्रहरु एक एकगरी पल्टायो।
घामबाट उज्यालो, आँखाबाट दृष्य र औंलाबाट स्पर्श हराएको थियो। केवल अनुभूति मात्र बाँकी थियो।
'चुरोटको अम्मल कहिले बसेको?' नर्मदाले चिनी कम भन्दै चिया अर्डर गर्दा वास्तवमा प्रश्न होइन आग्रह र केही प्रेमभाव पनि दर्शाएकी होनि!
सानैदेखि उसमा सरकारी जागिर खाने इच्छा थियो। गुलमोहरको रुखमुनि अन्तिम पटक गफिएर बिदा भएदेखि उसको जीवन तैविसेक सरल रेखामा दौडिएछ। त्यो सिमसिम पानी परिरहेको साँझ छुटेपछि खुटखबर नपाएको मान्छेलाई उसले मनको एक कुनामा साँचीरहेकी थिई। तर पर्खिनुको पनि हद हुन्छ नि।
स्नातक सकेर ऊ सरकारी जागिरको तयारीमा लागि। नभन्दै महिला कोटाबाट नायब सुब्बाको जागिरका लागि छनौट भइ। अब उसका लागि जीवनको बाटो केही सहज थियो। मनमा भएको मान्छेसँग देखेका सपनालाई मनकै एक कुनामा थन्क्याएर उसले अर्को घरजम सुरु गरी।
काखमा एउटा बच्चो छ। व्यवसाय गर्ने श्रीमान्। बच्चो हेर्न र घरको काममा सघाउन एकजना किशोरी राखेकी छे। राम्रै घरबार चलिरहेको छ। काठमाडौं धापासीमा तीनकोठे घर छ।
खासमा यो दिन अचम्मको संयोग नै परेको। वैदेशिक रोजगारीमा गएका व्यक्तिले भनेको काम वा ज्याला नपाए वा अरु कुनै दुर्घटनामा परे पाउने सहुलियतको लागि अड्डा चहार्ने क्रममा अचानक नित्यका आँखा त्यो ठूलो निधार भएको महिला अनुहारमा पुगेर अडिएका थिए।
ज्यान अलिक मोटाएछ। तर त्यो पहिलेको सफा अनुहारमा अहिले डण्डिफोर र पोतोले केही ठाउँ ओगटेछ। नाकको फुली उही। दश वर्षपछि देख्दा पनि उनीहरुलाई चिन्न कुनै कठिनाइ भएन। एकै नजरमा दुवैले एकअर्कालाई ठम्याए।
कसरी भन्नु तारहरु टुटेका थिए भनेर? एकअर्कालाई डुबेर महशुस गर्न बेरै लागेन। अनि, मनहरु एकै निमेषमा दौडिएर गुलमोहरको रुखमुनि पुगे र थचक्क बसे। एकले अर्कालाई उभिएर हृदयले हेरे। चिया पसल देखाउँदै नित्यले प्रस्ताव राख्यो, 'जाउँ एकछिन।'
केही असहजसँग बसेको नित्यको बायाँ हात ज्याकेटको गोजीभित्र थियो। उसले धेरै पटक समातेको हातको पञ्जा खाडीमै छुटेको भयानक सत्य सकेसम्म लुकाउन चाहन्थ्यो। सत्य लुकाउन कुनै कुनै मान्छेसँग सकिदैन नि!
हो, नित्यलाई आज त्यस्तै भयो। 'हेर न यस्तो भएँ' टेवलमा पसारेको पञ्जा नभएको नाडीमा रोकिएका नर्मदाका आँखाबाट नजानिँदो पाराले एउटा सुनामी बग्यो। आँखीभुइँ उचालेर उसले दबिएको स्वर र भावुक मुद्रामा निशब्द सोधी।
जवाफ मिल्यो, 'कतारमा काम गर्दा यस्तो भयो।' धेरै पहिले सपनाको बगैंचा चहार्दा आड मानेर समातेको हात अपांग पस्रिएको थियो उसका अगाडि।
रित्तिन लागेका काँचका चिया कपहरु। आ-आफ्ना गुँडतिर लम्किरहेका मानिसहरु। धुलो उडाँउदै गुडेका ट्याक्सी र मोटरसाइकलहरु। कोलाहल थियो सिंहदरबार अगाडिको यो चिया पसल।
फेरि भेटिने भन्दै छुट्नु अघि उनीहरु दुवैको दिल-दिमागका सबै कुनामा त्यही गुलमोहरको रुख छाएको छ। आज फेरि एकपटक उनीहरुलाई त्यो गुलमोहरको रुखले खिच्यो र त्यहाँ चल्ने हावाले नमज्जासँग हल्लायो।