म
रोग र भोकसँग
औधी युद्ध लडेको सहरको निर्धो
एकाबिहान मृत सहरभित्र
रित्तो पेट
काली गण्डकी गल्छी झैँ हल्लाउँछु
मूल्यविहीन आँसु अविरल
अरुण संसारकै अग्लो स्थानबाट झारेर
आँसुले जमिन सिँचित गराउँछु सरकार!
लालाबाला साँझ-बिहान
एक सितो र टुक्रो
गाँसको लागि रुन्छन् र कराउछन्
जहाँ पशु र पक्षी खाएर टन्न
आफ्नै लयमा रमाउँदा
कोरोना महामारीको भोकको छिनोले
मेरो परिवारको शरीरमा
सिपालु सिकर्मीले बुट्टा कोरेर
अस्थिपञ्जर बनाएको छ।
नाम्लोले छिनेको त्यो कम्मर बाँधेर
श्रम बिक्री गर्न चाहान्छु
किनकि म भोकसँग जुवा खेलिरहेको सहरको निर्धो।
म इमान र पौरखमा पसिना बेचेर
बाँचेको सहरको निर्धो
डार्विनको 'बाँच्नको लागि संघर्ष' सम्झिन्छु
आँसु घट-घट पिउछु।
डार्विन, म अनि डाइनोसर
लकडाउनले श्रम बिक्री नहुँदा
डार्विनको सिद्धान्त बारम्बार चुनौती दिन खोज्छु।
'भोकै बस्नु पर्दैन, भोकले कोही मर्दैन'
प्रधानमन्त्रीको आदर्श गीत सुनेर
भोकले बेहोस आत्माले
आँखा खोल्छन्
कठै!
गीतले हाम्रा पेट कहिल्यै भरेन
हामी भोकले पिल्सिएर
'इब्रु तिम्तिक' जसरी मर्न आटिसक्यौ सरकार।
सडकपेटी हाम्रो बालुवाटारका सुत्ने ओछ्यान्
खुला आकाश हाम्रो शितल निवासको टाउको छोप्ने छानु
ए सरकार, सुन न
हामी भोको पेट मर्नै चाहान्नौँ।