जब मेरा कपाल सेतै फुलिसकेका हुनेछन्
मेरा आँखामा बाक्लो चस्मा झुन्डिएका हुनेछन्
म कुप्रिएर लडखडाउँदै हिँडिरहेको हुनेछु
मेरी नातिनीले मलाई सोध्नेछिन्
हजुरबुबा, तपाईंको पुस्ताले यो देशलाई के दियो?
म मुस्कुराउँदै भन्नेछु
तिमी आफूलाई सुरक्षित महशुस गर्छौँ, होइन?
राज्यका हरेक सेवामा
तिम्रो समान अवसर र पहुँच छ, होइन?
तिमी यो देशमा सुखी र खुसी छौ, होइन?
हो, हाम्रो पुस्ताले तिमीलाई त्यही दियो।
नजिकै बगैँचाबाट कान ठाडो पार्दै
मेरो नातिले भन्नेछ
हजुरबुबा, के भन्नु भयो रे?
म छाती फुलाएर व्याख्या गर्नेछु
तिमीले पढ्दै गरेको जनकपुरको
उत्कृष्ट इन्जिनियरीङ कलेज
जुम्लाको एसियाकै उत्कृष्ट मेडिकल कलेज
सबै हाम्रै कारण सम्भव भएको त होनि।
म नाति-नातिनी लिएर घरको कौसीमा निक्लने छु
लठी तेर्सो पार्दै नजिकैको हरियो पार्क देखाउने छु
र, भन्नेछु
देश हरियालीले पूर्ण हुनुपर्छ भनेर
हामीले हरेक गाउँ-सहरमा पार्क बनायौँ
जंगल जोगायौँ, वातावरण जोगायौँ, प्रदुषण घटायौँ
गाउँ, सहर, बजार स्वच्छ बनायौँ
नत्र यो सहरको हावा कहाँ यस्तो थियो र!
यति भन्दै गर्दा
मेरा नाति-नातिनाले एकैचोटी प्रश्न गर्नेछन्
तपाईंहरुले अरु के गर्नु भयो?
म कतिपनि नलरबराइकन भन्नेछु
हामीले भ्रष्टाचारीहरुलाई जेल पठायौँ
देशलाई एसियाकै कम भ्रष्ट मुलुक बनायौँ
सरकारी तलब खाएर राजनीतिक पसल थाप्नेहरूको
पसल बन्द गरिदियौँ
शिक्षा-स्वास्थ्य निशुल्क र गुणस्तरीय बनायौँ
सबै पूर्वाधार अन्तर्राष्ट्रिय मापदण्डको हुनै पर्ने नियम बनायौँ
हाम्रा विशिष्ठ सम्पदामाथिको अतिक्रमण रोक्यौँ
धर्म-संस्कृतिमाथिको प्रहार रोक्यौँ
हेर नानी हो
के, के गर्यौँ, के, के गर्यौँ
निर्यात बढायौँ, आयात घटायौँ
नेपाललाई धार्मिक, सांस्कृतिक
ज्ञान, मनरोञ्जन, सहासिक पर्यटनको केन्द्र बनायौँ
जुनसुकै लिन्ङ्ग, धर्म, संस्कृति, जातजातिले
सम्मानका साथ बाच्न सक्ने समाज बनायौँ
काम गर्न नसक्ने, क्षमता कम भएका, असहायहरुलाई
बस्न, खान, लाउन पाउने कल्याणकारी राज्यको स्थापना गर्यौँ
नेपाललाई सबैको नेपाल बनायौँ।
भन्नु पर्ने त अझ धेरै थियो तर यति भन्दै गर्दा
मेरा नाति नातिनाका आँखा आँसुले भरिएका हुनेछन्
र, तिनले भन्नेछन्-
धेरै-धेरै धन्यवाद, थ्यान्क यू ग्राण्ड्पा
वि आर सो प्राउड अफ यू!
र, खुसीले रसाएको आँखा लिँदै म पनि भन्ने छु-
आई एम इक्व्ल्ली प्राउड अफ यू!
नेपालको सधैँ जय होस्!
(नोटः रवीन्द्र मिश्रको कविता 'तपाईंको पुस्ताले यो देशलाई के दियो?' को प्रत्यूत्तर।)