उभिन पर्ने ठाउँ यतै हो
र पनि म
कुनै अग्लो पहाड खोज्दैछु
आफू अग्लो भएको घमण्ड गर्न
निदाउनु पर्ने ठाउँ यतै हो
र पनि म
कुनै शान्दार महल खोज्दै छु
आफू मिठो निन्द्रामा रहेको घमण्ड गर्न
खाडल परेर बिग्रेको बाटो यतै छ
र पनि म
रातो कार्पेट बिछ्याएको बाटो खोज्दैछु
आफू सुकिलो भएको घमण्ड गर्न
मलाई यतिसम्म घमण्ड गर्नु छ
नून किनेर खान नसक्ने एक विपन्नको अगाडि
पाँच तारे होटलको मेनुको प्राचार गरिरहेछु
मलाई यतिसम् मघमण्ड गर्नुछ
सिटामोल नपाएर छट्पटाइरहेको बिरामीलाई
मेरो औला मर्किँदा
राष्ट्रिय ध्वजाबाहक प्लेन चार्टर गरेर सिङ्गापुर गएको समाचार
एक साधारण रेडियोको समचारमा सुनाउनु छ
मलाई यतिसम्म घमण्ड छ
म कोरोना रोगीलाई
दिन प्रतिदिन संक्रमित बढेको समचार सुनाउँदै छु
मलाई यतिसम्म घमण्ड छ
म रोगीको उपचार गर्न असमर्थ भएको विज्ञप्ति निकाल्दै छु
मलाई यतिसम्म घमण्ड छ
म अस्पतालमा बेड नभएको
सिलिण्डरमा अक्सिजन नभएको
विज्ञप्ति निकाल्दैछु
मलाई घमण्ड छ
म सरकार हुँ
मलाई घमण्ड छ, म व्यापार हुँ।