कुनै दिन थियो, म चाहन्थेँ घरमै बसिरहन पाउँ। पहिलो एकान्तबासले लत बसालेर गयो। आज म फेरि घरमै छु। घरमै बेफुर्सदिलो छु।
घरबाट काम गर भन्दै थिए मेरा अन्नदाता। घरमा काम गर भन्दै थिइन् मेरी दाती। म घरमा हुँदा तनाबमा हुन्छु। अनि सानी नानी उफ्रँदै म तर्फ आउँछे। मेरो एकान्त चिन्तन भंग गरिदिन्छे।
म सोचको समुन्द्रमा डुबुल्की मारेपछि पुनः एक क्षणमा धर्तीमा आउँछु। म हावामा ढुंगा उडाइरहेको थिएँ। मलाई ढुंगालाई देवता बनाउनु छ। देवता बनिसकेकी छ। उसलाई खुसी बनाउनु छ।
निस्सार कोमलता, स्वच्छताकी धनी ऊ मेरा लागि अबोधपना हुत्याएर जान्छे। म सोच्छु, उसका फुट्न लागेका स्वरको कथा लेखूँ। उसको आँखाबाट हेरुँ। ठूला मानिसले मैले बोलेको ‘बा बा, मा’ हेरुन्। म उफ्रिउँ। म उफ्रेको सबैले हेरुन्।
उहाँहरुले नहेरे म भुइँमा लटपटिउँ अनि मलाई हेर्छन् कि भन्ने आशा लिएर उनीहरु तर्फ हेरुँ। चिसो भुइँ देखेर मलाई बाबा लिन आउलान्। म उहाँको काखमा बसेर बा..बा भन्दो हुँ। साना औंलाले देखाउँदै म उहाँको काखबाट हट्न खोजौँला। मेरा खुट्टा हात यसै उफ्रेलान्।
म भुइँमा राखिउँला। म सोफामा चडेर त्यसको स्प्रिङमा उफ्रिउँला। म उफ्रेको देखेर बाबा, ममी, आमा, हब्बा डराएर सोफा तल हात फिजाएर बस्नु होला। म उफ्रँदै हुत्तिउँला। मेरा खुट्टा आफ्नो नियन्त्रणमा कहाँ बस्छन् र!
उनीहरुले त्यति उमेर पाइसकेका छैनन् जति उनीहरुले मेरो शरीरको उफ्राइको भार उचाल्न सकून्। या मेरो रिफ्लेक्स विकसित भइसकेको छैन म आफैलाई नियन्त्रण गर्न सकूँ। किन किन मलाई सोफामा उफ्रन निकै मज्जा लाग्छ। म एक्लै भएको बेला उफ्रन्नँ। मलाई सोफा तल कसैको आढस चाहिन्छ। मलाई पनि त लडिन्छ कि भन्ने डर छ।
म पढेको कुरा लेख्छु। पढ्दै नपढ्नु अर्को कुरा हो। म सुनेका कुरा लेख्छु। उनीहरुले भनेका कुराहरु लेख्छु। त्यो लेख्छु जुन मलाई चित्त बुझ्छ। उसले मेरो मनलाई चित्त बुझायो। उसको कुराले मेरो कलालाई चित्त बुझायो।
अहँ! म मान्दिनँ मेरो कलाको बलात्कार भयो। यहाँ प्रेम भयो, विवाह भयो। मलाई साविती मन पर्यो। मलाई आहुती मन पर्यो। मलाई गिरी मन पर्यो। म उनलाई शिरीषको फूल नजिक लगेर बिसाउँदै छु। ऊ त्यहाँ बसेर कविता रच्छ।
म सिरानको संग्रौला गरिरहेको छु। सिरानमा मेरो शिर छ। मेरो दुई दिमाग छन्। पेट्रोनास टावर बीचको पुल हुँदै देब्रे दिमागले दाहिनेलाई झकझकाउँछ। म उठेँ, कुर्चीमा बसेँ। सेता पाना काला भए। सायद यी अक्षरमा जीवन आयो।
ऊ सिद्धान्त बिना बाँच्न सक्दैन। म भोको छु। म भोको थिएँ। म तृप्त हुन चाहन्छु। दिमागको एक भाग (कर्टेक्स) भर्न चाहन्छु। यतिसम्म भर्न चाहन्छु कि त्यो छचल्कियोस्। गाग्री माथि पानी चुहिने स्थितिमा पुगोस्।
कल्पना हो। मलाई थाहा छ मेरो दिमागमा संसार अटाउँछ। लुसीले पूरा १०० प्रतिशत दिमाग चलाइन्। कमसेकम त्यो चलचित्रमा। म त्यो चलचित्रले नदेखाएको अर्को ५० प्रतिशत देखाउन चाहन्छु। दाहिने दिमाग पूरा प्रयोग गर्ने प्रयत्न गर्नेछु। कमसेकम ती दिमागहरु जसमा साहित्य (कला) भरिन्छन्।
अब कथा भन्न पर्ने हुन्छ। म उपन्यास लेखिरहेको छु। म उपन्यास लेख्न बसेको हो। यो एकान्तबासको लक्ष। कमसेकम म ती ९५ प्रतिशत साहित्यकारमा परिन जसले एक पाना पनि साहित्य लेखेका छैनन्। म अब बन्द ढोकाको अगाडि छु।
म खुसी छु म लेख्दै छु। म पहिला पनि लेख्थेँ। सानो छँदा पहिले ‘कोपिला’बाट ९० रुपैयाँ कमाउने गथेँ। सरकारले १० रुपैयाँ कर कटाएर दिएको। म बच्चालाई मेरो लेख प्रकाशित गरिदिएकोमा पुरस्कार दिएको। म त्यो बेला बढी खुसी थिएँ।
खुसी पनि तुलनात्मक हुँदो रहेछ। म एउटा पढेर अर्को काम गरिरहेको छु। मलाई डाक्टरीबाट खुसी पाउनु थियो। म अहिले साहित्य लेख्दैछु। अनि फेरि परस्पर दुई विपरीत टुक्रा बीचमा समानता खोज्दैछु। हनुर भेटाएँ।
डाक्टरी पनि कला हो। डा. उपेन्द्र देवकोटा भन्न हुन्थ्यो- मैले टाउकोबाट सानो प्वाल बनाएर घण्टौँसम्म सानो दूरबिनले हेरेर तपस्या गरेको छु। उहाँ तपस्या भन्दै हुनुहुन्थ्यो, म त्यसमा कला देखिरहेको थिएँ।
गन्धर्वहरुले हजारौं वर्ष तपस्या गरे। तिनीहरुले जंगलमा गएर पूजापाठ गरेर तपस्या गरेका होइनन्। उनीहरुले हजारौं वर्ष बाजा बजाइरहे। हजारौं वर्ष आफूले चाहेको कुरा प्रयत्न गर्दा के उनीहरुले बरदान लिन ब्रह्मालाई कुर्न पर्छ?
सा, रे, ग, म, प, ध, नि, सा यत्तिकै कहाँ आयो। त्यो तिमी भनौला ब्रह्माले दिएको बरदान हो। तर त्यति दिन त ब्रह्मा आफै किन आए होलान् र! गन्धर्वहरुले आफै लिएर जान सक्थेनन् र?
प्रत्येक घरमा, प्रत्यक बनका रुखहरुमा साहित्य छ। मेरा पानाहरु सेता छन्। मसीको रङ कालो छ। कलम थोरै कालो छ, थोरै खैरो छ। टुप्पामा चम्किलो स्टिल जस्तै टल्केको छ। हात फोहोर अक्षर लेख्न उद्धत छ।
‘छि! अक्षर त छेपारोले छेरेको जस्तो छ’ बुवा भन्ने गर्नुहुन्थ्यो। आजकाल भन्नुहुन्न। डाक्टरहरुका अक्षर यस्तै हो। अक्षर हेर्नुस् भनेर देखाउन गएको पनि छैन। उहाँ ‘खै हेरम्’ भनेर आउनुभएको पनि छैन।
समयले प्राथमिकता परिवर्तन गरिदिएको छ। म भन्छु, बुद्धिमानहरुको हातभन्दा दिमाग बढी चल्छ। त्यसैले अक्षर फोहोर हुन्छ। बुढी गाली गर्छे। कोठा उस्तै फोहोर छ। कोठाको सफाइ मेरो प्राथमिकतामा पर्दैन।
यी अकिञ्चन अक्षरहरु संकलन गरेर प्राण भर्न खोज्नुमै म रमाउँछु। कोठाको सफाइभन्दा यसै लेखिरहन मलाई मजा लाग्छ। खुसी लाग्छ। एक पाउन अर्को गुमाउन पर्छ। सारा संसारलाई उज्यालो दिने बुद्ध पनि बेइमान थिए। आफ्नो बुढी र छोराको निमित्त।
बुढी गाली गर्छे, यस्तो मान्छेले के विवाह गर्नू, के बच्चा जन्माउनू! अनि म जागिर छोड्न चाहन्नँ। उसँग किचकिच गर्नु नै ठिक। ममी केही भन्नु हुन्न। उहाँका अक्षरहरु पनि मेरा जस्तै छन्।
ऊ हट्छ र म कुरिरहेछु। बादल पारी ऊ छ। ऊ त्यो हो जो म खोजिरहेको छु। खै के हो बादल नहटी थाहा हुँदैन। थाहा भएको भए म खोज्ने थिइन। ऊ छैन र त म उप्रति आशक्त छु। ऊ भएको भए म हुने थिइनँ। म अरु कतै हुने थिएँ।
म फरक हुने थिए। फरक भएर म खुसी हुनसक्थेँ कि? फरक भएर म दुखी हुने पनि थिए कि? म यो हावामा आफ्नो उपस्थिति जनाएरमात्र के खुसी छु? इतिहासले मलाई बेलायती बनाइदिएको भए के म दुखी हुने थिएँ?
इतिहासले मलाई कुनै बाइसे चौबिसे राज्यको नागरिक बनाइदिएको भए के म खुसी हुने थिएँ? म सिक्किममा जन्मेको भए के सोच्थेँ? म के पृथ्वी देशको नागरिक भएको भए दुखी हुने थिएँ? यो एसिया देशको नागरिक भएको भए मात्र पनि म खुसी हुने थिएँ कि?
सोच्छु मेरो कर्तव्यले के दिएको छ? के म अधिकारमात्र खोज्ने अकर्मक हुँ। मेरो उपस्थितिको मूल्य के हो? म के त्यो पाँच प्रतिशतमा पर्दिनँ जसले अरु ९५ प्रतिशतलाई हेर्न पर्छ। के मैले त्यो पाँच प्रतिशतले पाउने सुविधा र शिक्षा पाएको छैन?
मेरो उपस्थितिले गर्दा हुम्लाको गरिब किसानले के पाएको छ? सत्ता वरिपरिको गाइनेकिराले के पाएको छ? मधेसको किसानले के पाउँछ? काठमाडौँको जमिन्दारले के पाउँछ?
म विरोधी हो। कसले गर्छ मेरो विरोध? के हुम्लाको किसानले गर्छ? कि गाइने दाजुले गर्छन्? म त केवल प्रयत्न गरिरहेको छु। म चाहन्छु मेरो हस्पिटलमा आफ्नो जीवन काटिसकेको बिरामी आओस् तर कोरोनाको भोको पेट नआओस्। त्यो भोको पेटदेखि बढी डर लाग्छ सर। ऊ बढी गरिब छ।