तिमीलाई नि डाँडा पुग्नु पर्छ है!
आफूलाई देखाउन
बहुरंगी जीवनको
सङ्गालो हुँ भनेर
सप्तरङ्गी भएर
इन्द्रेणी बनेर।
तिमीलाई के थाहा!
ती टाकुराका रुखभन्दा
समथरका घरमा बस्ने
रुख जस्तै मान्छेहरु
खुसी छन् आज
तिमीलाई देखेर
इन्द्रेणी।
महिनौंको धुम्म बादल
मडारिएको जीवन
आँसु झैँ वर्षा
जब विलीन हुँदै गए
एकसाथ खुसी आए
आकाश र धर्तीमा
जब तिमी आयौं
इन्द्रेणी।
म सानो छँदा
जब तिमी आउथ्यौ
एक खोलाको पानी
अर्को खोलामा लान्थेऊ
याद छ इन्द्रेणी!
यदि बिर्सिएका छैनौ भने
आऊ फेरि
मेरो खाताका केही थान
खुसीहरु
उनैलाई लग्देऊ
प्रिय इन्द्रेणी।