आज हर्क बहादुर बितेको चौधौँ दिन। आखिर तेह्र दिनसम्म त रहिछ आफन्तले साथ दिन्छु भन्ने। त्यसपछि सबै लाखापाखा।
बुढाको औषधि उपचार एवम् किरिया गर्दा लागेको ऋण, सन्तानको जिम्मेवारी, घरव्यवहार सबै आफ्नै थाप्लामा। अबको जिन्दगी कसरी अगाडि बढाउने खगिसरा कुहिराको कागझैँ भइन्।
हुन त बुढा हुँदा पनि पसलको, घर व्यवहारको सबै काम उनले आफै सम्हाल्थिन्। तर पनि भाको जस्तो नभाको कहाँ हुन्छ र?
'गाउँ छोडेर सहर पसेदेखि मलाई के भो? के भो? दुई दिन सञ्चो, तीन दिन विसञ्चो चाहेर पनि पसलमा समय दिन सक्दिनँ। हिँड बुढी, आफ्नै गाउँ फर्किम्। मलाई त यो सहर पटक्कै फापेन। मैले भात खाने खेत बेचे पनि कन्दमूल र फलफूल खाने वन त आफ्नै हो।
दूध दिने भैँसी बेचेपनि पानी खाने पधेँरो त आफ्नै हो नि। ओत लाग्ने छानो बेचे पनि सास फेर्ने हावा त आफ्नै हो। मैले जन्मभूमीको माटो बेचे पनि माटोले मलाई बेचेको छैन। '
हर्कबहादुरले हिजो अस्ति जस्तै गाउँ फर्कने त्यही कुरा आज पनि दोहोराए।
'हजुरले जति कर गरेँ पनि म त गाउँ फर्कँदै फर्कन्नँ। नआउनु सहर सिरीखुरी बेचेर आइहाल्यौँ। अब लुरुलुरु गाउँ फर्कँदा गरिखान नसकेर फर्केका भनेर गाउँलेले झन् हेप्छन्। म त बिरामी भएकी छैन नि। दिनरात खट्न सक्ने तागत छ।
दिन-दिन छोराछोरी पनि सघाउने हुन्छन्। हजुरलाई पनि सञ्चो हुन्छ अनि त हाम्रा दिन आइहाल्छन् नि। सानातिना दुःखमा पनि आत्तिएर हुन्छ!'
'त्यही त बुढी, नाम मेरो बहादुर भएपनि मान्छे भने तिमी बहादुर। तिम्रो नामको पछाडि बहादुर राख्दिम् है? खगिसरा बहादुर!'
दुवै जना छोराछोरीको निन्द्रा बिउँझिने गरी लामै हासेँ।
पाँच वर्ष अगाडि गाउँको सबै सम्पत्ति बेचेर हर्कबहादुरका बुढाबुढी दुई छोराछोरी काखी च्यापेर सहर पसेका थिए। गाउँको सारा जाएजेथा बेचेर सहरमा एकतले सानो अगाडि एउटा सटर भएको घर किने।
आफ्नो गुजराको लागि सानो चिया पसल त्यही आफ्नै घरको सटरमा सुरु गरे। जेनतेन उनीहरुको घरव्यवहार चलेको थियो तर वचत शून्य। हर्क बहादुरको औषधि उपचार सबै ऋण लिएर। दुई वर्ष लगातर उपाचार गर्दा पनि उनी निको हुनुको साटो झन् झन् गल्दै गए। आखिरमा हर्क बहादुरलाई स्वर्ग जानबाट कसैले रोक्न सकेन।
कहिले दुःख कहिले सुख जिन्दगी संघर्ष नै हो, हार मानेर कहाँ हुन्छ र! मैले हार मानेँ भने छोराछोरीको भविष्य के होला? छोराछोरीको भविष्यको लागि पनि भित्रैदेखि आफूलाई बलियो बनाइन् खगिसराले। पन्ध्रौँ दिनबाट उनले पसल खोल्न सुरु गरिन्। सुरु सुरुमा दुई चार घन्टा त्यसपछि बिहानदेखि साँझसम्म।
एकदिन पसलको सामान लिएर घर फर्कैदै गर्दा खगिसराले बाटोमा 'सीपसँग पैसा साट्नुहोस्' लेखेको साइनबोर्ड देखिन्। उनी सरासर अफिस गइन्, सबै कुरा सोधपुछ गरिन्।
'तपाईंसँग हस्तकला सम्बन्धी सीप छ भने हामी तपाईंलाई कच्चा पदार्थ उपलब्ध गराउछौँ र तपाईंलाई कामको उचित ज्याला दिन्छौँ।'
'ऊनको प्रयोग गरेर टोपी, स्विटर, गलबन्दी, मोजा लगायतका अन्य कपडाहरु र पोतेबाट विभिन्न डिजाइनका माला, चुराहरू र सजावटका सामाग्री पनि बनाउन आउँछ।'
खगिसराले उत्तिनै खेर केही रकम धरौटी राखेर कच्चा पदार्थ लिएर घर गइन्। दिनभरि पसल, साँझ-बिहान घरको काम, राति आठ बजेदेखि बाह्र बजेसम्म हस्तकलाको काम।
बिहे अगाडिनै जानेको सीप बिहेपछि भने घर-व्यवहार, छोरोछोरीको स्याहार सुसार गर्नु पर्ने कारणले प्रयोग गर्ने अवसर नै पाइनन्। आफ्नो शोखको लागि सिकेको सीपबाट पनि पैसा कमाउन सकिन्छ भन्ने ज्ञान नै भएन।
जब मानिसलाई काममा रस पस्छ तब त्यो काम नभएर मनोरन्जनमा परिणत भइदिन्छ। दश घण्टा निदाउन पर्ने शरीर पनि पाँच घन्टा निदाउँदा निन्द्रा पुग्ने हुन्छ। बिहान पाँच बजे उठेदेखि राति बाह्र बजेसम्म व्यस्त उनलाई न त कसैको कुरा सुन्ने फुर्सद हुन्थ्यो न त बोल्ने नै।
हस्तकलाका सामानमा उनले बनाउने बुट्टा अत्यन्त मौलिक खालका नितान्त उनका व्यक्तिगत श्रृजना हुन्थे। अरुभन्दा भिन्न र नितान्त मौलिक भएकाले उनका हस्तकलाका सामानहरुको माग बजारमा ह्वात्तै बढ्न थाल्यो।
चिया पसलको कमाइले घरव्यवहार चल्थ्यो। हस्तकलाको सामाग्री बेचेर उनको ऋण विस्तारै कम हुदैँ गयो। सामानको माग बढ्न थालेपछि दिउँसोको समयमा पनि उनी हस्तकलाकै काममा व्यस्त हुन थालिन्। पसलमा काम गर्ने मान्छे राखिन्। साँझ बिहानको घरको काममा छोराछोरीले पनि विस्तारै सघाउन थाले।
उनको सामानको माग विदेशबाट समेत आउन थालेपछि उनले गाउँको अन्य दिदीबहिनिलाई समेत काम सिकाएर रोजगारी दिन थालिन्।
उनले आफूले श्रृजना गरेका सामानहरुले आफ्नो पसल पनि सजाउन थालिन् जसले गर्दा उनको व्यापार पनि बढ्यो। ग्रहाकहरु सँगसँगै कामदारहरू पनि थपिए।
बुढा हुँदाको सानो पसल बुढा स्वर्गीय भएको चार वर्षपछि धेरै नै ठूलो भइसकेको थियो। अर्को घर लिएर पसल सञ्चालन गरेकी थिइन्। उनको सीपले पनि लघु उद्योगको रुप लिइसकको थियो। हर्कबहादुरको उपचार गर्दा र किरिया गर्दा लागेको ऋण तिरिसकेर त्यसबेलाको एक तले घर पनि दुई तलेमा परिणत भैसकेको थियो।
आखिर मेहनत नै भाग्यभन्दा ठूलो हो। मेहनतले हातका रेखालाई परिवर्तन गर्न सक्ने सामर्थ्य राख्दछ भने झैँ उनको दिनानुदिन प्रगति हुँदै गइरहेको थियो। मानिसहरुले उनको प्रगति देखेर जिब्रो टोक्थे।
'बुढा बाँच्ने बेलासम्म छोराछोरी काखमा र पिठ्यूमा बोकेर घरको र पसलको काम गर्थी। खगिसराले पोइ खसेछि विस्तारै कामै गर्न छोडी, न त पसलको न त घरको। पसलमा त थिए थिए, घरमा पनि काम गर्ने मान्छे राखिछ। छोराछोरीले पनि बोर्डिङ स्कुल पढ्छन्।
गाउँभरिका आइमाई खेड्यो, चुरा पोते के-के फिजार्यो। गफ गर्यो। हिस्करियो दिन काट्यो। गाउँबाट झरेर बुढाबुढी मिलेर पाँच वर्ष मेहनत गर्दा पनि गुजारा चलाउनु बाहेक केही प्रगति गरेका थिएनन्। बुढा बितेपछि कसरी यस्तो प्रगति भयो हाम्लाई थाहा छैन र? छाडा आइमाई। मर्दले दश वर्षमा गर्न नसक्ने आइमाईले चार वर्ष नपुग्दै।'
गाउँका पाका आफूलाई जान्ने सुन्ने ठान्ने भलाद्मीले खगिसराको मूंल्याकन गरे।
'हामीले खाडीको चालिस डिग्री तापक्रममा तरतरी पसिना चुहाएर पाँच वर्ष काम गर्दा सहरमा एउटा घडेरी जोड्न गाह्रो छ, यसले कसरी चार वर्ष भित्र यत्रो प्रगति गरी? दालमे कुछ काला हे,' भर्खरै वैदेशिक रोजगारीबाट फर्किएका एकजना युवाले खगिसराप्रति आफ्नो इर्ष्या ओकले।
'यो खगिसरा आफू त गनाई गनाई, गाउँको छोरी-बुहारी पनि बिगार्ने भई!' एकजना महिला आफू पनि एकल महिला भएको बिर्सेर खगिसराको खोइरो खनिन्।'
महिलाको प्रगति देख्न नसक्ने हाम्रो समाज झन् एकल महिलाको प्रगतिलाई सहन नसकेर मानिसहरूले गलत अर्थ लगाउँदै 'हो' मा 'हो' मिलाउँदै चिया चौतारी पँधेराहरुमा कुरा काटिरहे।
पवित्र मनले आफ्नो काममा दत्तचित्त भएकी खगिसराको कानले न त कसैको कुरा सुन्ने फुर्सद पायो न त दिमागले अन्य कुरा सोच्न नै। सतिसाल झैँ अडिग खगिसरालाई कसैले हल्लाउन सकेन। सबै असल मानिसको प्रेरणा बन्दै उनी अगाडि बढिरहिन्।