महाराज, म हारिसकें
भोको पेट र
अक्सिजन घटेको रगत लिएर,
म कति बाँचुँ महाराज?
पसल बन्द छ, अस्पताल ठप्प छ
घाटहरू व्यस्त छन्
मानिसको मासु पोलिएको कालो विषाक्त धुवाँमा
सास कति फेरुँ महाराज, म हारिसकें।
जीवनमा केही रहेन, महाराज
अब खाली हाम फाल्न दिनोस्,
तपाईंका झलमल्ल भ्युटावरबाट
सके पुगिएला स्वर्गै, योभन्दा नर्क त कहाँ होला र महाराज।
दशौं तलामा देखिएलान् समृद्ध नेपालका झाँकीहरू
औषधि मूलोदेखि सिंगो जहाज र विमानस्थलसम्म पचाएपछि
जल, जमिनदेखि वायुसम्म हजम गरेपछि
के समृद्धिले बास गर्दैन होला र महाराज?
नवौं तलामा देखिएलान्
राम, सीता र हनुमानका भव्य कलात्मक मुर्तिहरू
नदेखिने त रातारात बस्ती जलाइएका चेपाङका अनुहारहरू हैनन् र महाराज?
भोका, नांगा, शुष्क र असहाय।
आठौं तलामा चलिरहेको होला
शकुनी पासा सत्ताको
श्री ५ को सरकारका तीन तह त्यसैका लागि बनेका हैनन् र?
अनि भ्युटावरको छेवैमा
भव्य रंगशालामा हेर्दै होलान्
५० हजार मानिसले
राजनीतिको मैदानमा
महाराजहरूले रैतीका टाउकाको फुटबल खेलेको
गुन्जिंदै होला: 'महाराजको जय होस्'
अक्सिजन, औषधि र अस्पतालको पैसा काटेर
महाराजको गाउँमा
२५ अर्बमा बनेको दम्भको रंगशालामा
कुन नाथे खेल्ला र रबरको फुटबल महाराज?
छैठौं, पाँचौं, चौथो, तेस्रो, दोस्रो, पहिलो तला
अनि मार्बलको भुइँमा ‘पच्याक्क’
क्षमा पाऊँ महाराज
हिमाल छेडेर आउने चुच्चे रेलझैं बतासियो मेरो टाउको
समृद्धि भ्युटावरको छ तलासम्म के थियो,
मैले ठम्याउनै सकिनँ महाराज
खाली सुनें आर्तनादहरू
अक्सिजन छैन, बेड छैन, औषधि छैन, खानेकुरा छैन
अनि महाराजको बफादार रैती हुनुको नाताले
सबैलाई जवाफ दिएँ:
‘भ्युटावर छ त!’
त्यसमा चढेर मझैं मुक्तिको छलाङ लगाउन
तपाईंहरूलाई केले रोकेको छ?