लैनचौरको त्यो कफी हाउसको माथिल्लो तल्लाको कुनामा अघिल्ला प्रायः हरेक शुक्रबार झैं आज पनि करिब ५ बजे वेटरले दुई कप क्यापचिनो राखिदियो।
ऊ तिरै सोध्यो, 'म्याम स्न्याक्स पनि ल्याउँ कि?'
बोल्न मन नलागिरहेकी सबिनाले पुरा मुन्टो नउठाई भनी, 'नो थ्यांक्स।'
तातो कफीका कपबाट उठेको बाफ हावामा बिलाउँदै गयो। विस्तारै बाफ उठ्ने क्रमपनि रोकिँदै गयो। कपबाट कफी घट्दै घटेन। सायद आज उनीहरुलाई कफी पिउनु थिएन। एकअर्कालाई हेर्नु थियो। हेरिरहनु थियो।
हेर्नु पनि कसरी भन्नु र! धेरै बेर भयो अनुहार जुधेकै छैन। लामो सास फेर्दै झ्याल बाहिर हेर्छे। ऊ झ्यालपट्टि बसेकीले उसलाई बाहिर हेर्न सजिलो छ। धुवाँ उडाउँदै खचाखच यात्रुको भारी बोकेका टेम्पो र मिनिबसहरुको जाम सडकमा लम्बिरहेको थियो।
ती बेलाबेला घस्रिन्छन् मात्र। गुड्न त कहाँ सक्नु! मोटरसाइकलहरु ट्राफिक नियमको के वास्ता गर्दथे र! पैदल यात्रु पनि उस्तै। एक तमासको दृष्य हेरिरहेकी थिई। उसलाई ८ वर्ष अघि गाँउ छोडेर काठमाडौं पसे यताका हरेक दिनको सम्झनाले उचालपछार गरिरहेको छ।
२०६९ सालको फागुनको महिना हुनुपर्छ। सहर छिरेपछि ऊ सुरुमा कीर्तिपुरमा पहिले नै आएको एउटा चिनारु परिवारको साथमा केही दिन बसेर नयाँ डेरामा सरेको थिई।
परिवारबाट सहर पढ्न छिरेको एकजना विद्यार्थीको डेरा कस्तो हुन्छ र! चामल भरिएको सिमेन्टको बोरा, प्लाईउडको सस्तो खाट, बसेर पढ्न मिल्ने सानो भुइँ-टेबल, एउटा टेबलमाथिखाना पकाउने ग्याँस।
चुल्हो र भाँडाकुँडा त्यही टेबलमा अटाएका, झ्याल र ढोकामा इजारले बाँधेका सस्ता पर्दा। साँझ परेपछि झ्याल हम्मेसी खोल्दिन। तराईबाट आएकीले उसलाई काठमाडौंको हावापानी चिसो लाग्यो। तर मन पर्यो।
कलेज, डेरा नजिकको नुनभुटुन र सब्जी पसल बाहेक उसका जाने ठेगाना पनि थिएनन्। दूधदही मन पराउने ऊ हप्तामा एक/दुई पटक आधा लिटर दही किन्छे। पानीमा मिसाएर मही जस्तो बनाउछे र तीन दिन पुर्याउँछे।
डेरी पसलमा उसले चार पटक भयो एउटा युवकलाई उसैगरी दही किन्न आउँदा देखेको। युवक कहिलेकाहीँ दूध र पनिर पनि किन्दथ्यो। आँखा जुध्थे। चिनेको नभएकोले बोलिहरहनु पर्ने झन्झट थिएन। बोल्ने मन पनि थिएन्।
चाहिने चिज किनिसकेपछि फर्किने बाटो एउटै भए पो बोल्ने मेलो मिल्थ्यो। त्यो पनि थिएन। एउटा पूर्वको गल्ली लाग्थ्यो, अर्को पश्चिमको गल्ली।
त्यो दिन फागु पूर्णिमा परेको थियो। रङका लोला हान्लान् भनेर जोगिएर डेरी पसल पुगेकी ऊ दहीको पोको बोकेर फर्किंदै थिई। ऊ पसलको सिँढी ओर्लिने र युवक उक्लिने समय एउटै परेछ। युवकको कुमले केही झुकेको उसको टाउकोमा धक्का लाग्यो। हातको झोला खस्यो।
दहीको प्लास्टिक पोको फुट्यो। युवकले माफी माग्यो र अर्को किन्दिन्छु भन्यो। उसले भनी, 'पर्दैन म आफैं किन्छु नि।'
त्यो नचाहेर भएको घटना थियो। युवकले धेरै आग्रह गर्यो र दुई वटा दहीका पोका पसलेसँग माग्यो। एउटा सबिनाको हातमा राखिदियो र अर्को आफूले लियो। खासमा ऊ अझै पनि आफैं नै पैसा तिर्न खोज्दै थिई।
सिँढी ओर्लिने बेलामा फेरि माफी माग्यो र नाम सोध्यो। 'सबिना' यतिमात्र भनेर ऊ कोठातिर लम्की। रङका लोला खेल्नेहरुसँग जोगिँदै कोठामा पुगी।
पसल हिँड्नुअघि ग्याँस बालेर चुल्होमा राखेको भात पिँधमा डढ्न लागिसकेको गन्ध नाकाम पर्यो। हतार हतार चुल्हो बन्द गरी र खाने थाल ठिक गरी।
डेरी पसलमा भएको त्यो घटनाले उसको दिमागमा डेरा जमायो। तर उसको रुटिनमा कुनै बदलाव आएको थिएन। आउने कुरा पनि त थिएन। पढ्यो, निदायो, उठ्यो, खायो। साथीसंगी पनि खासै थिएनन्। धेरै हेलमेल रुचाउने बानी पनि थिएन।
दसैँ आयो। घर जाने चटारो। भोलि बस चढ्न कलंकी पुग्नु थियो। अघिल्लो दिन ऊ दुई वटा बस फेर्दै रत्नपार्कसम्म पुग्नु पनि थियो। करिब एक वर्ष अघि भाइटीका लगाएपछि भेट नभएको भाइले एकपटक फेनमा कुरा हुँदा दशैंमा घर आउँदा ‘घडी ल्याइदिनु है दिदी’ भनेको थियो।
उसका लागि रत्नपार्कमा पाइने सस्तो घडी र हजुरआमाले मिठो मानेर खाने गुँदपाक किन्नु थियो। डेराबाट निस्किएर कीर्तिपुरको नगाँउ दोबाटो पुगी। बसमा उभिने सिटमात्र बाँकी थियो। महिनावारी भएको तेस्रो दिन। पेट दुखेको थियो। ऊ सिटमै बसेर जान अर्को बस पर्खिन लागि।
नयाँ मोटरसाईकलमा आँउदै गरेको एउटा युवकको आँखामा उसका आँखा अडिए। चिने जस्तै लाग्यो। सिकारु रहेछ, विस्तारै गुडिरहेको थियो ऊ।
नजिकै आउँदा उसले पुरा ठम्याई, ऊ त्यही थियो जसको कुममा उसको टाउको डेरी पसलको सिढीँमा ठोक्किएको थियो। युवक रोकियो।
'कतै जान लाग्नु भएको हो?' सोध्यो।
उसले भनी 'हो।'
'म जाउलाखेलसम्म जान लाग्या हुँ, हजुर कहाँसम्म होला?'
'रत्नपार्क पुग्नु छ, हस् बसमै जान्छु।'
'अप्ठ्यारो लाग्दैन भने चढ्नुस्, बस कति कुर्नु पर्ने हो? जावलाखेलबाट सजिलो पनि होला अगाडि जान।'
कुरा ठिकै पनि थियो। कुर्ता र सल सम्हाल्दै सुपर स्प्लेन्डरको पछाडि बसी। करिब आधा घण्टाको यात्रामा उनीहरुबीच बोलचाल भएन।
रातको खानापछि सामानहरु ब्यागमा राख्नु थियो। करिब एक महिनाको घर बसाइमा पढ्न किताबहरु पनि बोक्नै थियो। ब्याग ठिक पारेपछि १० बजेतिर मात्र ओच्छ्यानमा गई। बिहानदेखि साँझसम्ममा घरेक घटना दिमागमा आए।
मोटरसाइकलको पछाडिको सिटमा बसेको हो। नामसम्म सोधेको भए हुन्थ्यो भन्नेसम्म उसलाई पनि लाग्यो। एकान्तप्रेमी र भावुक स्वभावकी उसलाई आफैंप्रति सानो गुनासो बन्यो। मनमा धेरै कुरा खेलाउनु हुन्न भन्ने भावले नै जित्यो जित्न त।
तर उसको गहुँगोरो वर्णको अनुहार, बाक्ला आँखीभुई, आँखाको दायाँ किनारमा बसेको कोठी, फ्रेञ्च कट दाह्री राखेको र सफा लुगा लगाएको त्यो मझ्यौला कदको शरीरको चित्र आँखामा आइरह्यो।
जम्मा दुई/तीन वाक्य बोलेको व्यक्तिसँगको त्यो छोटो यात्राले उसको दिल दिमागमा घर गरिरहेको छ। को होला, कहाँको होला, के गर्दै होला जस्ता प्रश्न उसले आफैंलाई सोधिरही।
एक महिनापछि साँझ काठमाडौंको बल्खुमा बसबाट उत्रिँदा सबिनालाई छुटेको घर जत्तिकै डेराको पनि माया लाग्यो। डेरा पुग्दै थिई। घर टाढा रहँदै गयो। भोलिदेखि उही डेरा, उही किताब, उही भाँडावर्तन, उही कलेज र उही डेरी पसल।
मन भने ‘ऊ’ पनि त्यतै देखिएला भन्नेमा आशावादी थियो। आजको राति उसलाई खाना पकाउन मन लागेन। आमाले हालिदिएको सेलरोटी, सानैदेखि उसलाई मनपर्ने फर्सीको बियाँको धुले अचार र घिउ हालेर पकाएको चनाको तरकारी छँदैथियो।
रातको ८ बजे डेरामा छिरेकी उसले झोला बिसाएर सुरुमा बिच्छयौना टक्टक्याई, चियाका लागि दिउरेमा पानी बसाइ। घरमा फोन गरेर कोठामा पुगेको खबर दिई। हजुरआमालाई बाथको औषधि खुवाउन नबिर्सिनु भनेर भाइलाई समझाई।
अब खाएर सुत्नु थियो। यात्राले थकान ज्यादा भएको थियो। बाटोमा उसलाई त्यति रुच्दैन। उल्टी होला भनेर एकदमै कम खान्छे। आज पनि त्यसै गरेकी थिई।
घरबाट फर्किएको चार दिनपछि दही किन्न डेरी पुगेकी उसलाई पसलकी साहुनीले दहीको पोको दिएपछि रोक्दै भनिन्, 'भाइले तपाईंलाई सोध्दै हुनुहुन्थ्यो।'
उसलाई सोध्नेगरीको चिनजान भएको व्यक्ति कोही थिएनन्। तैपनि उसले लख काटी। लाग्यो ‘उही’ होला। पसल्नीले अरु प्रष्टसँग भनी, 'त्यही क्या, दही किन्न हजुरकै समयमा आउने सहकारीको जागिरे भाइ।'
ऊ टुंगोमा पुगी- युवक त्यही रहेछ।
तीन दिनपछि उसैगरी डेरी पसलमा उनीहरु जम्काभेट भए। चिने जस्तै परैबाट एकअर्कालाई देख्दा मुस्काए। भएको केही थिएन, तर उनहरु दुवैको मनमा एकअर्काको डेरा बनिसकेको थियो। डेरा न हो, आखिर अस्थायी हुन्छ। यो सहरमा फेरि डेरा भनेको सजिलो र सस्तोको खोजीमा सरिरहने ठेगाना हो।
युवकले पसलको सिँढीनिर सोध्यो, ‘सञ्चै हुनुहुन्छ?’ खासमा उनीहरु दुवै एकअर्कालाई यही प्रश्न सोध्न चाहन्थे। त्यही दिन हो सबिनाले उसको परिचय पाएको।
बल्खुमा सहकारीमा सहलेखापालको काम पाएको गगनले गतवर्ष मात्र स्नातकोत्तर सिध्याएर जागिर थालेको रहेछ।
सेलाइसकेका कफीका कपतिर आँखा पुर्याउँदै गगनले घाँटी सफा गर्दा निस्किएको आवाजले सबिनालाई बाहिरको दृष्यबाट कोठामा फर्कायो। एक/दुई घुट्की पिएपछि दुवैले पिएनन्।
मौनताको फेरि अर्को निरन्तरता। परबाट हेर्दा-देख्दा सबै ठिक ठेगानमा शान्त चलिरहे जस्तो। तर कहाँ हुनु, हृदयमा हुरी चलिरहेका दुई आत्मको कम्पनको साक्षी केवल कफीका रित्तिन लागेका कप, भित्तो, टेबल आदिमात्र त थिए।
'खुसी छौ नि?' अमेरिकाको भिसा लागेको साँझ खुसी मुद्रामा गगनले सबिनालाई महाराजगञ्जको क्याफेमा भनेको थियो। उसले भनेकी थिई, 'ठिकै लागेको छ।'
केही वर्ष अमेरिका बसेर पढने, मौका मिले सबिनालाई पनि उतै तान्ने, नत्र पढाइ सिध्याएर नेपाल नै फर्किने योजना उनीहरुले सँगै बसेर बुनेका थिए। भेट्न मनलाग्दा उनीहरुको बसाइ टाढा थिएन। तर किन हो कुन्नी उनीहरु पशुपति आर्यघाट पारिपट्टिको भित्तो मन पराँउथे।
एकदिन कवि मनको गगनले भनेको थियो, 'हेर, यहाँबाट हेर्दा भर्खर विवाह बन्धनमा परेका जोडी, प्रेमी प्रेमिका, सन्तानको बरमाग्न आएका दम्पत्ती, भगवानको भजनमा लिप्त भक्तजनदेखि मुखमा दागवत्ती लिँदै गरेका चितामाथिका पवित्र शरीरहरुसमेत क्यामेराको एउटै फ्रेममा राख्न सकिनेगरी देखिन्छ।'
मन परुन वा नपरुन तर जीवनका अने रंगहरुलाई एउटा कोलाजमा अनुभूति गर्न सकिने यो ठेगाना उनीहरु धेरैपटक पुगेका हुन्। पशुपतिमा सँगै धुपबाती बालेका थिए। एकअर्कालाई टीका लगाइदिएका थिए। चोखो जुठोको मतलब नगरी एकै प्लेटमा खाजा खाएका थिए। कपडा किन्दा रंग्ग एकले अर्कोको लागि छानिदिनु पर्दथ्यो।
छोरो बिदा गर्न आएका आमाबाबु र अरु आफन्तहरुले गगनको कोठा खचाखच थियो। भोलि साँझ बिमानस्थल पुग्नु थियो। खेत बेचेर भएपनि अमेरिका गएर पढ्ने छोराको सपना पूरा गर्न सफल भएकोमा खुसी बाबुले उसलाई ढाकाको टोपी लगाइदिए। आमाले रातो टीका। बहिनीले एउटा माला।
यो त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल थियो। कुनै आफन्तहरुले थाहा नपाएको यो भित्रभित्रै झ्याँगिएको प्रेमको वृक्षबारे दुई घड्कन मात्र जानकार थिए। दुवैका मुटु छाती छेडेर बाहिर निस्किनेगरी धड्किरहेका थिए। डेरी पसलकी साहुनीलाई थाहा थियो कि! तर थिएन होला।
गगनलाई सबिनासँगको सम्बन्धबारे बहिनीलाई मात्र भएपनि भनि राखौं जस्तो लागेको थियो। तर फेरि सोच्यो, त्यो चञ्चले स्वभावकी छे, घरका सबैलाई सुनाउली र अनावश्यक हल्ला माच्चिएला।
भिसा हात परेपछि एकपटक आमालाई सुनाउन पनि मन लागेको थियो। तर आमाले उसले केही भन्नै नपाइ ठूलो स्वरमा पढेर फर्किने अनि बिहा गर्न केटी खोजी रहन्छौं भनेपछि गगन रोकिएको थियो। घरको मर्यादाले संकोची स्वभावको उसलाई खुल्न दिएन।
उनीहरुबीच अन्तिम सम्बाद भएको ४८ घण्टापछि ऊ उड्दै थियो। एउटा रुमाल, भावुक बन्दा केही पाना गजल कोरेको एउटा डायरी र एउटा पाइलट पेन दिँदै सबिनाले भनी, 'फेरि कस्तो भेट हुने हो कुन्नी!'
अनिश्चयको विराट भूमरीमा फसेको ठानेकी उसले समाउँदा गगनको बायाँ हातको बुढी औंलाको नङ लामो थियो। ‘पर्सि एयरपोर्ट आऊ है’ अनुहारमा हेर्नसक्ने सहास सायद उसमा पनि थिएन।
कफी हाउसको काउन्टरमा बिल तिरेर उसले धारोमा गएर अनुहार पखाल्यो। अनुहार पनि के भन्नू, आँसु धोयो। त्यही रुमालले अनुहार अनुहार पुछ्यो। गएको १५ पुसमा गगनले किनिदिएको ठूलो फ्रेमको कालो चस्मा सबिना कहिल्यै छोड्दिन थिई।
उसले जन्मदिनमा पाएको त्यो पहिलो उपहार थियो। टिस्यु पेपर गहमा डुलाई र चश्मा अनुहारमा अलिक जोडले ठेली। मोटरसाइकल करिब एक घण्टामा कीर्तिपुरको नगाँउमा पुगेर उसैगरी अडियो।
काँधबाट हात झिकी र गालामा छुँदै टाउको हल्लाई। छातीभित्र सुनामी दौडीरहे पनि कस्तो मौनता। ठूलो ताकत खर्चिएर उनीहरु आज शान्त रहे। वास्तवमा कराउन वा झगडा गर्नभन्दा शान्त हुन बढी शक्ति चाहिन्छ। त्यो उनीहरुले महशुस गरे।
‘फेरि भेटौंला’ लेखिएको ठूलो गेट मुन्तिर ४ नबज्दै सबिना पुगिसकेकी थिई। बितेको करिब ७ वर्ष सँगै देखेका सपना विस्फारित मनले सम्झी। ऊ फर्किन्छ कि फर्किँदैन, सँगै हुन पाइएला कि नपाइएला? यी नै त हुन उसले सोच्ने प्रश्न।
ट्याक्सीको झ्यालपट्टि नै बसेको थियो ऊ। आँखाले आँखालाई चिनिहाले। ऊ हिँड्दै गई। ट्याक्सीले उसलाई परै छोड्यो। विमानस्थलको मूलढोका निर गगनका आफन्तहरु उभिँदै फोटो खिच्न र उसलाई बिदाइ गर्न जुटिसकेका थिए।
एकपटक अँगालो हालेर झार्नुपर्ने आँसु त ऊसँग पनि थिए। तर अवस्थाले उसलाई बाँध्यो र त्यति नजिक हुन दिएन। ऊ उभिरह्यो। उसले पनि जान, अंगालोमा कसिन र छिट्टै आऊ है भन्न सकिन।
त्यो रात सबिनाको कोठामा भात पाकेन। उसको टाउको दुख्यो। एक गिलास तातोपानी पिएर सुती। सुत्नु भन्नु मात्र थियो। शरीरलाई विस्तारामा लडाउनु त हो। निद उडेको थियो।
आकाशलाई दायाँबायाँ छोड्दै उडेको कतार एयरवेजको विमानलाई उसले काठमाडौंको आकाशबाट बिदा गर्दै पशुपतिनाथलाई सम्झी। भनी, ‘तिम्रो आर्यघाटको आँगनमा हामीले देखेका सपना पूरा गराउने जिम्मा पनि तिम्रै भयो।’
बिहान ढिलो उठी। अस्तिको दिन दहीमा पानी मिसाएर राखेको पखाले अलिकति बाँकी थियो। त्यसैमा चिउरा मिजाएर निली। करिब ८ वर्ष बसेको ठाँउ उसलाई आज बिरानो लाग्यो। नबसौं भयो। अघाइछे ऊ यो ठाँउबाट। पर्सिपल्टदेखि कीर्तिपुर नगाँउको त्यो कोठाको झयालका खापा उघ्रिएका छैनन्।