पोखरा पुगेपछि पुनमलाई विवेकको घर पत्ता लगाउन खासै गाह्रो भएन। ट्याक्सीबाट ओर्लेर घरको मूलढोका तर्फ लागी।
हेर्दा बाहिर शान्त देखिएको भए पनि मन भित्र भने अनेक कुरा खेलिरहेको थियो। ढोका खोल्ने महिलालाई नमस्ते गरेर सोधिन् 'रमेश घरमा हुनुहुन्छ?'
'तिमी पुनम हो?' त्यस महिलाले परिचित झैँ गरी सोधिन् र मुस्कराइन्।
'हो! तर तपाईले कसरी चिन्नु भयो?'
'एकपटक उहाँले अफिसको कुनै कार्यक्रमको फोटो देखाउनु भएको थियो। त्यसमा तिम्रो फोटो देखेको थिएँ... आऊ भित्र।'
पुनमको हात समातेर घर भित्र बैठक कोठामा लिएर गइन्।
'म को हुँ तिमीले थाहा पाइसक्यौ होला। मेरो नाम...'
'सुष्मा!' पुनमले बीचमै कुरा काटी।
'मैले पनि तपाइलाई विवेकको फ्ल्याटमा झुन्डाइएको परिवारिक फोटोमा धेरै पटक देखेको छु।'
पुनमको जवाफमा खासै कुनै प्रतिक्रिया नदिई सुष्माले सोधी 'उहाँको विसञ्चोको बारेमा कसरी थाहा पायौ?'
'विवेक हाम्रो सिनियर हुन्। कार्यालयको कामको बारेमा उहाँसँग मैले सधैं फोनमा कुरा गर्नु पर्ने हुन्छ। अनि अब उहाँको स्वास्थ्य कस्तो छ?' पुनमले सहज तरिकाले जवाफ दिइन्।
'तिम्रो यस प्रश्नको जवाफ उहाँ आफैले दिनु होला। म उहाँलाई पठाइदिन्छु। अनि तिमी चिया-कफी के पिउछौ या चिसो...?'
'कफी भए राम्रो हुन्थ्यो।'
'आज तिमी हाम्रो विशेष पाहुना हौ पुनम। आजसम्म मैले उहाँको अफिसको कुनै पनि सहयोगीसँग भेटेको छैन। तिम्रो अतिथि सत्कारमा कुनै कमी हुन दिन्नँ। म उहाँलाई पठाइ दिन्छु' बडो अपनत्व देखाउँदै सुष्मा भित्र गई।
एक्लै भएकी पुनमले बैठक कोठको चारैतर्फ नजर पुर्याइ। कोठमा भएका हरेक वस्तुलाई राम्रोसँग सजाइएको र सफा सुग्घर साथ राखिएको थियो। सुष्मा कुशल गृहणी हुन् भनेर बैठक कोठाको अवस्थाले झल्को दिन्थ्यो।
मनमनै पुनमले सुष्माको आकर्षक गहुँगोरो अनुहार र सुन्दरताको बारेमा पनि सोच्न थाली। दुई बच्चाको आमा भएर होला शरीर केही मोटो देखिएको थियो, तैपनि स्वस्थ र फूर्तिलो देखिन्छ।
पुनमलाई थाहा थियो सुष्माले एसएलसी मात्र पास गरेकी थिइ। सुष्मा घरगृहस्थीमा अल्झेको थकित महिला होलिन् भनेर पुनमले सोचेकी थिइ तर पूर्ण आत्मविश्वास सुष्मालाई देखिन्।
केही बेरमा विवेक बैठक कोठामा आयो। पुनमको एकदमै नजिक आएर उसले मुस्कुराउँदै भन्यो, 'तिमीलाई अचानक यहाँ देख्दा बडो सुखद आश्चर्य लागिरहेको छ। हिजो फोनमा कुरा हुँदा आउँदैछु भनेर किन जानकारी गराएनौ?'
'मैले भनेको भए मलाई आउन दिन्नथ्यौ?' पुनमले विवेकको हातमा हात राख्दै मुस्कुराई।
'सायद दिँदैन थिएँ होला।'
'त्यही भएर थाहा नदिइ आएको अनि आज स्वास्थ्य कस्तो छ?'
'केही दिनदेखि ज्वरो कम भएको छ तर कमजोरी महशुस गरिरहेको छु।'
'हेर्दा कमजोर पनि देखिन्छौ। अझ केही दिन आरम गर्नू।'
'हैन, पर्सिबाट काममा आउँछु। तिमीसँग धेरै दिन टाढा हुँदा राम्रो लागिराखेको छैन।'
'अलि विस्तारै बोल, तिम्रो श्रीमतीले सुन्लिन्। एउटा कुरा सोधूँ?'
'सोध।'
'के सुष्मालाई हाम्रो प्रेमको बारेमा थाहा छ?'
'हुनसक्छ, तर अहिलेसम्म उसले आफ्नो मुखले केही भनेको छैन' विवेकले लापरबाही साथ कुम हल्लाएर जवाफ दियो।
'उनको व्यवहारले त मलाई यस्तो लाग्यो उनको मनमा मप्रति कुनै गुनासो र रिस छैन।'
'तिमी मेरो परिचित र सहयोगी हौ, त्यही भएर तिमीसँग गलत व्यवहार गर्ने हिम्मत गर्न सक्दिन। तिमी याहाँ सहज तरिकाले हाँस्न बोल्न सक्छौ। सुष्माको विषयमा मनमा कुनै टेन्सन नलेऊ।'
पुनमको गाला मायालु पाराले मुसार्दै विवेक सोफामा बस्यो।
विवेकले अफिसको गतिविधिको बारेमा कुरा गर्न थाल्यो। केही समयपछि सुष्माले कफी सहित खाजा लिएर आइन् र टेबलमा राखेर गइन्। पुनमले सँगै चिया पिउन अनुरोध गरे पनि भान्सामा काम छ भनेर बसिन।
आफ्नो प्रेमी विवेकसँग धेरै समयपछि प्रत्यक्ष कुरा गर्न पाउँदा पुनमले सुष्मालाई बिर्सी। सुष्माले कप प्लेट उठाएर लगिसकेपछि पनि बैठक कोठामा फर्केर आइन।
पुनम र विवेक बीचको प्रेम सम्बन्ध एक वर्षभन्दा बढी भइसकेको थियो। विवेकको व्यक्तित्वसँग पहिलो भेटमानै आकर्षित भएकी थिइन्। समाजको कुनै वास्ता नगरी केही हप्तामानै तनमन विवेकलाई समर्पित गरेकी थिइन्।
उनीहरुबीचको प्रेम सम्बन्धको बारेमा पुनमको आमा बाबुले थाहा पाएपछि पुनमलाई खुब सम्झाए। तर उनको जवाफ यही हुन्थ्यो- 'तपाईहरुले मलाई अब सानो नानी ठानेर सम्झाउन पर्दैन, अब म ३० वर्षको भइसकेँ।'
एक साँझ पुनमले बाबु-आमालाई कडा लवजमा सम्झाइन्।
'मेरो विवाहको पिर नगर्नुस् किनभने उचित समयमा त्यो कर्तव्य निर्वाह गर्न तपाईहरु असफल भइसक्नु भएको छ। अब मेरो सुख-दु:खको चिन्ता म आफै गर्छु।'
पुनमको यसप्रकारको प्रतिक्रियाको अगाडि मौन रहनु सिवाय अरु केही गर्न सकेनन्। उमेर बढ्दै जाँदा मनखाने जोडी नपाएपछि पुनमले जिन्दगीभर अविवाहित रहने संकल्प समेत गरेकी थिइन्। तर एक्लो जीवन बिताउन सजिलो थिएन।
घर-परिवारदेखि टाढा, सुन्दर र आकर्षक व्यक्तित्वको धनी विवेकको अगाडि एकदिन पुनमले आत्म-समर्पण गर्नु पर्र्यो। यस प्रेम सम्बन्धले पुनमको निरस जीवनमा खुसी, सन्तोष र नयाँ उर्जा भरीएको थियो।
पुनमको मनमष्तिष्कमा विवेकसँग नै जीवन बिताउने चाहनाले जरो गाड्न थाल्यो।
'म तिमीसँग तिम्रो प्रेमिका वा साथीको रुपमा रहन तयार छु, तर बिहे गरेर सँगै जीवन बिताउनुको मजा बेग्लै हुन्छ। यसमा तिम्रो विचार के छ विवेक?' लगभग एकमहिना अघि पुनमले विवेकको फ्ल्याटमा बेड टि पस्कदै यो प्रश्न गरेकी थिइन्।
'तिमी तयार छौ भने तिमीसँग आजै दोश्रो बिहे गर्न म तयार छु' विवेकले ठट्टा गर्दै जवाफ दिएको थियो त्यस दिन।
'त्यसो गर्नु त आफूले आफैलाई धोका दिनु जस्तो हुन्छ नि विवेक' पुनम गम्भीर भएकी थिई।
'यदि तिमी यस्तो सोच्छौ भने किन बिहेको कुरा गर्दैछौ त?'
'आफ्नो मनको कुरा तिमीलाई नभने कसलाई सुनाउँ त!'
'त्यो ठिक छ तर बिहेको अर्को विकल्प पनि छैन नि।'
'तिमीले मलाई मन भित्रैबाट माया त गर्छौ नि?'
'अवश्य' भन्दै विवेकले पुनमको ओठमा चुम्बन दिएको थियो।
'तिमीले सधैँ भन्थ्यौ, तिम्रो मन तिम्रो श्रीमतीले भन्दा पनि मैले जितेकी छु। यो सत्य हो र?'
'हो... सुष्मा मेरो दुई बच्चाको आमा हो। ऊ सोझी आइमाई, मैले चाहे जस्तो आकर्षक पनि छैन। आमा-बाबुको इच्छा अनुसार मैले बिहे गर्न हुँदैन थ्यो। तर पनि अहिले म आफ्नो कर्तव्य ठानेर सुष्मासँग जोडिएको छु। विवेकले गम्भीर भएर आफ्नो मनको कुरा पुनमलाई सुनायो।
'के तिमीले हाम्रो खुसीको लागि सुष्मालाई सम्बन्ध बिच्छेद गर्न सक्दैनौ?' पुनमले भावुक हुँदै आफ्नो इच्छा व्यक्त गरिन्।
'सक्दिनँ, यस सम्बन्धमा तिमीले मलाई कहिल्यै दबाब नदिनू। सुष्माले मलाई छोड्ने निर्णय गरिन् भने बेग्लै कुरा हो। ऊसँग सम्बन्ध बिच्छेद गर्ने कुरा गरेर म आफ्नै नजरमा आफूलाई दोषी ठान्नेछु किनभने ऊ मप्रति पूर्णरुपमा समर्पित छे। उसलाई कुनै गल्ती बिना सम्बन्ध बिच्छेदको पीडा दिनु अन्याय हुन्छ।'
विवेकको कठोर जवाफको सम्बन्धमा पुनमले केही बोल्न सकिन।
त्यही दिन पुनमले सुष्मासँग भेट्ने निर्णय गरेकी थिइन्। यस्तो किन गर्न चाहेकी हो ऊ आफैलाई थाहा थिएन। तापनि सुष्माको बारेमा जान्न इच्छुक थिइन्। मनको कुनै कुनामा एउटा झिनो आशा थियो, सुष्मासँग भेट गरेपछि विवेक र सुष्मा बीचको मतभिन्नता के रहेछ भन्ने जान्न चाहन्थी।
भेटपछि तिनलाई सुष्मा एकदमै सोझी र सामान्य महिला रहिछन् भन्ने अनुभूति भयो। सुष्माले पुनमलाई खुला हृदयले स्वागत गरेकी थिइन्। जसले गर्दा पुनमले सुष्माको विरुद्धमा आफ्नो मनमा नकारात्मक भावना बनाउन गाह्रो भयो।
सुष्माप्रति गरिने विवेकको व्यवहार पुनमलाई अचम्म लाग्यो। यदि पुनमले विवेकलाई प्रेम नगरेकी भए, विवेकले पत्निप्रति गर्ने गरेको व्यवहारलाई तुच्छ, गलत र अन्यापूर्ण हो भन्ने ठान्थी।
आफ्नै घरमा विवेक पुनमसँग स्वतन्त्र भएर बोलिरहेको थियो। बेलाबेलामा पुनमको हात समातेर रोमान्टिक कुरा गर्न कुनै संकोच मानिरहेको थिएन। पुनमलाई भने कतै सुष्माले देख्ली कि भन्ने डर थियो, विवेकलाई केही मतलब थिएन। एकपटक जब विवेकले नजिकै आएर अँगालोमा बाधेर पुनमको ओठमा चुम्बन दिँदा भने पुनम आत्तिइन्।
'यो के गरेको विवेक? सुष्माले हामीलाई यो अवस्थामा देखिन् भने, तिमीलाई केही नभए पनि मलाई त लाजमर्नु हुन्छ नि!' वास्तवमा पुनम आत्तिएकी थिइन् र रिसाइन् पनि।
'रिल्याक्स पुनम' विवेक लापरबाहीपूर्ण तरिकाले मुस्कुराए 'मैले तिमीलाई चोखो माया गरेको छु। तिमी मेरो लागि बासनापूर्ति गर्ने साधन होइनौ। जुन सुख सुष्मासँग कहिल्यै प्राप्त भएन, त्यो खुसी मैले तिमीसँग भेट भएपछि पाएको छु।'
'तर यहाँ... सुष्माको उपस्थितिमा... घरमा तिमीले मलाई यस प्रकारले माया गरेको बिल्कुलै राम्रो लागिराखेको छैन।'
'अब त्यस्तो केही गर्दिनँ, तर तिमीले एउटा कुरा ख्याल राख्नू।'
'के कुरा?'
'सुष्मासँग नडराऊ। यदि उसले केही भनी, गरी भने म तिमीलाई साथ दिनेछु र उसलाई छाडिदिनेछु' विवेकले भावुक भएर भनेको शब्दहरु सुन्दा पुनमलाई राम्रो लागे पनि मन कता-कता उकुसमुकुस भएर आयो।
एकाएक पुनमलाई सुष्मासँग भलाकुसारी गर्न इच्छा जाग्यो। सुष्माको व्यक्तित्व, क्षमता, कमजोरीहरुको बारेमा जानकारी लिन चाहन्थी। त्यसपछि मात्र के गर्ने भन्ने निर्णय लिन चाहन्थी पुनम।
विवेकले आफ्नो चाहाना पूरा हुन लागेको महशुस गर्यो। विवेक त्याहाँबाट उठेर कतै जान चाहँदैनथ्यो। आफूहरु बीचको वार्तालापमा सुष्मालाई समावेश गर्न चाहँदैनथ्यो। सुष्मा खाना बनाउनमा व्यस्त थिइन्।
पुनमको अन्तरमनले भनिरहेको थियो, सुष्माले आफूलाई जानी जानी व्यस्त भएको देखाएर उनीहरुबाट टाढै रहन चाहन्थी। सुष्माले उनीहरुसँग बसेर खाना पनि खाइन। पुनमले सँगै बस्न अनुरोध पनि गरेकी हो तर ऊ सँगै खान बसिन।
'सुष्माले सधैँ मलाई खुवाएर मात्र खाना खान्छिन्, तिमी खाऊ उसले पछि खाइहाल्छिन्' विवेकले लापरबाहीपूर्वक भन्यो र बडो उत्साहपूर्वक पुनमको प्लेटमा खानेकुराहरु पस्किन थाल्यो। पुनमले सर्सर्ति हेरी, सबै खाने कुरा विवेकको चाहना अनुसार बनेको थियो।
'खाना कस्तो छ?' सुष्माको उपस्थितिमै विवेकले पुनमलाई सोध्यो।
'असाध्यै राम्रो' पुनमले उत्साहित हुँदै बोलिन्।
'वास्तवमा सुष्माले साह्रै मिठो खाना बनाउँछे। त्यसैले त मेरो वेट घट्दै घट्दैन।'
पुनमले देखी, विवेकको मुखारबिन्दुबाट आफ्नो प्रशंसा सुन्न पाउँदा सुष्माको अनुहार उज्यालो र हँसिलो देखिएको थियो। विवेकले सुष्माको अनुहार तिर हेरेको पनि थिएन, तर सुष्माको हेराइमा विवेकप्रति प्रेमपूर्ण समर्पण थियो।
सुष्माले विवेकलाई हृदयदेखि नै स्वीकार गरेकी छे। उसले विवेकसँग सम्बन्ध विच्छेद गर्ने कहिल्यै कल्पना पनि गर्न सक्दिनँ। पुनमको मनमा कुराहरु खेल्न थाले।
खाना खाएपछि विवेक बैठक कोठाको लोबेडमा पल्टियो। केही बेर पुनमसँग कुरा गर्दा गर्दै विवेक निदायो। पुनम त्यहाँबाट उठेर सुष्मासँग कुरा गर्न भान्सामा गइन्। सुष्माले दुई वटा प्लेटमा खाना पस्केको देखेर पुनमले सोधी 'तिमी बाहेक अरु कसले खाना खाना बाँकी छ र?'
'यो अर्को प्लेटको खाना मेरो साथी निर्मलाको लागि हो' सुष्माले झ्याल तर्फ औंलाले देखाउँदै साथीको घर देखाई।
'ऊ यही आउछे?'
'आउदिनँ, मेरो ठूलो छोरा सन्तोषले उसको घरमा पुर्याइदिन्छ।'
'तिम्रो दुवै छोराहरुलाई त मैले भेटेको पनि छैन। कता छन् तिनीहरु?'
'सानो छोरालाई रुघा-खोकी र ज्वरो आएको छ। भित्र कोठामा सुतिराखेको छ। ठूलो छोरालाई बोलाउछु। ऊ बिहानैदेखि निर्मालाको घरमा गएको छ।'
सुष्माले पछाडिको ढोका खोलिन् र छोरालाई बोलाइन्। केही क्षणपछि सन्तोष निर्मलाको घरबाट दौडिँदै आयो। आमाको आदेश मान्दै सन्तोषले पुनमलाई नमस्ते गर्यो। सन्तोषले निर्मलाको लागि पस्किएको खाना जतनका साथ समातेर निर्मलाको घर तर्फ फर्किहाल्यो।
'प्यारो छोरा रहेछ' पुनमले सन्तोषको प्रशंसा गरी।
'निर्मलाले पनि सन्तोषलाई आफ्नो प्राणभन्दा पनि बढी माया गर्छे, आमाले जस्तै। सन्तोषले दुई वटा आमाको माया पाइराखेको छ' सुष्माले पुनमको आँखामा हेर्दै गम्भीर भएर भनिन्।
घर पछाडिको बरण्डामा तीन/चार वटा बेतका कुर्सीहरु राखिएका थिए। उनीहरु दुवैजना त्यही गएर बसे। सुष्माले विस्तारै खाना खान थालिन्।
'निर्मलाको आफ्नो छोरा छोरी छैन र?' पुनमले कुराकानीलाई अगाडि बढाई।
'उसले विवाह नै गरेकी छैन, तिमीले जस्तै अविवाहित बस्ने अठोट लिएकी छ। हरेक महिलाको मनमा मातृत्व लुकेको हुन्छ। निर्मलाले आफ्नो मातृत्व सन्तोषलाई दिएकी छिन' सुष्माले मुस्कुराउँदै भनी।
केही क्षणको मौनतापछि पुनम बोली 'हो, कुनै बेला मैले पनि बिहे नगर्ने संकल्प गरेको थिएँ। तर अबको बाँकी जीवन कसैसँग बिताउन चाहन्छु। यसै सिलसिलामा तिमीसँग केही कुरा गर्न आएको छु' पुनमले हिम्मत गरेर वाक्य पूरा गरी।
'मैले पनि निर्मलालाई बिहे गर भनेर धेरै पटक भनेको छु, तर उसले कुरै सुन्न चाहन्न। उसले भन्छे 'बिहे नगरी नै सन्तोष जस्तो छोरो पाएको छु भने किन अपरिचितसँग बिहे गरेर आफ्नो स्वतन्त्रता गुमाउनू?'
मेरो सन्तोष उसको बुढेसकालको सहारा बन्नेछ भनेर दृढ विश्वास लिएकी छ।'
पुनमको भनाइलाई वेवास्ता गर्दै सुष्माले निर्मला र सन्तोषको बारेमा वर्णन गर्न थालिन्।
'विवेकलाई मैले वर्ष दिनदेखि चिन्दछु। उसलाई भेटेपछि नै मैले जीवनमा नयाँ उत्साह प्राप्त गरें' सुष्माले आफ्नो कुरामा चासो नदिएको देखेपछि पुनमले पनि आफ्ना कुराहरु भन्न थालिन्।
'निर्मलाको जीवनमा आएको खुसी मेरो सन्तोषको कारणले आएको हो। उसले हरेक दिन सन्तोषलाई केही न केही उपहार दिएकै हुन्छ।'
'विवेक र मेरो सम्बन्धले एउटा असल मित्रताको सीमा नाघिसकेको छ। उसले मलाई असाध्यै माया गर्छ' पुनमले एक श्वासमा आफ्नो मनको कुरा व्यक्त गरिन्।
पुनमको कुरा सुनेर सुष्माको अनुहारमा केही उदासीपन देखिए पनि मुस्कुराउँदै भनिन् 'मेरो सन्तोषको मन जित्न निर्मलाले अनेक लोभ देखाइरहन्छे। खुब पैसा पनि खर्च गरिरहन्छे। आजकल उसलाई घरको खानेकुरा पनि मनलाग्न छाडेको छ।'
'सन्तोषको कुरा छाडेर किन तिमी मसँग विवेकको कुरा गर्दैनौं?' पुनमले झिजो मान्दै भनिन्।
पुनमको कुममा हात राख्दै सुष्माले आफ्नो भनाइलाई निरन्तरता दिइन् 'निर्मलालाई राम्रो खाना बनाउन पनि आउँदैन।
उसको घरको चुल्होमा आगो नै बल्दैन। यदि सन्तोष उसको छोरो हुँदो हो त घरको जिम्मेवारी इत्यादीसँग पन्छिन सक्थिन् र? आफ्नो छोरालाई आफ्नै हातले खाना बनाएर खुवाउन उसलाई बोझ लागथ्यो र?'
'एउटा आमालाई आफ्नो छोराको इच्छा पूरा गर्नको लागि किन बोझ लाग्ने?'
'हो, जसलाई माया गरिन्छ, उसको खुसी पूरा गर्न कुनै बोझ हुँदैन। निर्मलाले त सन्तोषलाई कानुनी रुपमा छोरो बनाउन चाहन्छे।'
'यस सम्बन्धमा तिम्रो के जवाफ छ त?'
सुष्माले हल्का हाँस्दै भनिन् 'प्रसव पीडाको अनुभव नगरिकन कोही महिला आमा बन्न सक्छ र? घरगृहस्थीको झन्झट, चुनौतीहरुको सामना गर्ने शक्ति, स्वयं अनेक कष्ट सहेर भएपनि आफ्नो बच्चाहरुको सुखसुबिधाको ख्याल गर्ने इच्छा शक्ति एउटा आमा भित्र मात्र हुन्छ। कुनै सानीमा, काकी, आन्टी र अन्य महिलाले भित्री मनबाट गर्न सक्ने कुरा होइन यो।'
'तिमीले भनेको कुरा ठिकै हो। मैले पनि आफ्नो घरगृहस्थी बसाउने...।'
सुष्माले पुनमलाई बोल्न नदिई गम्भीर भएर भनिन् 'मेरो छोरा सन्तोषलाई निर्मलाले जति नै माया गरे पनि सधैं ऊ मेरो छोरा नै रहन्छ। समाजले उसलाई मेरो छोरा भनेर चिन्दछ। निर्मलाले दिएको उपहार, गरेको खर्च, सन्तोषलाई उसको घरमा गइराख्ने चाहानाले ऊ मेरो छोरा होइन भन्ने तथ्यलाई कसैले बदल्न सक्दैन। तिमीलाई एउटा कुरा सोधूँ?'
'सोध....!' पुनम एक्कासी गम्भीर हुन पुगिन्। सुष्माले छोराहरुको कुराको माध्यमबाट उसलाई केही अरु कुरा भन्न खोजिरहेको छ भन्ने महशुस भयो।
'मानौं बाध्य भएर मैले मेरा छोराहरु निर्मलालाई दिन सहमत हुँला तर के ऊ साँच्चीकै मेरा छोराहरुको आमा बन्न सक्छे त? सन्तोषलाई जन्म दिँदाको आनन्द उसले कसरी महशुस गर्छे? उसलाई हुर्काउँदाको यो आठ वर्षको पीडा र खुसी उसले कसरी अनुभव गर्न सक्छे? के मलाई रुवाएर ऊ हाँसेर बस्न सक्छे?' सुष्माको आँखाबाट अचानक आँसु टलपलाए।
पुनमले लामो सास फेर्दै भनिन् 'निर्मलाले तिम्रो मन नदुखाइ सन्तोषलाई पाउन सक्दिन। तिम्रो साथी भए पनि उसले सन्तोषलाई पाउने चाहना त्याग्नै पर्छ। मैले पनि तिमीलाई भेट्न आउन हुँदैन थ्यो। तिम्रा कुराहरु सुनेर मेरो मन झन् असन्तोषले उथलपुथल हुन पुगेको छ।'
सुष्माले पुनमको हातमा आफ्नो हात राख्दै भनिन् 'पुनम, म तिमीलाई आफ्नो सानी बहिनी ठानेर मनको कुरा भन्न चाहन्छु। मलाई मेरो बच्चा, लोग्ने र घरगृहस्थीभन्दा बढी माया अरु केही कुराको लाग्दैन। विवेकलाई छोड्ने कुरा मैले कल्पना पनि गर्न सक्दिनँ।'
केही रोकिँदै 'विवेकले मलाईभन्दा तिमीलाई बढी चाहन्छ, जुन कुरो मेरो लागि ठिक होइन तापनि उनको हरेक सुखसुबिधाको म खुसी खुसी ख्याल राख्दछु। आफ्ना छोराहरुलाई आफ्नो ज्यानभन्दा पनि बढी माया गर्नुहुन्छ। छोराहरुकै कारणले उहाँ सधैं यस घरसँग जोडिनु भएको छ। यही कुराले मेरो मनले सन्तोष र सुरक्षित भएको महशुस गर्छ।'
'तिमी जति सोझो देखिन्छ्यौ त्यति छैनौ। तिमीसँग अब म धेरै बस्न सक्दिनँ' पुनम अचानक उठी।
सुष्माले उदास स्वरमा भनी 'यदि तिमीले मेरो कुराहरु बुझ्ने प्रयास गर्यौ भने, मप्रति सहानुभूति जाग्ने छ। दया लाग्ने छ। मायाको बदलामा माया नपाउँदाको पीडा जति कोसिस गर्दा पनि भुल्न सक्दिनँ।
विवेक र सन्तोषमा एउटा कुरामा समानता छ। आफ्ना खुसीका लागि मेरो लोग्ने तिमीसँग र छोरो निर्मलासँग जोडिएका छन। तर यस घरसँग सम्बन्ध विच्छेद गर्ने सोचाइ दुवैलाई छैन।
निर्मलाले सन्तोषका लागि किनिदिने बजारको खानेकुरा स्वस्थकर छैन भन्ने कुरा थाहा हुँदा हुँदै पनि छोरोको खुसीको लागि म चुप छु। विवेक र तिम्रो सम्बन्धको बारेमा पनि मैले कहिल्यै गुनासो गर्ने छैन। मेरो छोरा वा मेरो लोग्नेसँगको सम्बन्ध मेरो मृत्युपछि मात्र सम्भव छ।
म त जसरी पनि यिनीहरुसँग सन्तुष्ट हुन सक्छु, तर निर्मला वा तिमी यिनीहरुसँग भावानात्मक रुपमा जोडिएर के पाउछौ? यदि तिमीहरुलाई जीवनसाथी र छोरा चाहिएको हो भने किन नयाँ जीवनको सुरुआत गर्दैनौ? जति नै मिठो भएपनि अरुको जुठो किन खान्छौ?'
केही क्षण मूर्तिवत उभिएकी पुनमले सुष्माको आँखामा आँसु बगिरहेको हेरिरहेकी थिई। अगाडि बढेर सुष्मालाई अंगालो हाली। मुखबाट 'थ्यांक यू' शब्द निस्कियो। अगाडि अरु केही नबोली पुनम बैठक कोठा तिर लागी।
बैठक कोठामा विवेक अझै मस्त निन्द्रामा थियो। पुनमले आफ्नो पर्स टेबलबाट उठाइ र विवेकलाई केही नभनी घरबाट बाहिर निस्की। विवेकसँग सधैंको लागि आफ्नो प्रेम सम्बन्ध समाप्त गर्ने अठोट पल पल कठोर बनाउँदै लगी।