सूर्योदय
उहीँ हो- उस्तै छ
सूर्यास्त
उहीँ हो- अझ उस्तै छ
तर
अनायास
आज मान्छेहरू मरे
नमर्ने मरे
अदृश्य भाइरसले मरे
साइरन बजेनन्
गोली पड्केनन्
बम बिस्फोटित भएनन् कतै
आवाज सुनिएन कहीँ पनि
तर पनि मरे
मर्नै नपर्ने मरे।
सूर्योदय
उहीँ हो- उस्तै छ
सूर्यास्त
उहीँ हो- अझ उस्तै छ
तर
आज अचानक
अदृश्य शत्रु आयो
एक टिप्यो
दुई... तीन... टिपिँदै गए
अहिले त सबै सन्नटा नै छायो।
बत्ती बालेर पनि आएन
साइरन बजाउँदै पनि आएन
राडार घुमेको पनि
अहँ, थाहा छैन कसैलाई
तैपनि
मान्छेहरू मरे
नमर्ने मरे
भाइरस हो
अहिले बाहिर सुनसान छ
वातावरण निस्तब्ध!
अर्को देख्ने त कुरै छाडौँ
आफूले आफैलाई
देखिन्न,देख्न सकिन्न
छुन सकिन्न
छाम्न सकिन्न
कारण
मन, मृत्यु छल्न खोज्दैछ
जमिन
उहीँ हो- उस्तै छ
ज्यामिति
उहीँ हो- अझ उस्तै छ
फरक छैन जियोग्राफी
कहाँ बदलिन्छ सृष्टिको
प्रयोगशाला छैनन्- विज्ञानसँग
ज्ञानसँग
रेखा बदल्न ज्यमितीय
जियोग्राफी बदल्न सृष्टि
तैपनि
आज
मन्छे मरेका छन् मध्यरातमा
मान्छे
उहीँ हो
आवाज तिनै हुन्
अन्धकार
उहीँ हो- उस्तै छ
आकाशमा
उडेका छैनन्
हुरीक्यानहरू
घुमेका छैनन्
फोक्करहरू
डुलेका छैनन्, देखिन्नन् कतै
चिताका पखेटाहरू
छैनन् तयारीमा
र्याफल, ग्रुमनहरू
तैपनि
आज मान्छे मरेका छन्
एकडङ्गुर मध्यरातमा
मर्नै पर्नेहरू
मरेका छैनन्
नमर्ने मरेका छन्
अनायास।