हो साथी, आउ अब
छल्ने, काट्ने, रूने, ढाँट्ने
साहेब ‘अभिनेता’ बनौं
देश र जनता हारे पनि
अटुट जित्ने विजेता बनौं
आउ साथी ! अब नेता बनौं !
मैले पढेर के लछारें?
तिमीले लडेर के लछार्यौ?
कर्म गर्ने जिजीविषामा आफैंलाई कति पछार्यौ!
भोको पेटले राष्ट्रिय गान गाउँदै
बन्धकी जीवन र लिलाम सर्टिफिकेट
पुर्पुरोमा कति बजार्यौ !
अधमरो जिउ कति लतार्यौ !!
बुझ क्या ! थाप्लोमा नेताजीको कृपा-रस नभा’को
पैसाले इमान किन्न नगा’को; इमान बेच्ने साहस नभा’को
सिन्डिकेटको सिस्नो आफ्नो वश नआ’को
कुर्सीमा मामा या ज्वाईं नभा’को
म कुम्हालेको गधा ! तिमी कान्लामुनिको भ्यागुतो !
कति भोग्नु यो ‘हुँहुँ’ र ‘ट्वार्-ट्वार्’ को लुतो !
आऊ अब ठसठसी भाषण कनौं
कोहीको बुई चढौं, कोहीलाई खाल्डो खनौं
अरु कसैलाई नगनौं
आफैं मसिहा, आँफैलाई देउता भनौं
सिन्को नभाँची प्रणेता बनौं
आउ साथी, अब नेता बनौं !
क्यामेरालाई तड्पेका पुलभन्दा कड्केका कुर्सीले नचाउँछ
नेताको भुँडी गज्जब हुन्छ, जे पनि पचाउँछ
बुझ साथी ! समाचारले नेता रुचाउँछ !
देशमा सयौँ मरेको दिन पनि
हेडलाइनले नेताजीको कब्जियत सुनाउँछ
बानी नपरे अलिक गनाउँछ
बिज्ञको के भाउ ?
समाचारले ‘नेताजी’ सित ‘भ्यालेन्टाइन डे’ मनाउँछ
‘आज उहाँ कुर्लेको बेला ‘चेतावनी र जोड दिनुभयो
हिजो उहाँ उर्लेको बेला दुई चार फोडदिनु भयो !
‘नेपाल-बन्द’ खन्याईदिने नेताज्यू
‘फोटा’ र ‘मोटा’ ‘कोटा’ बनाईदिने नेताज्यू
झोलेका नेताज्यू, वस्त्र खोलेका नेताज्यू !”
आउ साथी ! मुखमा आएजति भन्नपर्छ
अब हामी सबै नेता बन्नुपर्छ
नेताको गीत गाउनैपर्छ
आधा शताब्दी देशलाई ज्युँकात्यूँ
भत्काएर राख्न कम्ती बल पर्छ ?
भागबन्डा, गाडी झन्डा र हातमा डण्डा भएपछि
पोल्टामा कम्ती फल झर्छ ?
शिक्षितहरु ताण्डव टुलुटुलु हेर्नेछन्
यसैगरी जुनी फेर्नेछन्
पेट पाल्न नेताजीकै लंगौटी बेर्नेछन्
अब एक पेज भाषण कण्ठस्थ झारौं
झोले र आसेपासे दायाँबायाँ नारौं
जोरी खोज्ने दुईचारलाई ठहरै पारौं
सिपले के लछार्दो रैछ र
थाहै थिएन देश बनाउन
दुईचार सोझाको आश र फुर्ति
र देश बनाउने पिताको मुर्ति ढाल्न पर्दो रै’छ
भन्सारको सुन र ढुकुटीमा हात हाल्नपर्दोरै’छ
देश बनाउन त भाषणबाट पो थाल्नपर्दो रै’छ
बाटो र बिमान निलौं, माटो र इमान बेचौं
आमाको मासु बेचौं, गरिबको आँशु बेचौं
लुरे भारेभुरे बेचौं, नदी र चुरे बेचौं
सब बेचेर पैसा विशेष गनौं
नाङ्गै कुर्लिँदा चाँहि ‘जय देश’ भनौं
आउ साथी जेथा जोडौं,
सदाबहार विजेता बनौं
उता भनौं यता भनौं
पढेर के हुन्छ ? आऊ अब नेता बनौं !