चरा झैं आकाशमा उड्न सक्ने
उफ्रिएरै पहाड चड्न सक्ने
नदीहरु फड्किएरै तर्न सक्ने
सपना जस्तै पातला मान्छेहरु
सपनाका जस्तै हलुका मान्छेहरु
अहिले
बाक्ला हुस्सु जस्तै सिद्धान्त ओडेका छन्
विचारका दम्भले पुरिएका छन्
भारी भएका छन्
धुमिल भएका छन्
जसरी
ऐना धुलोले ढाकेको छ
आकृति देखिदैन
वा
बादलले आकाश ढाकेको छ
आकाश निलो छैन।
यी सपना जस्तै पातला मान्छेहरुलाई
आफूभन्दा गह्रुंगो सिद्धान्तको भारीले
थिलथिलाएको छ
थकाइ भन्न पाउनु छैन
बिमार भन्न पाउनु छैन
बुढ्यौली भन्न पाउनु छैन
कहिले उत्तरका भारी
कहिले दक्षिणका भारी
कहिले पूर्वका भारी
कहिले पश्चिमका भारी
कहिले धर्मका भारी
कहिले अधर्मका भारी
नुन र सुनका भारी त कति कति
कठै,
यी सिद्धान्तका भारी बोक्ने भरियाहरु
र
ती लेकका भारी बोक्ने खच्चरहरु।
भारी कस्को होला?
के होला?
किन बोक्या होला?
किन बोक्नु पर्ने होला?
भारी कहाँ लाने होला?
कहिल्यै प्रश्न सोध्दैनन्
अरुलाई पनि सोध्दैनन्
आफुलाई पनि सोध्दैनन्,
उनीहरु बोक्छन् मात्र
बोकिरहन्छन्
खच्चरहरु- खानाको लागि
पातला मान्छेहरु- भोग र मोहमा
खच्चरहरु-निष्काम भुँडीपूजक
पातला मान्छेहरु-सकाम भोगी ढोंगीहरु
तर कर्म एउटै
भरिया
दुवे आफूलाई बिर्सेर भारी बोक्छन्
कहिले होसमा कहिले बेहोसमा।
यी पातला मान्छेहरु
कछुवाको खबटाभन्दा बाक्ला
अहंकारका कपडा लगाउँछन,
सौर्यमन्डलको सूर्य जत्तिकै
आत्माकेन्दृत विचार बाँड्छन्,
लाचारीका दिव्यरसहरु
महादेवले कालकुट झैँ पिउँछन,
घमण्डको महेन्द्र गुफामा
कुम्भकर्ण झैँ निदाउँछन्,
गोहीका जस्तै दाँत
भालुका जस्तै नङ्ग्रा
सधैं अरु तिर तेर्साउँछन्
खै,
सिद्धान्तले थिचिएकाहरु
जिउँदै मरेझैँ अचेत हुँदा रहेछन्
सायद,
भारीले छालामात्र मरेनन्
मन, वचन, कर्म र आत्मा पनि मरे होलान्
चेतना, मानवता र समवेदना पनि मरे होलान्
मरेतुल्य लाग्छन् अचेल
भाइचारा पत्रैपत्रले लपेटिएको छ
सपना जस्तै पातला मान्छेहरु
सपनाका जस्तै हलुका मान्छेहरु।