उमेर अठार वर्ष। घरको काममा अलि अल्छी। बाहिरी गतिविधिमा उनको इच्छा। बाबुआमालाई छोरीको चिन्ता सताइरहने।
'यो छोरी कस्ती हुने हो!' अस्तिमात्र गाउँको बैठकमा उसैको विषयमा कुरा भएको थियो।
छोरी भएर पनि छोराको जस्तो व्यवहार देखाउँछे भनेर। तर उनलाई कुनै मतलब थिएन। उनी आफ्नै धुनमा हुन्थिन्। न समाजको कब्जामा उनी थिइन् न समाजसँग उनलाई कुनै गुनासो थियो। उनी मस्त थिइन्। बिन्दास जीवन बिताउन चाहन्थिन्।
गाउँको अवस्था खासै राम्रो थिएन। साँझ परेपछि मानिसहरू बाहिर निस्कन चाहँदैन थिए। उनी भने घरको सानो बार्दलीबाट अनकन्टार अँध्यारो हेरेर घण्टौ बिताउँथिन्।मानौं केही खोजिरहेकी छन्। आकाशमा शून्यता मात्र देखिन्थियो। ताराहरू पिल्पिलाई रहेका हुन्थिई। लाग्छ उनको सपना त्यही अँध्यारोमा लुकेको छ।
घरी घरी बन्दुक पड्किएको आवाजले उनको ध्यान टुट्ने गर्छ। उनलाई ती आवाजहरूको पनि प्रवाह छैन।
'कस्ती केटी यो?' भित्रबाट आमाले चिच्याउनु हुन्थ्यो। आमाको आवाजसँग तानिँदै भित्र जान्थी।
अहिलेसम्म उनीसँग कुनै उद्धेश्य नै थिएन। सायद त्यही आफ्नो उद्धेश्य खोज्दै थिइन्।
उनको गाउँमा युवाहरू खासै थिएनन्। कि परदेश कि क्रान्तिकारी अभियानमा लागेका थिए। यो लडाइँ झगडामा उनको कुनै चासो थिएन। उनी आफ्नै शरीरको बारेमा पनि सोच्थिन्। छ फुट बढी उनको उचाइ। हात खुट्टा पुरूषको भन्दा कम थिएन।
कपाल पाल्ने कुनै सौख थिएन उनको। कपाल पनि पुरूषको जस्तो छोटो थियो।आमाले उनलाई गाली पनि गर्नुभयाे 'कपाल नकाट' भनेर। खै के हो। उनको मनमा आएपछि उनी आफ्नो मनको सुन्थिन्। उनी आफ्नो जीवन आफ्नो तरिकाले जिउनु पर्छ भन्ने कुरामा विश्वास गर्थिन्। समाजमा चलिआएको नीतिसँग उनको मतभेद थियो।
एकदिन उनको मनमा केही सोच आयो। जीवन यस्तै त चल्दैन। केही त गर्नुपर्छ।
एकदिन घरबाट निस्किएर सोच्दै गाउँको बेसीतिर लागिन्। त्यहाँ भर्खर स्टाफनर्सको पढाइ सुरू हुँदै थियो। त्यही अगाडि उभिएर सोचिन्। डाक्टर पढ्ने हैसियत त थिएन। नर्सको पढाइ त केही न केही व्यवस्था होला भन्ने विश्वास थियो उनमा।
साँझ घर गएपछि आमा बाबालाई आफ्नो मनसाय बताइन्। आमाबाबाले पनि ठिकै लाग्यो। छोरी पढेर देशको बिमारीको सेवा गर्ने भई भनेर।
पढाइमा उनी अब्बल नै थिइन्। मनले आँटेपछि गर्नुपर्छ भन्ने बानी उनको लागि नर्सको पढाइ कुनै कठिन कुरो थिएन।
समय बित्दै गयो। उनी नर्स बनिसकेकी थिई। गाउँमा हिंसा हत्या बढिरहेको थियो। उनी सधैं जस्तो बार्दलीमा बसिरहेकी थिइन्।
पारिपट्टि आज पनि गोली चलिरहेको थियो।
उनको घरमा दुई चार जना मानिस आए। उनलाई जबर्जस्ती समाए।
आमाबाबा सबै चिच्याउँछन्। उनी पनि बलवान नै थिइन्।
'के भो' भन्दै हात झट्कारिन्।
आएका मानिस उनको मुखमा हेर्न थाले। पछि के कुरो भयो। उनी सँगै जान तयार भइन्।
जंगलमा पुग्दा रगताम्य एक जना मानिस छट्पटाइरहेका थिए। उनी डाक्टर थिए।उनीहरूलाई घाइते हुँदा उपचार गर्ने। आज भने आफैं घाइते। उनी गएर उसको मेडिकल सामान निकाली। डाक्टरको बगिरहेको रगत सफा गर्दै पट्टी बाधिन्। डाक्टरले शरीरमा केही राहत आएको अनुभव गरे। उनले अब आफूलाई घर जान अनुमति मागिन्।ती मानिसहरूले उनलाई घर ल्याएर छोडी दिए।
उनको मन अशान्त थियो। डाक्टर आफ्नो घरको नजिकबाट हिँडेको धेरैपल्ट उनले देखेकी थिई। अचेल भने उनको आँखा डाक्टर कतिबेला आउँछन् भनेर हेर्न हतार थिए। डाक्टर पनि त्यो बाटो जाँदा-आउँदा उनीहरूको आँखा जुध्थ्यो। समय बित्दै गयो। उनीहरूबीच कुराकानी हुन थाल्यो।
कुराकानी मायामा कतिबेला परिणत भयो उनीहरूलाई पत्तै भएन।
एक कान दुई कान हुँदै उनीबारे घर परिवारलाई पनि थाहा भइसकेको थियो। परिवारले पनि उनीहरू बिहे चाँडै होस् भन्ने चाहेका थिए। हुन पनि त्यस्तै भयो। उनीहरूको लगनगाँठो बाँधियो। दुबै जना खुसी थिए। डाक्टरको व्यस्तताले राम्रोसँग समय बिताउन पनि पाएका थिएनन् उनीहरूले।
जुनेली रात। मौन झ्याउकिरीहरू। स्याल र फ्याउरो जगलमा कराइरहेका छन्। आज पनि माइतीको घरको उही पुरानो बार्दलीमा उनी बसिन्। आकाशतिर हेर्दै थिइन्। अकस्मात जंगलतिरबाट गोलीका आवाज सुनियो। दुई चार जना मानिस उनी भएको ठाउँमा आए। उनी छिटो,छिटो बार्दलीबाट झरिन्। आफ्नो श्रीमानको रगताम्य शरीर देखेर भाव शून्य भइन्। चारैतिर अन्धकार देखिन्। उनको श्रीमानको शरीर चिसो भइसकेको थियो। गाउँका सबै जम्मा भए। उनको लगनगाँठो एकै महिनामा आधा भयाे। आधा गाँठो डाक्टरसँग गयो। धुवाँ बनेर।
डाक्टरको मृत्युपछि श्रीमान खाई भनेर गाउँभर हल्ला हुन थाल्यो। आफैं एउटा नर्स हुँदा पनि यो कुरो गलत हो भनी सम्झाउन सकिनन्। गोलीले छिया भएको शरीर देख्दा पनि गोली मार्नेलाई दोष लागेन। उनीमाथि खनिए। अन्ध विश्वासको पराकाष्ठा।विवाह गरेको एक महिनामा पोई खाई अल्छिनी रहिछ। गाउँमा यस्तै कुरा हुन थाले। गाउँको त्यो पीडा सहन नसकेपछि उनी कता गइन् कसैलाई पत्तै भएन।
समय बित्दै गयो। धेरै समयपछि उनी गाउँमा फर्किइन्। उनको नयाँ जीवनको बारेमा कसैलाई थाहा थिएन। गाउँमा मानिसहरू उनलाई हेर्दै थिए। उनको साथमा एक जना पुरूष पनि थिए। गाउँलेहरू मुखामुख गर्दै थिए। बोली हाल्ने साहस चाहिँ कसैले गरेका थिएनन्। आमाबाबु भने छोरी आएकोमा खुसीले हर्षित थिए।
लामो समयपछि उनी आएकोले आँगनभरि मानिस जम्मा भए। उनलाई घरको बार्दलीमा जान मन लाग्यो। उनी गाउँलेका कुरामा अल्झिन चाहन्न थिइन्। पहिला नै उनलाई मनमा चोट थियो। एकछिन बार्दलीमा बसेर पुराना दिन सम्झिइन्।
सबैसँग भेटघाट गरिन्। विगत त सबैलाई थाहा थियो। वर्तमान उनी बताउन चाहन्न थिइन्। गाउँलेहरू उनलाई प्रश्न गर्दैथिए। उहाँ को नि?कुरा नघुमाई सिधा जवाफ दिइन्।
'उहाँ मेरो साथी। सहरमा सँगै बस्छु। अनि उहाँसँग दोस्रो विवाह हुँदैछ। तपाईंहरू हाम्रो सम्बन्धलाई मान्नु हुन्छ?' गाउँलेहरू एक आपसमा मुख हेराहेर गरे।
अनि आफ्नो बाटो लागे।