एउटा आयो छेउबाटै गयो। स्पर्श नगरी। हुन त यो उनीहरूको जुलुस लगाउने बेला हो। तराईको गर्मी अनि एकतले सिमेन्टको घर।
म आजै मात्र काठमाडौँबाट आएको। काठमाडौँमा अलि शितल थियो। पहिले गहुँको नल र प्लास्टिक कागजले छाएको माटोको घर थियो। हालसालै मात्र यो सिमेन्टको घर बनाएको हो। म बिरलै आउने ठाउँ हो यो।
नयाँ घर बनाएपछि यो मेरो पहिलो बसाइ हो। यता बेलुकाको खाना समयमा नै खाने चलन छ। प्रायः घाम डुब्नुभन्दा पहिले नै खाएर सक्काउने। हामी आज पनि सबेरै खाना खाइवरी बसेका छौँ।
पहिले पहिले बाहिर तिर खटिया राख्ने चलन थियो। खाइसकेपछि खटियामा बस्ने, गफगाफ गर्ने। दिनभरिको धूप बेलुका अलि मत्थर भएको हुन्छ। घाम अस्ताएपछि घर बाहिर बस्न अलि सहज हुन्छ।
तर अहिले विकाससँगै अलि परिवर्तन आएको छ। यो सिमेन्टको घर बनेपछि सिलिङमा पंखा झुन्डाएको छ। तातो हावा बेस्सरी फाल्छ।
म पाहुनाको रुपमा गएकोले एउटा कोठा उपलब्ध भयो, पंखा सहितको। गर्मी बेजोड थियो। सबै लुगा खोलेर गन्जी र जाँघे मात्र लगाएर बसेको थिएँ म। जिउ खलखली पसिनाले भिजेको थियो।
तन्ना त्यति सफा थिएन। मलाई अलि अलि सकसक अनुभव भैरहेको थियो। कोठाको कुनाकुनामा माकुराको जालो अनि सिलिङ तिर सानो सानो माउसुली पनि यताउति गर्दै थिए। कोठाको बीचमा एउटा झ्याल छ। झ्यालको स्ल्याबमा सेतो सेतो धागो जस्तै मसिनो लस्कर छ। घिउकमिला फुल बोकेर हिँड्दै रहेछन्।
एउटा दुइटा कमिला त ओछ्यानमा पनि देखिएका थिए। म झुल भित्र खाटमा पल्टेको थिएँ। यो औलो नियन्त्रण कार्यक्रम अन्तर्गत वितरण गरेको कीटनाशक झुल रहेछ।
झुलको हल्का गन्धले मलाई कता-कता अस्पतालको बेडको आभाष दिलाइरहेको छ। निन्द्रा पटक्कै आएको छैन। सात बजे खान खाएको हो, एघार बजिसकेछ। उठे, पानी पिएँ। निदाउने प्रयास जारी छ।
फेरि एउटा छेउमै आएर करायो। अघि स्पर्श नगरी जानेभन्दा यो अलि बलवान छ जस्तो छ। म केवल आवाजबाट मात्र अन्दाज गर्दैछु। आफू झुलभित्र भएकाले केही सान्त्वना मिलिरहेको छ।
खाट मध्यम चौडाइको छ। म सकभर मेरो हात, खुट्टा, टाउको वा अन्य अंग यिनीहरुको पहुँचमा नपुगोस् भनेर ध्यान केन्द्रित गर्दै छु। एक टकको पंखाको खिटखिट अनि बिछ्यौनाबाट पनि राप आउने गर्मीका बीच यी मच्छडहरु आफ्नो संख्या बढाउँदै छन्।
झ्याल बन्द गरी बस्न सकिँदैन। छिप्पिदो रातसँगै यिनीहरुको स्वरुप बढ्दै छ। फेरि अर्को एउटा कानमा आएर भुनभुन गरी करायो। मैले रुमाल हम्केर धपाउने प्रयास गरे। एकछिन भाग्यो। सायद आफ्नो डफ्फा बोलाउँदै होला।
मैले कोल्टो फेरेँ। आँखा बन्द गर्दै निदाउन कोसिस गर्दैछु। फेरि आयो अर्को हुल। 'यहीँ भित्र छ' भने जस्तो आवाज सुन्छु म। अर्को घ्वाइय गर्दै दौडिँदै आयो। मेरो झुल बाहिर यिनीहरु टाँसिएर भुनभुन गर्दै छन्।
यिनीहरु किन कानको नजिक मात्र आएर कराउने होला? म मनमनै प्रश्न गर्छु। यो हिजो मात्र उत्पत्ति भएको हुनुपर्छ। यसको जिन्दगी केही क्षणमा समाप्त हुनपनि सक्ला। नभए पनि भोलि त यसको जीवनको अस्तित्व समाप्त हुनेनै छ।
तैपनि मेरो रगत चुस्न यसलाई किन हतार होला? जिन्दगीको उदेश्य नै अर्काको रगत चुस्ने भएपछि बाँच्नुको के अर्थ होला र? अनि साँच्ची यसले आफ्नो बाबु आमा चिनेको छ होला कि? के लामखुट्टेहरु आफ्नाहरुलाई चिन्दछन होला? अर्को लामखुट्टे मर्दा यिनीहरुको मनमा पिर पर्छ होला? यस्तै सोच्दै रहेछु।
शरीर पसिनाले सिमसार क्षेत्र घोषणा गर्ने अवस्थामा पुर्याएको छ। कोल्टे फेरेँ। पानी खान मन लाग्यो। झुलबाट फुत्त बाहिर निस्केर झुल च्यापे। बिर्को घुमाएँ। प्लास्टिकको जगबाट घटघट पानी खाएँ। कुनै स्वाद आएन पानीको।
हुन् त विज्ञान पढेको मान्छे म, पानीको स्वाद हुँदैन भनेर जानेको थिएँ। तर मैले जिब्रोलाई मात्र मन पर्ने स्वाद खोजेको थिएन। प्यासको तृप्ति मेटाउने स्वादको खोजीमा थिएँ। यो पानीमा त्यो विशेषता थिएन।
एक त इनारको पानी, त्यसमाथि प्लाष्टिकको जगभित्र बाफिएको। स्वाद हुने त कुरै भएन। म फेरि फुत्त झुल भित्र छिरेँ। भित्ता तिर कोल्टे परेर निदाउने कोसिस गर्दै छु। बाहिर लामखुट्टेको राँइझ्याँई चलिनै रहेको छ। मोबाइल थिचेँ। घडी हेरेँ साढे बाह्र बजेको रहेछ। छेउमा सिरानीको खोल थिए। त्यसले पसिना पुछेँ। सुत्ने कोसिस गर्दैछु।
झपक्क निदाउने अवस्थामा रहेछु फेरि एउटा आएर कानैमा घन्टी बजायो। निन्द्रा खल्बलियो। उठेँ। मोबाइल बालेर हेरेँ। एउटा मात्र हैन, धेरै नै रहेछन्। यिनीहरुको पारिवारिक सम्बन्ध त थाहा भएन तर कोही अलि भुँडी फुलेका, कोही अलि लामा पखेटा भएका अनि कोही शरीर नभई पखेटा मात्र भएका रहेछन्।
चुस्न पाउनेहरु सायद भुँडी फुलाएर बसेका होलान्। यिनीहरुलाई पनि हेक्का छैन आज या भनौँ अहिले नै अन्तिम सास हुन सक्छ। तर पाए भने यिनीहरुले चुस्न छाड्ने छैनन्। जिउनुको अर्थ नै अर्कालाई डस्नु वा चुस्नु हो उनीहरूको लागि। सायद त्यो रगतको स्वाद नै उनीहरूको मृत्युको कारण हुनसक्छ।
त्यो भुँडी फुलेको वाला धेरै माथि उड्न सकिरहेको थिएन। झुलको पुछारतिर लडीबडी गर्दै थियो। मेरो एउटा हातले त्यसको प्राण समाप्त भयो। अघि पसिना पुछेको सिरानीको छेउले हात सफा गरे। त्यो पखेटा मात्र भएको ख्याउटे वाला अलि माथि माथि उड्दै थियो।
जब मैले मोबाइलको बत्तीले हेर्ने कोसिस गर्थेँ त्यो भागेर अर्को कुनामा पुगिहाल्थ्यो। अरु पनि यताउता गर्दै थिए। कि त यिनीहरुलाई झुल बाहिर निकाल्नु पर्यो नभए यिनको जीवन अस्तित्व समाप्त पार्नु पर्यो, नभए म सुत्न पाउने छैन।
म निरन्तर खोजीकार्यमा लागेँ। त्यो पखेटा मात्र वाला अलि अभागी नै रहेछ। मेरो हातको तालीसँगै त्यसको जीवन समाप्त भयो। कहिलेकाहीं जिन्दगी कुनै स्वाद थाहा नपाई समाप्त हुने रहेछ। अर्को जुन आकारमा अलि ठूलो, पखेटा पनि अलि ठूलो नै देखिन्थ्यो, त्यो सिरानीभन्दा माथि झुल दोब्रिएको ठाँउमा अडिएर बसेको रहेछ।
यो पोथी जस्तो देखिन्छ हेर्दा। नहल्ली यसलाई समाउने कोसिस गरेँ। तर भाग्यो। एकछिन लाग्यो यसलाई समाप्त पार्न। यसले अघिको भन्दा अलि धेरै समय जीवनयापन गरेको हुनुपर्छ तर यिनीहरुको जीवनमा तात्विक भिन्नता केही छैन होला। दुवैको उदेश्य अर्काको रगत चुस्ने र जिउने।
आखिर के नै फरक भयो र धेरै वा थोरै बाँच्नुमा। झुल भित्र भएका अरु लामखुट्टेहरु पनि सफाया भए। रात अलि छिप्पिएको हुनाले अलि शितल महशुस भयो। घडी हेरेँ, दुई बजिसकेको रहेछ। निदाउने कोसिस गरिरहेँ।
बिहानै सात बजे ढोका ढकढक गरेको आवाजले मेरो निन्द्रा खुल्यो। झ्यालबाट बाहिर हेरेको चकमन्न घाम लागिसकेको रहेछ। जेठ महिनाको टन्टलापुर घाम। जिउ तन्काउँदै उठेँ। रंग नलगाएको ग्रिलको बीचबाट झ्याल बाहिर हेरेँ। लटरम्म आँप झुन्डिरहेको रहेछ। छेउमा रहेको भान्छामा चिया खान बोलाउनु भएको थियो बहिरबाट।
लुगा लगाएँ, झोला बोकेँ र भान्छा तिर लागेँ।
माइजूले गिलासमा चिया र रिकापीमा खुर्मा रोटी राखिदिनु भयो। छेउमा भएको चर्पीको बाहिर भएको धारामा गएर मुख धोएर आएँ। 'गर्मी छ है, सुताइ कस्तो भयो' माइजूले सोध्नुभयो।
'ठिकै भयो, सुतेँ म', मैले भनेँ।
चियासँगै माइजूसँग गफगाफ भयो।
'अफिसबाट अर्जेन्ट फोन आयो। म आजै काठमाडौँ फर्किनु पर्ने भयो,' मैले भनेँ।
'ए होर! अनि आज हेरेर जानुहुन्छ?' माइजूले सोध्नुभो।
'हेर्न पनि नभ्याउने भयो माइजू। म अहिले नै काठमाडौँ जानु पर्ने भयो। फेरि आउँला माइजू, अहिले जान्छु’ भनेर म बसपार्क तर्फ लागेँ।
गर्मी र लामखुट्टेसँगको साक्षात्कारले तराईमा मेरो ससुराली बनाउने चाहना पनि भत्काइदियो। जसलाई हेर्न गएको थिएँ, उसलाई नहेरी फर्किएँ।