लेखिका! विवाहपछिको प्रेममा डुबेकी तिमीले के विवाहअघिको प्रेम बिर्सियौ?
आऊ म सम्झाउँछु त्यो अतीत...
तिम्रो जीवन जिम्मेवारीले व्यस्त चलिरहेको बेला मेरो जीवन मस्त चलिरहेको थियो। होइन, होइन, सायद मेरा सपना मस्त चलिरहेका थिए।
किनकि सपनामा तिमी थियौ, सपनामा म थिएँ, अनि सपनामा तिमीले अहिले भनेजस्तै मिठो मौसम थियो। त्यही मौसममा हामी घुम्थ्यौँ फेवाको किनार र पिउथ्यौँ छेउको रेष्टुराँमा बसेर दुई चुस्की कफी!
याद छ, कफीको पहिलो चुस्कीमा तिम्रो लेख मनपर्यो भन्ने म नै थिएँ। अनि याद छ, दोस्रो चुस्कीमा तिम्रो व्यक्तित्व मन पर्यो भन्ने पनि म नै हुँ। दुई चुस्की कफीपछि सधैँ तिम्रो छुटेको काम पूरा गर्न हामी छुटिनु पर्थ्यो।
लेखिका, यसरी तिम्रो प्रत्येक कुरा मनपर्छ भनिसकेपछि तिमी मनपर्छ भन्नु आवश्यक थियो र? तिमीले कति सजिलै लेख्छ्यौ प्रेमका कथाहरु, मैले मिलाउन नसकेका शब्दहरुमा बान्की लगाएर पढ्न सक्थिनौ र?
लेखिका, तिमीले नभनेपनी तिम्रो बिहेको खबर पाएको थिएँ मैले। तर आज थाहा पाएँ, तिमीलाई विवाहपछि केटीको जिन्दगी सकिन्छ जस्तो लाग्दो रहेछ। तर के तिमीले थाहा पयौ, तिम्रो विवाहपछि एउटा केटाको जिन्दगी सकिएको?
भनौली ‘बाँचेकै त छस्!’ तर के सास फेर्दैमा मानिस ज्युँदो हुन्छ र लेखिका? तिम्रो बिहेपछि म ज्युँदै छु भन्ने अनुभूति दिने एउटै कुरा थियो लेखिका- मलाई मर्न मन लाग्थ्यो!
म तिम्रो फोटो मेरो कम्प्युटर र मोबाइलमा वालपेपर राख्थेँ। चट्ट मिलेको तिम्रो मुस्कान हेर्दै स्क्रीन चुम्थेँ र लगत्तै झस्किन्थेँ- अर्काकी श्रीमतीको फोटो चुम्नु मेरो नैतिकता होइन!
तर प्रेमको अगाडि नैतिकताको तागत नहुँदो रहेछ लेखिका। मुटु भक्कानो पर्थ्यो, आँसु भरिन खोज्थे, तर झर्न सक्दैनथे। गुम्सिएर कुहिनु निकै नराम्रो कुरा रहेछ।
तर समय तिमीले भनेजस्तै प्यारो रहेछ। समयले सायद मलाई केही संयमित बनायो।
अँ...! तिमी बिरामी भएको केही दिनमै थाहा पाएको थिएँ मैले। आज तिम्रो श्रीमानले गरेको सुसार थाहा पाउँदा म जस्तै माया गर्ने व्यक्तिको साथ पाइछौ भनेर निकै खुसी लागेको छ। पुरानो साथीको तर्फबाट भनेर श्रीमानलाई धन्यवाद सुनाइदिनु।
प्यारी लेखिका, म कसम खाएर भन्दैछु, तिमी बिरामी भएको थाहा पाएदेखि आजसम्म तिम्रो कुशलताका लागि दिनको दुई वटा धुप बाल्ने गरेको छु। सोच्ने गर्छु, तिम्रो सेवा गर्न यो जुनीमा नलेखेता पनि प्रेम र प्रार्थना गर्न कसैले रोकेको छैन।
तिम्रा तस्बिरहरुले मोबाइल भरिएको छ। सोच्छु, मनबाट हटाउन नसक्ने तस्बिरहरुलाई मोबाइलबाट हटाएर के फाइदा, होइन र लेखिका?
अँ साँच्ची! तिम्रो लेखसँगै म तिम्रो फोटोमा पनि निकैबेर घोरिएँ। आँखाछेउ सानो चाउरी बस्न थालेछ।
होइन, होइन... पिर नगर। परेको छैन। तर चाउरी नै परेको भएतापनि बुढेसकालमा तिम्रो फुलेको कपाल कोरीबाटी गरिदिन्छु भन्ने कल्पनामा रमाउनेलाई एउटा रेखाले केही फरक पार्दैन।
बरु पहिलेभन्दा पनि सुन्दर भइछौ। सुन्दर र रुपवानमा तिमीले भनेजस्तो फरक मलाई थाहा छैन। तर तिमी पहिलेभन्दा निकै रुपवान पनि भएकी छौ भन्ने पक्का छु।
लेखिका, बरु तिम्रा सुन्दर शब्दहरुले मन चाउरी पारेर विवाहअघिको प्रेममा आशंका उठाएको देखेँ। विवाहअघि होस् या विवाहपछि, प्रेम त निकै मिठो हुन्न र? नमिठा हुने त सम्बन्धहरु हैनन् र? सम्बन्धपछिका आकांक्षाहरु हैनन् र?
लेखिका, तिमीजस्ती प्रेमिल आत्माले विवाहअघि नै प्रेममा रमाएका ती निश्चल जोडीहरुको मनमा आशंका पैदा गराउन सुहाउँछ र?
सम्झ त लेखिका, प्रस्ताव नराखेको, आकांक्षा रित्याएको र तिमीले चिन्न छुटेको तिम्रो विवाहअघिको एउटा प्रेमी अझैँ ज्युँदै छ। के उसको प्रेम तिमीलाई झुटो लाग्छ?
यो पनिः
विवाहपछिको प्रेम