सेतो पाना कालो मसी,
कालो कोट कालो कलमले,
तिम्रो मृत्यु पत्रमा 
हस्ताक्षर गरिदिन्छु।
न्याय हरायो,
मूर्ति दृष्टिविहीन छ,
तोडमोड लिखतमा,
हस्ताक्षर गरिदिन्छु।
देशद्रोही आममाफीको लिफामा
जेसुकै लेखोस् सरकारले
आजाद भनेर 
हस्ताक्षर गरिदिन्छु।
न्याय नदिनु अन्याय हो 
जे लेखुन् वकपत्रमा 
आँखै चिम्लिएर
हस्ताक्षर ठोकिदिन्छु।
विवेकहीन डाक्टर
घातैघातमा चेपिएको मनुष्यलाई 
पागल घोषणा गरेर
कलम घुमाइदिन्छु।
रक्तरंजित जिजीविषा
ध्वस्त सहर उठाउन
एउटै हस्ताक्षरबाट 
युद्धबिराम गरिदिन्छु।
रगतमा उर्लिएको 
प्रेमको भेललाई
पन्जापत्रले गन्तव्यको
गोरेटो कोरिदिन्छु।
वर्षौ वर्षको प्रेमलाई
एकैवचनमा तलाक तलाक तलाक
भन्दै छोडपत्रमा 
हस्ताक्षर गरिदिन्छु।