प्लस टु पढदै गर्दाको किशोरवयको मध्यान्तरको कुरा हो। नाम मुना भएकीले उनलाई जीवनमा सधैँ मदनकै पर्खाइ रह्यो। मदनसिवाय अन्त कतै उनको मन गएन।
स्कुल पढ्दा मदन भन्ने कोही केटो नभएकोले उनको प्रेम पनि जुरेन। उनी मनमनै भन्थिन्, आफ्नो जीवनमा मदनसिवाय अरु कसैको लागि स्थान छैन।
क्लासमा सरले देवकोटाद्वारा रचित ‘मुनामदन’को श्लोक सुनाउँदा क्लासको पछिल्लो बेन्चमा बसिरहेको मदनलाई पुलुक्क हेरी मनमनै भन्थिन्- 'आऊ मदन, हामी पनि एउटा आधुनिक ‘मुनामदन’ रचौँ।'
हँसिली, पोटिली मुनाको लागि कक्षामा धेरैको ‘आइ लभ यू’ आयो। धेरैले उनको प्रेम प्राप्तिका लागि मांशाहारी प्रेमपत्र पनि पठाएर दिलको रंग भनी व्याख्या गरे। जे गर्दा पनि कक्षामा सबैले हार खाइरहेका थिए।
उनलाई पर्खाइ थियो त मदनको किनकि उनलाई एउटा फेरि एउटा अर्को मुनामदन रच्नु छ र त्यसरी नै मदनको लागि जीवन उत्सर्ग गरेर धर्तीमा सधैँको लागि अमर हुनु छ।
उनले सोचेजस्तो उनको जीवनमा मदनको इन्ट्री भयो ‘आइ लभ यू’ सहित। क्या मजाको थियो त्यो दिन। बाहिर झमझम पानी परिरहेको थियो। कक्षामा सर आउनु भएको थिएन। मदनले त्यही बेलामा उनलाई सुटुक्क आएर प्रेमपत्र दियो र काँपेका अधर कम्पनबाट ‘आइ लभ यू’ पोखेर गयो।
उनी हाँसिन् मरिमरी र मनमनै प्रेमिल हत्केलामा पत्रलाई ओछयाएर बोलिन्, आफ्नी मुनाको लागि मदनको यो कायरता? तिमीले आइ लभ यू भने पनि नभने पनि म तिम्रै थिएँ र छु। आफै आएर तिम्रो अंगालोमा समेटिनु भएन भावनाले दिल जितिहाल्यौ, अब अंगालोमै भरजुनिको लागि समेट्दा हुन्छ।
त्यसपछि सुरुआत भयो मोडर्न मुनामदन। एउटा नयाँ इतिहासको प्रारम्भ भयो। उनीहरु कैँयन ठाउँमा प्रेमविहार गर्न जान थाले। कति कति रमणीय ठाउँमा बसेर प्रेमालाप गर्न थाले।
त्यही प्रेमविहार गर्ने क्रममा प्रेमको चौतारीमा उक्लेर वाचा खाए- अब चाँडै एक हुने। घरपरिवारमा विवाहको कुरा चल्यो। मुनामदनको जोडीले शारीरिकरुपमा पनि एकाकार हुने स्वीकृति नै पायो। अनि मदनको एक धर्को सिन्दुर लगाइ, मुनाले मदनको चरण स्पर्श गरी जीवनको अर्को अध्याय सुरु गरे।
विवाहपछि केही जिम्मेवारी थपिए। एकदिन मदनले मुनालाई भन्यो- जिम्मेवारी धेरै थपिएको छ। म अब दुई, चार वर्षको लागि साउदी जान्छु। त्यता राम्रै कमाइ हुन्छ रे।
मुनाले पहिला नजान बिन्ती गरिन्। तर उनको केही लागेन। मदन साउदी जाने भयो। परदेशीने दिन मदनको खुट्टा परेर मुना खुब रोइन्।
मदन गयो साउदी। सुरु सुरुमा त निकै कल गर्थ्यो मदनले। पछि विस्तारै प्रेमालाप कम हुन थाल्यो। यता मुनालाई पनि फेसबुकमा मदनले भन्दा अरु केटासाथीहरुले नै ‘हाइ’ भन्न थाल्यो। उनको निरस मनले धेरै अनजान केटाहरुको ‘हाइ’सँग ‘हेलो साटिन्।
एक दर्जन केटाहरुसित ‘हाइ हेलो’ कारोबार गर्ने क्रममा, उनले जीवनको निरसतालाई अझ मेटेन, त्यसमध्येमा एक जना आत्मीय केटा साथी बनाइन्, सुदन नाम गरेको। सुदनसँग उनको च्याट बाक्लिन थाल्यो। च्याटको घनत्वले हो कि एकदिन सुदनले उनलाई रातको समयमा प्रेम प्रस्ताव राख्ने हिम्मत गर्यो।
सुदनले लेख्यो- ‘आइ लभ यू, मुना!’
तिमी निकै सेक्सी छौ भनेर सुदनले लेख्दा निर्लज्ज धन्यवादसम्म भन्न भ्याएकी मुनालाई यो प्रस्तावले काउकुती लगायो। उनको मनमा एकतमासको खुसी पनि तरंगित भयो तर एकक्षणमा उनलाई आफ्नो सिन्दुरको सम्झना आयो। पोतेले घोच्यो। चुराले नैतिकता पढायो।
रातको सन्नाटामा के, के सोचेर सुदनको आकस्मिक प्रस्तावलाई इंगित गर्दै लेखिन्- ‘म विवाहित नारी हुँ। मेरो श्रीमान् अहिले विदेशमा हुनुहुन्छ।’
सुदनले लेख्यो- ‘अहिलेको मोडर्न समयमा यस्ता कुराले केही फरक पर्दैन। मेरी श्रीमती पनि कुबेतमा छे। ऊ पनि त कोही केटासँग त्यहाँ मस्ति गर्दै होली। यो पनि भन्छु, त्यहाँ तिम्रो श्रीमानको अरु कोही केटी नभएको भए तिमीलाई यसरी चटक्कै भुल्ने थिएन।’
उनलाई सुदनको कुरा सत्य नै हो जस्तो लाग्यो। महिनामा एक कल गर्न पनि मदनले आजभोलि त्यागिसकेको थियो। कुरा गरे पनि झर्को मान्थ्यो। यसरी मदनको कल टाढा हुँदै चार महिनामा एक पटक कल आउन थालेको थियो।
यता सुदनले दिनदिनै मायाप्रेमको कुरा पोखिरहन्थ्यो। सुदनले फूलको कुरा गर्थ्यो, फूलको जवानीको मोल बताउँथ्यो। सुदनको कुराले उनले आफ्नो छाती छाम्थिन्। छातीभित्रबाट उनलाई आफ्नै बैँसले सरापेको, धिकारेको महशुस हुन्थ्यो।
यही विषयमा एकदिन मुनाको मदनसित ठूलै झगडा नै भयो। मदनले चार महिनापछि बल्लतल्ल कल गरेको थियो र केही वर्ष अझ भिसा थप्ने कुरा गरेको थियो।
भिसा थप्ने कुरा गरेको सुन्दा मुनाले प्रत्युतरमा 'तिमी अब छिटै नेपाल आऊ' भनिन्। उनको अनुरोधलाई अस्वीकार गर्दै मदनले बोल्यो- ‘म अझै दुई वर्ष आउन सक्दिनँ।
‘मेरो चिन्ता छैन तिमीलाई? मेरो पनि रहर छ, सन्तानको। आमा हुने।’
‘अरु दुई, चार वर्ष कुर्दैमा तिमी बाझी हुने हो र? अहिले नै तिमीलाई आमा हुने रहर छ भने त्यता तिमीलाई मन पर्ने कोहीसित घरजम गर्दा हुन्छ।’
‘मैले यता घरजम गरेर तिमी क्या गर्छौ त?’
‘मेरो नि यता छ,’ मदनले झर्केर बोल्यो।
यस्तो काँडा जस्तो अप्रिय कुरा सुनेपछि अब कहिले कुरा नगर्ने भन्दै मुनाले फोन राखिन्। फोन राख्दा रातको बाह्र बजेको थियो। उनको मन खुब भक्कानियो। चार महिनामा श्रीमतीको लागि भनेर भौतिक शरीर बिनाको रातको दश मिनेट लिएर आउँछ, त्यो पनि पीडा दिएर जान्छ।
उनी मदनको बारेमा के-के सोच्दै, आँखाभरि आँसु पारेर, झोक्राएर बसिरहेकी थिइन्, त्यति नै बेला उनको मेसेन्जरमा एउटा टिङ्गरिङ्ग आवाज आयो। कस्को मेसेज हो भनेर यसो हेरेकी त लेखिएको रहेछ-
मुना, आइ लभ यू। अझै समय छ।
- तिम्रो सुदन।
मेसेज देखेर सुरुमा उनी किंकर्तव्यविमूढ भइन्। त्यति नै बेला रिसाएर बोलेको श्रीमानको कुराले कानमा आगो लगायो- मन पर्ने कोही छ भने उतै घरजम गर्दा हुन्छ, मेरो नि यता छ!
उनको कानमा श्रीमानको बोलीहरु सल्किँदै गयो। डढेलोको उत्पात रुप लियो। यस्तो कुरालाई सम्झिँदै गर्दा, पातबाट तप्किरहेको शीतको थोपा जस्तो रातको एकान्त चुम्दै खसिरहेका आफ्नो आँसुलाई बेअर्थ देखिन्।
अन्ततः उनले आफ्ना आँखाको आँसु पुछदै, बदलामा उनले सुदनको मेसेजमा प्रेमिल इमोजी पठायो।
उताबाट चुम्बन आयो।
यता उनले चुम्बन थप्यो।
यसरी रातको सन्नाटामा चुम्बन नै चुम्बनको इमोजीहरुले मुनाको मेसेन्जर तन्कियो, लम्बियो। मेसेन्जरभरि रातै रातो प्रेमका गुँरास मात्र फुल्न थाले। मुनाले आफ्नो प्रेम स्वीकार गरेकोमा खुसी हुँदै सुदनले लख्यो- ‘मुनामदनलाई च्यात्यौ कि क्या हो? अब के कथा लेख्ने विचार छ त?’
मुनाले पनि मनोरसमा लेखिन्- ‘मुनासुदन।’
‘अनि तिम्रो मदन?’
‘ल्हासामै मरे।’
दुवै इमोजीले गलल हाँसे।