भगवान बुद्धको
बुद्ध जयन्तीको शुभकामना दिँदा
शान्तिमा उत्रन आग्रह गर नेता हो
किनकि युद्ध अब
कोही नेताको शक्ति हैन
शान्तिमा खलल पुर्याउन
युद्ध त हामी अहिले
डरलाग्दो कोरोना भाइरससँग लडिरहेछौँ
तर बन्दुक भाला बोकेर होइन
लुटेर चुटेर होइन
हात रङ्गाएर होइन
मुखमा मास्क लगाएर
नबोलेरै शान्तिपूर्वक
साबुन पानीले हात धोएर
सफासुग्घर भई बसेर
आत्मामा भगवान बुद्धलाई राखेर
छोडिदेऊ अब नेता हो
स्पष्टिकरणको वाणले घायल पार्न
आफ्नै दल भित्रका योद्धाहरूलाई
छोडिदेऊ अब ‘प्रतिज्ञा गर्दछु’ लाई
‘भैगो त्यो पर्दैन’ भन्न
पदमा होस् या
पदको चाहना गर्ने होस्
सबै नेताहरुले
भगवान बुद्धको पवित्र सन्देशलाई
आ-आफ्नो मुटुमा राखेर
आजै प्रतिज्ञा गर
‘झूटो बोल्दिनँ
भ्रष्टाचार गर्दिनँ
घुस खाँदिनँ
र
सदा देश र देशबासीको सेवा गर्दछु’ भनेर
अनि फेरि आफ्नो सानो स्वार्थको लागि
दल दलको भागवण्डामा कहिल्यै नलागि
देश विकाशमा निरन्तर लागिराख
अनिमात्र हुन्छ
मनमा परम सुख
अनुहारमा सधैँ खुसीयाली।