तिमी कसैको निम्ति अमरापुरी थियौ
कसैको निम्ति नेपाल थियौ
कसैको निम्ति काठमान्डौँ
अनि मेरो निम्ति, प्यारो क्याटम्यान्डु!
एक अंगालो सपनीका भारीहरू बोकेर
बसाइ सर्नेहरू जसरी सरिरहेँ
आना-आनाका किल्लाहरूलाई
तिम्रेा मुटुमा ठोकेर
त्यसपछि हेर्दा हेर्दै हराए फाँटहरू
अनि हरायो मेरो प्यारो अमरापुरी
हेर्दा हेर्दै हराए खर्पनहरू
अनि हेर्दा हेर्दै हराए
चोक अनि गल्लीका ती सभ्यताहरू
तिमी आना-आनामा बाडिएपछि
फेरि त्यसैगरी झुलेनन् धानका बालाहरू
जात्रै जात्रालाई
काँधमा जुरूक्क बोकेर
हाकुपटासीमा मुसुक्क मुस्कुराउँदै हिँडेकी
एउटा कुमारीको सुन्दर मुस्कान
ऐलाको त्यो माधुर्यताले लठ्ठिएका
पुलु किसिको नाच
धाः र भुस्याःको तालमा
नाचिरहेका लाखेहरू
क्याटम्यान्डु बनेर तिमीले
सबैलाई आफ्नो मुटु भित्र अटायौ
तर बसाइ सरेर गुँड लाउनेहरूले
लुछिरहे तिम्रा ती कलिला मुटुहरूलाई।
ओ मेरो अमरापुरी कान्तिपुरी!
आजकाल बस्दैनन् टौवामा
केही पल सुस्ताएर बटुवाका पाइलाहरू
तिमी क्याटम्यान्डु बनेदेखि
हतारमा छन् सबै सबै
फुर्सद पो कस्लाई छ र यहाँ
देश्या मरू झ्याःबाट चिह्याएर
बागमती र विष्णुमतीसँगै निस्सासिएको
टौदहका ती माछीहरूलाई नियाल्न
ओ क्याटम्यान्डु!
अब त ब्युँझ न निन्द्राबाट
भन न विस्तारै विस्तार कस्ले निल्दैछ
तिम्रा सभ्यताका ती मुहानहरूलाई।