स्याबास ! तिमीलाई !
तिमी कुट, बेस्सरी कुट!
डाक्टर कुट, मास्टर कुट!
सके कोहीको अस्मितै लुट!
चाहे वर्षौं ठेली रटोस्,
चाहे भत्ता तलब कटोस्, र पनि अहोरात्र डटोस्,
चाहे बेड-बेड र इमर्जेन्सीमा खटोस्,
तिम्रो आफन्तको जीउ गल्यो भने
या तिमीलाई झ्वाँक चल्यो भने
भुटिदेऊ नाथे डाक्टरलाई !
मुट्ठीमा बल जोडेपछि, कसैको खोल ओढेपछि
कसले रोक्छ तिमीलाई?
सजाय तोक्ने त रैतीलाई पो हो,
कसले टोक्छ तिमीलाई ?
बच्छिउँले टोक्ने रैतीलाई पो हो,
समयले दाम्लो लगाई जोतेको
कानुन र दयाले नओतेको
अनुहारमा पसिना पोतेको
निरीह डाक्टर !
महिना सकेर सितन पाउने
मतियार र हतियारबिनाको काँतर न हो !
कुमालेको गधाझैँ
ढाकर बोकेको निर्बल चाकर न हो
कुट! जाबो डाक्टर न हो !
तिमी कुट, मज्जाले कुट!
कुट्ने यिनैलाई हो !
न नेपालै बन्द गरी टायर बालेकोछ
न एउटा गुण्डा पालेकोछ
न खुँडा रोपेर कोही ढालेकोछ
खुरुखुरु अस्पतालका बेड-बेड
सकेजति परान बचाउँदै हिँड्ने
यिनलाई नकुटेर कसलाई कुट्ने ?
सिमाना, सुन, नुन र बिमान निलेर
भाषण गाउने भए सम्मान पाउँथेहोला
खुल्लामन्चमा गीत गाँउथेहोला
गुण्डाको नाइके भए सलाम पाउँथेहोला
बिहानै-बेलुकी समाचार आउँथेहोला
ज्यान बचाउन ज्यान होम्नेलाई नचुटेर कसलाई चुट्ने ?
पाँच साल धोकेर, आश्वासन घोकेर
गाउँमा उदाउने नेता हो र माला लाइदिन ?
उसको स्तुतिमा गीत बनाई गाइदिन ?
कुट्ने मार्नेलाई सजाय नदेऊ है !
सलाम ठोक ! काँधमा बोक
भविष्यका नेता हुन् ती,
‘खोक् !’ भन्दा खोक, ‘बोक्’ भने बोक !
हो, तिमी न्यायको सागर न हो !
बस्, डाक्टर देखे मुक्काइदेऊ,
आखिर ! जाबो डाक्टर न हो !
कुट, कुट्नै पर्छ यिनलाई !
न भाषण ठोक्न जान्दछ, न शासन ठोक्न जान्दछ
न झुलाउन जान्दछ, न भुलाउन जान्दछ
न समृध्द्धिको गफ चुट्छ, न कसैको सास भुट्छ
न ठुग्न जान्यो
सिर्फ बिरामी रूग्न जान्यो
तिम्रो अमर आफन्तलाई बचाउन नसक्ने
यसलाई नकुटेर कसलाई कुट्नू?
कुट,सबै जुट! जुटेर चुट! चुटेर भुट!
पोल्न सक्छौ पोल
यिनको छाला चिथोर, खोल
सासै फुस्काइदेऊ न बिचरोको !
म बोल्नेछैन, उसले मुख खोल्नेछैन,
लोकतन्त्र पनि मौनब्रतमा छ, बोल्नेछैन !
सिर्फ उसका घरमा
बाटो हेरेर बसेकी आमा
या कुरेर बसेका छोराछोरी
आँशुले दुई-चार सिरानी धुनेछन् !
विह्वल विह्वल भक्कानिएर
बिरहले घुँक्कघुँक्क रुनेछन्
के हुन्छ ? कुट!
मजदुर कुट, किसान कुट!
अझै नाम-निशान लुट!
देखाऊ मर्दाङ्गी ! कुट!
बस्, निरीह निर्बल चाकर न हो !
कुट! आखिर नाथे डाक्टर न हो !