समयले प्रकोप ल्याउँछ भने
उनी तयार छिन्
हर समय तयार छिन्
पिपिई लगाएर गुम्सँदै
कोरोनाका बिरामीलाई
औषधि खुवाउन तयार छिन्।
१२ घण्टा ड्युटी सकेपछि अर्को १२ घण्टा
१२ हजार तलबमा
१२ प्रतिशत कोरोना भत्ता काटिसकेपछिको केही हजार
केही महिना ढिलो बुझेर
ड्युटी गर्न तयार छिन्।
तर बिन्ती
उनलाई घरमा आमा कस्तो हुनुहुन्छ भनेर नसोध्नू
किनभने उनलाई थाहा छैन
हिजो साँझ
उनकी आमा
हावामै पर्याप्त भएको
हावा लिन नसकेर
छोरीको बाटो हेर्दाहेर्दै बिदा भइन्।
उनलाई थाहा छैन
उनले ल्याउन नसकेको अक्सिजनको सिलिण्डर कुर्दाकुर्दै
उनकी आमा
अन्तिम पटक उनको मुहार हेर्न नपाएरै बिदा भइन्।
उनलाई थाहा छैन अब घर फर्केपछि
कोही सोध्ने छैन
‘छोरी, तैले २४ घण्टा ड्युटीमा के खाइस्?‘
युगले नायक मागेको बेला
उनी युग नायिका
उनलाई थाहा छैन
उनको काखे बालक
मामु खै भन्दै
ज्वरोले रन्थनिँदै रुँदै
रात कटाउने गरेको छ
अब त डर पनि छैन
अस्पतालको कोरोना घर आउँछ
घरमै रैथाने भएको जाबो कोरोनाको के डर?