बोलेको कुरा सुनुवाई हुँदैन भने
अहँ! म बोल्दै बोल्दिनँ।
१९०३ को जंगे शासनमा
बोल्नेको घाँटी समातियो
कसैको आफ्नो हैकम चल्यो
कसैको रोदन र चित्कार
बोल्नेलाई मारिन्थ्यो रे!
कस्तो यातनाको जमाना?
तपाई प्रश्न किन गर्नुहुन्छ?
त्यो कालो अन्धकार बादलमा
सूर्यका किरण समेत छेकिए।
फागुन ७, २००७ सम्म
उकुस मुकुस र बिष्फोट भो
होनहार सपूत मारिए।
शुक्रराजलाई देख्ने मन थियो
बैरी र राक्षसी दुस्मनहरुले
टेकु पचलीमा झुण्डाइदिए
चिच्चाएर जोडदार भाषण गर्दा
गंगालालले मृत्युदण्ड पाए।
विचारको क्रान्ति गर्न खोज्दा
मृत्युदण्ड हुन्छ भने
अहँ! म बोल्दै बोल्दिनँ।
रगतको खोला बगाएर
प्राप्त गरेको प्रजातन्त्र
२०१७ सालमा अपहरण पर्दा
जनताको पिर व्यथा
जस्ताको त्यस्तै रह्यो
विकासको फूल फुट्ने बेलामा
राजदरबारमा कर्फ्यू लगाइयो।
सहरमा सैनिक गस्ती
गाँउमा बस्ती रित्तिए
कसलाई थाहा? के भो?
जनकपुर बम काण्ड र सुखानी हत्या काण्ड
जनमत सङ्ग्रह त्यसै भएको होइन
तर जित पञ्चाएतकै भो
पञ्चायती सामन्ती व्यवस्थाको बारेमा
केही शब्द र वाक्य बोल्दा
जनताको जितमा झुट हुन्छ भने
अहँ! म बोल्दै बोल्दिनँ।
२०४६ को आन्दोलनमा
सहरमा आगो बल्यो
कयौँ घाइते भए
बस्ती बस्ती अनि सडकमा
मान्छेहरुको भिड उर्लंदै गयो
बहुदलीय व्यवस्थाको लागि
टिम्बुर बोटे काण्ड भो
पिष्कर हत्याकाण्ड भो।
गणतन्त्र आएन भनेर
दिउँसै काडमाण्डौंको सहरमा
लाल्टिन बाल्ने रहर भो।
तर, बहिरो सरकारले सुनेन
इँटाका टुक्राहरु चोक चोकबाट
प्रहार हुँदा समेत
कानमा तेल हालेर बस्यो।
बिजयी जुलुसमा
जिन्दावाद! र मुर्दावाद!
२०५१ सालमा किन जनयुद्ध भयो
इतिहासले कुनै दिन बताउला
२०५८ मा दरबारकाण्डको लिला
हृदयभरि आँसु आउँछ।
२०६२/६३ को जनआन्दोलनले
राजतन्त्रको जरो फाल्यो
मेचिदेखि कालीसम्म
हिमालदेखि तराईसम्म
आगोका झिल्काहरु बले
किन र केका लागि?
गणतन्त्रको कोपिला रोप्नु थियो
खै त परिवर्तन?
गरिबीले देश मर्दैछ
भष्ट्राचारीले बदनाम गर्दैछ
नोबेल कोरोना भाइरसले
जनता आक्रान्त भएका छन्
देश र प्रदेश लकडाउनमा छ
नेताहरु लोकतन्त्रमा पनि
भेडा भएका छन्।
जनताहरुको मन दुखेको छ
मल्हम लगाउने कोही छैन यहाँ
देश भन्छ अस्मिता बचाऊ
सबैले प्रश्न सोध्छन्
खै नयाँ नेपाल?
खै बुद्धको देश?
खै सगरमाथाको देश?
खै त गणतन्त्रको अनुभूति?
मसँग उत्तर छैन
फगत कविता कोरिरहेछु
अहँ! म बोल्दै बोल्दिनँ।