दमिनी आमाको कोखबाट शुक्रबार जन्मिएको
म सानो जातको भएछु,
कजिनीको कोखबाट शुक्रबार नै जन्मिएको
ऊ ठूलो जातको भएछ।
सियोसँग दिन रात खेलेर
लुगा सिलाएर
उसको शरीर ढाक्दिने म सानो जातको भएछु,
मैले सिलाइदिएको लुगा लगाएर शानका साथ हिँड्ने
ऊ ठूलो जातको भएछ।
ढुङ्गा माटोसँग खेलेर,
पसिना चुहाएर
मूर्ति बनाइदिने म सानो जातको भएछु,
मैले बनाएको मूर्तिलाई भगवान मानेर दूध चढाउने
ऊ ठूलो जातको भएछ।
उसको घरमा भैंसी मरेर दुर्गन्धित हुँदा,
सिनो उठाएर फाल्दिने
म सानो जातको भएछु,
जाबो सिनो फाल्न हिम्मत गर्न नसकेर
गनाए नि गनाओस् भनेर बस्ने
ऊ ठूलो जातको भएछ।
आफैंले बनाएको धाराबाट
पानी पिउन नपाएर सास त्याग गर्ने
म सानो जातको भएछु,
मैले बनाएको धाराबाट
आएको
पानी पिएर सास जोगाउने
ऊ ठूलो जातको भएछ।
कुनै दिन रगत अभाव भएर अस्पतालमा छतपटाउँदै गर्दा
उसलाई रक्तदान गरेर बचाउने
म सानो जातको भएछु,
सधैँ हातपात गरेर
मलाई रगताम्मे बनाइदिने
ऊ ठूलो जातको भएछ।
कस्तो विडम्बना हो यो,
आफ्नै श्रम र परिश्रमले कमाएर खाने
म
सानो जातको भएछु,
अरुलाइ गिराएर र शोषण गरेर खाने
ऊ
ठूलो जातको भएछ।
नौ महिना आमाको गर्भमा बसेर
धर्तीमा झर्ने बित्तिकै
त्यो नाबालकलाई
त सानो जाती र ऊ ठूलो जाती
भनेर प्रशिक्षित गर्ने कस्तो खेल हो?
कतै देश नै डुभाउने भेल त होइन यो?
बन्द गरौं
त ठुले र ऊ साने भन्न
जागौँ
जातीय भेदभाव अन्त्य गर्न
थालौँ
सबैको श्रमको सम्मान गर्न।