तिम्रो पर्खाइमा रित्तिएका कप,
खाली बोताल, अनि ग्लासहरुको
कुनै लेखाजोखा राख्ने आँट गरिनँ मैले
सँगै सल्किएर एस्ट्रेमा बाँकी रहेको
चुरोटको ठुटालाई कहिले गिन्तिमा ल्याइनँ मैले
तिमीलाई कुर्दा बितेका दिन, महिना, वर्ष अनि समयको
कुनै हिसाबकिताब निकाल्ने आँट गरिनँ मैले,
बरु दिनको उज्यालोमा पनि
पन्छाउँदै भिडहरुमा
कतै तिम्रो मुहार भेटिन्छ कि भनी नजरहरु दौडाइरहेँ मैले,
रातको अँध्यारोमा जुनकीरी झैँ पिलपिल चम्किँदै
भेट्न आउँछौ कि भनी झ्यालैमा कुरिरहे मैले,
कहिले तिम्रो यादमा सुस्केरा हाल्दै गर्दा
संगीत बिनाको गित गाउन पुगेँ मैले,
एकान्तमा बस्दाखेरी हराएको छाया सम्झि
रोमान्चित कथा कोर्न पुगेँ मैले,
सम्झनाको प्रस्फुटनबाट सिर्जित सिर्जनाका टुत्राहरुलाई बटुलेर
नाटक बनाउने चाह चाँही कहिल्यै गरिनँ मैले,
रंगिन सपनाहरूको महलभित्र आफैलाई बन्दी बनाएर
कैदी जीवन बिताउने चेस्टा पनि गरिनँ मैले,
तिम्रो पर्खाइमा रित्तिएका भाँडाकुँडाको कुनै लेखाजोखा राक्ने
एकाउन्टेन्टको काम गरिनँ मैले
तिमीलाई कुर्दा बितेका दिन, महिना, वर्ष अनि समयको
कुनै हिसाबकिताब निकाल्ने सहस नै गरिनँ मैले
त्यही भएर होला तिम्रो प्यारो बाकसमा
अमूल्य भनौँ या बहुमुल्य बस्तु झैँ
सुन्दर कपडाको टुक्रा भित्र लुकेर अनि लुकाएर राख्ने
वर्षौं पुरानो पात्रो अनि क्यालेन्डर बन्ने रहर गरिनँ मैले।