आऊ नेताज्यू! भ्रस्टाचार र स्वार्थले लिपेका
ठुल्ठूला घाउ छन् सीमाका माटामा
बडा-बडा खाल्डा छन् भित्रका बाटामा
यीनै घाउ र खाल्डा हुँदै बृहत परिवारका
कोभिडले मृत लाशहरू
आर्यघाट लाने बेला
एउटा रिबन काट्न आऊ
आउने बहानामा अलिकती कमिशन खाऊ
बीस बाइस किलोको माला लाऊ
रिबन काटेपछि उत्तर-दक्खिनको भजन गाऊ
मैले कहीँ जीवनको लागि पुकारेँ भने, भनि जाऊ- ‘त्यो पर्दैन!’
सुत, अझै सुत ! किनकि तिम्रो आँशु झर्दैन
कानुन पर्खालवारी, तिमी पर्खालपारी !
कानुनले पर्खाल तर्दैन !
तिम्रा चस्माले नदेख्ने बिचरा दृश्यहरु !
बेड, वार्ड र मशिन वरिपरी
दिन, हप्ता, महिना, जाडो या गर्मी !
परिवारको सदस्यको लाश जलाएर
फेरि काममा फर्केको मजदुर या स्वास्थ्यकर्मी !
त्यही खट्ने माथिको दुर्ब्यवहार !
अक्सिजनको खडेरी होस् या औषधिको हाहाकार
चाहे अस्पतालको आँगनमा उपचारको भिख माग्दो होस् एक बेरोजगार !
ओढ ओढ क्या गजब, सदाचारी खोल
ऊ! बज्दैछ ढोल,
भाषणमा गोलगोल
सुन्नोस् ! ‘सिचुएसन अन्डर कन्ट्रोल !’
ती सीमा या अस्पतालका योद्दा !
जिउ गर्मीला रक्षा-कपडाले ढाकेर
पसिनासित पाकेर
धड्कन र सास नथाकेर
कर्म कयौँ जीवनसित
प्राणवायु, ट्याब्लेट र सुइले भाकेर
दोस्रो, तेस्रो दिन घर जाँदा
मझेरी दलिन हेर्न भ्याउन्न
‘बाबा’ भन्दै दगुर्दै दैलामा आएको छोरो
लुपुक्क काखमा लिन पाउन्न
बाटो हेरेर बसेकी आमालाई नजिकबाट नियाल्न पाउन्न
भक्कानिन्छ, बोल्न आउन्न !
शुन्य कोठामा सुत्छ, जहाँ खास घर हुन्न
उसको स्वस्थताको भर हुन्न
छिनभरमा उठेर हुँईकिन्छ
उही सडक चकमन्न
भरोसाका लमतन्न जिवनको ढुकढुकी गन्न !
एकथरी यी कसरी बचाऔं भन्छन्
अर्कोथरी ती कसरी पचाऔं भन्छन्
कहीं कुर्सीको तृष्णा छ कहीं अक्सिजनको
कहीं भुँडीको बिलौना छ कहीं जीवनको
जीवन र अक्सिजनलाई, कुर्सी र भुँडीले थिच्दाको मन !
‘जोसुकै मरून्’ भन्ने र
‘अझै अरु बाँचुन्’ भन्ने यो दोहोरो मेहेरीमा निर्धो जीवन !
मलिन अनुहार लिएकी दम्पत्ति
बाउआमा कुरेर बसेको छोरो
छोरो कुरेर बसेकी आमा
सबैलाई कसैको जीवन ब्युँतिएको
खबर सुनाउनुमा गर्व गर्दो एक निरीह कर्मीसामू
जस्ता, लत्ता, सास, आश, खोप
सब पिएर कुर्सी निदाएको छ
त्राहिमाम चोक, आँगन र शहर गिडगिडाएको छ
यी आँगन, सडक र शहर बोल्दैनन्, सिर्फ रुन्छन्
आमाको शोकले हो
या भाइको विजोगले हो
कुर्सीवरिपरिकाले नदेख्ने महामारी रोगले हो !
अफसोस ! जाबो रैती प्युसाको के मोल !
जतिसुकै खुलोस् पोल, अहँ नबोल् !
यो हो ‘सिचुएसन - अन्डर कन्ट्रोल!’
म आँशुमा जीवनको मोल जिलाउँछु
कैले अस्तित्वलाई भेन्टिलेटरको टिङ्टिङ् पिलाउँछु
कैले गलेका दलिनलाई झुठो धुन दिलाउँछु
अरबमा बितेका दाइको लाश
कंगोमा रोएकी बैनीको अत्यासमा बिलाउँछु
र आँगनमा भुक्लुक्क ढलेका आमाहरुमा मिलाउँछु
ढल्छु निरीह हालतले म
तर जति भक्कानिन परोस् म
कुर्सी ! तिमी नपग्लिनु !
किरियाघरको उद्घाटनमा आउनु
समृद्धि र विकासको गीत गाउनु
गज्जब ! आफ्नोसित बिमति भैरहनेको
पराइसँग संगति किन भेटिन्छ ख्वै ?
गाडीमा देशको झन्डा ठडिने हुनासाथ
छातीबाट देश किन मेटिन्छ ख्वै?
म त बिनाअक्सिजन पनि बृहत परिवार सदस्यसँग बिलाउनेछु
जब सम्म चल्छ कुनै इ.सि.जी. या चेत
जब सम्म बज्छ धड्कनको संकेत
तर एक पल! हो, सिर्फ एक पल रमाउन पाए हुन्थ्यो
सास थपेर अरु केही जीवन थमाउन पाए हुन्थ्यो
हिजोभन्दा आज एक दुई अरु परान ब्युँताउन पाए हुन्थ्यो
चाहे टेलिभिजनहरु देखाउन्, जीवन दिने भन्दा रिबन काट्नेहरुको कथा !
चाहे समाचारमा लेखाउन्, ज्यान बचाउनेभन्दा ज्यान काट्नेहरुको गाथा !
चाहे क्यामेरामा कैद होउन्, भाषण कुर्लनेको हुंकार !
भत्ता खोसेर सत्तामा रमाउनेलाई
मन कुड्याउँने गरी जीवन गएको पोल्दैन
जिउनुपर्नेहरुको चिताले निदाउनेको निद खोल्दैन
पुत्रशोकको ए मझेरी ! बोल् !
कुर्सीका गाथा अनमोल !
‘हजुर ! सिचुएशन अन्डर कन्ट्रोल !’