सरकार!
मलाई अलिकति आराम गर्न देऊ न।
तिम्रा नाङ्गा अपराधमा
अमुक समर्थन गर्दागर्दै
म थाकिसकें,
तिम्ले घाँटी थिचिथिची
मारेका
तिम्रा सन्तानहरु
पोल्दापोल्दा
म गलिसकें
सरकार,
मलाई अलिकति आराम गर्न देऊ न।
पहिले,
हरेक मृत्युका कथा हुन्थे
हरेक लासका कथा हुन्थे
कथाले मृत्यु सहज हुन्थ्यो
जलन कम हुन्थ्यो
अहिले,
मृत्यु उकुसमुकुसमा
लास कथाविहीन
एउटै कथा बोकेका
धेरै लासहरु आउँछन्
उबेला
एउटा लास, धेरै मलामी हुन्थे
लासै पिच्छे फरक फरक मलामी हुन्थे
तर अहिले
धेरै लास थोरै मलामी
फरक फरक लास तिनै मलामी
र
मेलम्चीबाट पानी आएजस्तै,
लासका लस्करहरु
हेर्दाहेर्दा थाकिसकें
सरकार,
मलाई अलिकति आराम गर्न देऊ न।
सुई किन्ने बेला
फुइँ बेचेर बस्यौ
अस्पताल बनाउने बेला
अपराध बुनेर बस्यौ
अनि अहिले मलाई सास्ती
र बाध्यता
अहो,
भेन्टिलेटर नभेट्नेका लासहरु
अक्सिजन अड्किनेका लासहरु
अस्पताल नदेख्नेका लासहरु
लास छुनेका लासहरु
लास नछुनेका लासहरु
लास लास लास
गढीमाईमा काटिएका राँगाका थुप्रा झैं ...
अनि,
बुटमान्छेले लतारेर ल्याउने
ती लासहरु
डढाउँदा डढाउँदा
म थाकिसकें
सरकार!
मलाई अलिकति आराम गर्न देऊ न।
म घाटको धर्म जसोतसो निभाँउदै छु
आगोले आफ्नो धर्म निभाउला
तर
तिम्रो धर्म कस्ले निभाउने सरकार?
तिम्रो अपराध कस्ले भोग्ने सरकार?
अभिभावक स्वयमले
छोराछोरीको घाँटी थिचिथिची
मारेका लास पोल्दा पोल्दा
म थाकिसकें
सरकार,
मलाई अलिकति आराम गर्न देऊ न।