स्मृति दर्शनको भूतकालमा बाँचेको म
वर्तमानमा बाँच्न कस्ले पो सिकायो र?
आफै हुर्किएको दुनियाँ बुझ्न गाह्रो छ मलाई
अर्काको रंगिन कथामा झुम्न कस्ले पो सिकायो र?
स्मृतिको पाना खोल्दा जोसिएर बाँचेको म
हृदयको छाल मेट्न कस्ले पो सिकायो र?
आर्थिक चरित्र बदल्न पलायन भएको म
जीवन बदल्ने सोचको पाठ कस्ले पो सिकायो र?
आफ्नो अपनत्वमा मात्र विश्वास गर्ने मान्छे म
नैतिकता भित्र अनैतिकता हुन्छ भन्ने कस्ले पो सिकायो र?
स्वभिमानको कल्पना र यर्थार्थको विडम्बना बीच बाँचेको म
अन्तरङ पनि जीवन हुन्छ भन्ने कस्ले पो सिकायो र?
मायामा दैनिक पराजित भएको महशुस गर्ने म
प्रेमले मान्छेलाई सिर्जनशील बनाउँछ भन्ने कस्ले पो सिकायो र?
समाजको विचित्र रुप बनाउन सहर पसेको मान्छे म
चहकिलो मस्तिष्कमा नक्कली स्वभिमान भर्नु पर्छ भन्ने कस्ले पो सिकायो र?
कल्पनाको पहेलीमा चाकाचुली खेलेर जवानी बिताएको म
कल्पनामै उडान भर्न कस्ले पो सिकायो र?
बौद्धिक फेसनको बैजनी किरणले घुमिल रंगमा हराएको म
आधुनिक तिर्थ गई रोमाञ्चक हुन कस्ले पो सिकायो र?
थरीथरीका रंगहरुमा आरोप छयाप्नु हुन्न भन्ने म
प्रेममा जवानीको सशक्त उर्जा हुन्छ भन्ने कस्ले पो सिकायो र?
अपरिचितलाई अंगालो हाल्नलाई वैचारिक चस्मा खोज्ने म
आफ्नै धरातलमा टेकेर दुनियाँलाई हेर्नु पर्छ भन्ने कस्ले पो सिकायो र?
स्मृति दर्शनको भूतकालमा बाँचेको म
अर्काको रंगिन कथा हुदै वर्तमानमा बाँच्न कस्ले पो सिकायो र?