सुनौं है! कथा हाम्रो यो।
कर्णालीको व्यथा यो।
बाँच्न त हामी बाँचिरहेछौं,
पूर्खाको विडो थामी रहेछौं,
नियति सम्झी,जीवन तारी रहेछौं।
तल्लो तलामा गाईवस्तुको,
माथिल्लो तलामा छ हाम्रो वास।
दुई खुट्किलो माथि यो जीवन चलिरहेछ।
वनजङ्गल गरि, तिनीहरूलाई दिन्छौ,
तिनले दिएको गौरस,अमृत झैं पिउँछौं।
हामीले ल्याएको तिनीहरू खान्छन्,
तिनले दिएको हामीहरु खान्छौं।
जीवन जिउनुमा फगत
दुई खुट्किलाको फरक मात्र रहेछ।
तल तिनी बाँची रहेछन,
माथि हामी पनि बाँची रहेछौं।
राज्यले दिए सबै खान्छौ नुन,भात।
नत्र त्यही खोलेसिस्नो छ सधैं साथ।
के हामी सधैं यस्तै नै थियौँ?
के खस साम्राज्यका कथा दन्तेकथा मात्र हुन्?
वरपरका सबै उठी सके,लम्की सके।
हामी कहिले उठ्ने होला?
कहिलेसम्म गरिवीलाई नियति सम्झी कोस्ने हौ?
हे कर्णाली!के तिमी मात्र साक्षी भइ बगिरहन्छौ।
हाम्रो दुःखेसो कहिले राज्यसँग पुर्याउँछौं?
घरमै बसौं! खानै पुग्दैन,
पारि गई बसौँ ! यो मन मान्दैन।
कति धाउने शिमला र नैनीताल,
मेटुराजा भनी बोकाउछन् संसार।
यो मेटु साँच्चै मा राजा कहिले बन्ने हो?
अरुको सामान बोक्दा बोक्दै,
यो जुनि त्यतिकै जाने भो!
घरबाट पारि कमाउन जाऊ भन्दा छन्,
रित्तै आए,किन आईस भन्छ्न्।
यता खाने बस्ने व्यवस्था छैन,
उता अड्किने सुविस्ता छैन,
खै कुन देशको मानो खाने हो?
यता उता गर्दै यो जुनि जाने भो।
हाम्रा सन्तान नपढी कहिले उभो,लाग्ने हुन्?
हाम्रा जहान,ओखती नपाई, कहिलेसम्म मर्ने हुन्?
हामी कहिले माथि लम्कने होलाऊँ?
दुई खुट्किला परको
संसार कहिले देख्ने होलाऊँ?
हुने खाने हिँडि सके!
हाम्रो गरिबी देखाई थुप्रै बनिसके।
बल्ल अब तीन तहको सरकार छ,
एकले नसुने अर्कोले पक्कै सुन्नेछ।