'विनाशकाले विपरीत बुद्धि' भनेझैँ
जब सन्तानहरू मूर्ख हुन्छन्
आफै जन्मेको हुर्केको
खेलेको बढेको
आफ्नै नेपाल आमाको न्यानो काख
खोस्रिरहन्छन्, उजाडिरहन्छन्
पैसा आउँछ भनेपछि
हाम्रा नेताहरू
जे गर्न पनि तयार
ढुंगा, बालुवार र गिट्टी
निकास गर्न पनि तयार
आफू र आफ्नो राष्ट्रलाई धरापमा राखेर
छिमेकी रिझाउन पनि तयार
यो कस्तो राष्ट्रघाती
यो कस्तो आत्मघाती
निर्णय गर्दैछौ सरकार!
त्यत्रा 'हरियो वन नेपालको धन'
फाँडिएर सकिएर पनि चेत नखुलेका
प्रकृति विनाशले वर्षेनी आउने
बाढी पहिरोले गरेको
धनजनको क्षतिले पनि
अलिकति पनि होस नखुलेका
थरिथरिका सन्तानको
अबुझ ताल देखेर
नेपाल आमाको छाती चर चर चिरिएको छ
नेपाल आमाको आँखा रसाएको छ
अब सारा हरियो परियो मासेर
नाङ्गिएर बाँकी रहेको
ढुंगा, बालुवा र गिट्टी पनि
बढार-कुँडार गरी रित्याउन थालेपछि
देशको इकोसिस्टम नै खलबलिएर
आउनेछ भयानक प्राकृतिक प्रकोप
त्यो खतरनाक परिस्थितिमा
अरू सँगसँगै
तिमीहरु पनि त
सखाप हुन्छौ नेता हो
किनकि तिमीहरु पनि त
यही नेपाल आमाको काखमा छौ
तसर्थ
ढुंगा, बालुवा र गिट्टीको
सदैव संरक्षण गर
निकासी गर्ने निर्णय
तुरून्त फिर्ता गर
किनकि
यो हाम्रो देशको फाउन्डेशन हो
यसैले नेपाल र नेपालीलाई जोगाइराखेको छ।