हिउँ नखस्दै-
हिमालको शिरलाई ढोग्दै बग्छु
पहाडी छाती र तराईको
ममतामयी काख भिजाउँछु
उजाड जिवनहरुमा हरियो प्राण भर्छु
मुख्यतः
तिर्खाईरहेको मेरो देशको गहिरो प्यास मेट्छु
दुःखहरु बगाउने नदी
म अविरल बग्छु ...
चाहन्छु-
मेरो देशका प्रत्येक नागरिक
नदी झैँ गतिशील होउन
दुबोहरुमा शीत नटल्किँदै
तराईका सुकोमल पाउबाट उठेर पुग्छु
पहाडका केशहरुलाई
श्रद्धाले सुम्सुमाउन...
म विकृतिहरु बढार्ने बतास
घर-घरका दैलोहरु सुस्तरी उघार्छु
मानिसहरुको निधारमा प्रेमको हस्ताक्षर गर्छु
चाहन्छु -
उनिहरु बतास जस्तै स्वच्छ होउन्
ऋतुहरु नफर्किदै
मुस्कुराउने म बहुरंगी फूल
मेरो रंग एकताको प्रतिक
वनजङ्गल , भिरपाखा
गरिब, धनी, हरेक जातजाती
सबैको फूलबारीमा उस्तै फुल्छु
चाहन्छु -
मानव हृदयहरू फूल जस्तै कोमल बनुन्
रुन त म पनि रुन्छु
तर आँसु देखाउँदिन
आँखामा आँसुको पर्दा लाग्यो भने
गन्तव्य पुगिदैन
दुख्न त म पनि दुख्छु
तर ब्यथा बताउँदिन
ब्यथाभित्र अल्झिएँ भने
कथा सकिँदैन
ओहो!
मैले मनमनै गरेकी थिएँ यी अठोटहरु
नानीहरु उठिसकेछन्
नानीहरू हो !
हेर त, बाहिर घाम झलमलाई सकेछ ।