कीर्तिपुर केन्द्रीय लाइब्रेरीमा उनलाई पहिलोचोटि देखेको थिएँ। सलक्क परेको लामो अनुहार, ठूला- ठूला आँखा र खुला छाडेको कपालमा कालो चश्मा अडाएकी उनी जिन्स र टिसर्टमा अल्ट्रा मोडर्न देखिन्थिन्।
म एमए थेसिसको लागि रिफरेन्स बटुल्न अंग्रेजीका थुप्रै किताबहरू डेस्कमाथि थुपारेर स्टडी रूममा बसेको थिएँ।
उनी नजिकैबाट हिँड्दा मैले जास्मिन फूलको सुगन्ध सँगै सर्सर हावा चलेको महशुस गरें।
मेरा आँखा किताबबाट त पहिले नै हटिसकेको थियो। अचानक उनको आँखामा निमेसभरको लागि अडिन पुग्यो। एक्कासि सयपत्री फूल फक्रिएझैं उनको अनुहारमा मुस्कान छरियो।
मेरो छातीको धड्कन एक्कासि बाजा बजेझैं बज्न थाल्यो।
त्यसपछि उनी सरासर अगाडि बढिन् र अर्को पट्टिको बेन्चमा केही किताबहरू जम्मा गरेर बसिन्।
एकैछिनमा उनीसँग एक जना अर्को साथी पनि जोडिन पुगिन्। मेरो भने छातीको धड्कन अझै घटेको थिएन।
पाँच वर्ष क्याम्पस र दुई वर्ष युनिभर्सिटी पढुन्जेल थुप्रै केटी साथीहरूसँग सामान्य बोलचाल त भएकै थियो। तर यस्तो महशुस पहिले कहिल्यै गरेको थिइनँ। शान्त लाइब्रेरीमा संगीत गुन्जेजस्तो आभास भैरहेको थियो।
धेरैबेरसम्म रोक्दारोक्दै पनि बेइमान आँखाहरू जुधिरहन्थे। कतै हाम्रो भेट पहिले नै भएको थियो कि भनेर सम्झने कोशिस गरें।
अहँ कुनै क्लु पाउन सकिनँ। मेरो सम्पूर्ण ध्यान पुस्तकहरूमा नभएर तिनै जादुगरी आँखा, पुष्ट छाती र बाक्लो कम्मरमा पुगेको थियो। सायद खुला केस, जिन्स र टिसर्टले गर्दा होला उनको उचाई औसत केटीहरूको भन्दा माथि थियो। मनमनै कल्पना गरें , ‘यत्तिको केटीसँग मायापिरिम गाँस्न पाए जीवन सार्थक हुन्थ्यो होला।'
मनमा यस्तो विचारले हल्का तरङ्ग के ल्याउन मात्र थालेको थियो एकजना मैले चिनेको भाइ उनी बसेकै ठाउँतिर जाँदै गरेको देखें। उसले मलाई देखेन जस्तो लाग्यो। यदि देखेको भए पक्का बोल्ने थियो। हुनत केटाहरू राम्री केटी देखे भने आफ्नै अगाडि उभिएको हात्ती त देख्दैनन रे, म त झन् अलि कुना पट्टि बसेको सानो सानो मान्छे न थिए के देख्थ्यो उसले।
ऊ सरासर अगाडि गएर तिनै केटीहरूसँग हात मिलायो। ऊ पनि अलि मोडर्न टाइपको केटा थियो। केटा र केटी हात मिलाउने चलन खासै चलेको थिएन। म त झन् गाउँको सोझो केटो के को हात मिलाउने आँट गर्नू!
पहिले पहिले त कलेजको गेटमा केटीहरू उभिएको देखे भने एकछिन बाहिरै बसेर अरू केटाहरू आए भने उनीहरूको पछि लागेर भित्र जान्थें। बोल्ने, हात मिलाउने त परको कुरा।
मनमा इर्श्या जाग्यो। 'हैन कतै त्यो केटी उसैको गर्लफ्रेण्ड त होइन?’ फेरि उत्तिखेरै सकारात्मक सोच आयो 'आफ्नै गाँउ ठाउँको चिनेजानेको पनि हुनसक्छ। उसकै दिदीबहिनी पनि हुन सक्छ।’ कहिलेकाहीँ आफैलांई अचम्म लाग्छ कति छिट्टै कति धेरै विचार उत्पादन हुन्छन् यो मस्तिष्कमा ?
यस्तै यस्तै सोच्दा सोच्दै उसले मलाई देखेछ। हाँस्दै हात उठायो। मैले पनि हल्लाएँ हात। उसले मलाई राम्रै इज्जत दिन्थ्यो। हामीबीच दाजुभाइ जस्तै सम्बन्ध थियो बुटवलमा बस्दा।
मभन्दा एक दुई वर्षमात्र कान्छो थियो ऊ। एकैछिनमा ऊ म बसेको बेन्चमा आयो।
‘हैन दाजु अझै थेसिस सक्नुभएको छैन? हजुर अलि दुब्लाउनु भएछ कि क्या हो ?’ उसले मलाई राम्रैसँग नियालेर भन्यो।
उसको ‘दुब्लाउनु भएछ कि क्या हो ?’ भन्ने शब्दले मन खिन्न पार्दियो। खै किन किन कसैले दुब्लाइचस भन्दा मनमा नजानिँदो किसिमले पीर पर्थ्यो।
‘हाँ कहाँ दुब्लाउनु। उस्तै हो। तिम्रो आँखा दुब्लाएको होला’, भन्दै हल्का बनावटी हाँसो हाँसे।
एकैछिन दुवै जनाले टेबुलमाथि बसेका किताबहरूमा आँखा डुलायौ।
‘उनीहरूलाई कसरी चिन्छौ तिमी ?’ मैले सोधिहाले।
उसले केटीहरूतर्फ हेर्दै भन्यो,’ उनीहरू मेरो गाँउका दिदीहरू हुन्। म हिजो बुटवलबाट आएको। भर्ना छुटेछ। त्यो दिदीले स्ववियूको नेतालाई चिनेकी छन् रे। त्यही भएर भेट्न आएको।’
‘चश्मावाली पनि तिम्रो गाउँकै हो?’ एक्कासि फुत्किहाल्यो मुखबाट।
‘हो नि। हजुरलाई मन पर्यो कि क्या हो दाजु ? म कुरा अगाडि बढाइदिऊँ त ?’ उसले हाँस्दै सोध्यो।
मनले त ‘बढाइदे भाइ कुरा अगाडि, परेको म ब्यहोर्छु’ भन्न खोज्दै थियो। तर, दाइजस्तो मान्छे भाइलाई कसरी भनि हाल्नू!
‘कहाँ छ तिम्रो बसाइ ? फुर्सद छ भने हिँड कोठातिर। आज हाम्रोमै बसौं’, मैले पनि कतै उसलाई दुई जनाको बीच पुल बनाउन सकिन्छ कि भनेर मनमनै योजना बुनें।
‘भैहाल्छ नि दाइ। म एकैछिनमा आउँछु है’ भन्दै ऊ केटीहरू भएतिर गयो।
ऊ त्यहाँ पुग्नासाथ चश्मावालीले मलाई पुलुक पुलुक हेर्दै उसँग कुरा गर्दै गरेको देखें। फेरि छातीमा बाजा बज्न सुरू भयो।
‘हैन किन अनायासै धड्कन बढ्छ, कतै पन्चे बाजा बजाउने संकेत त हैन ?’ मनमनै सोचें।
‘पाइन्ट लगाएकीलाई बुहारी बनाएर घर लैजाँदा बुवाआमाले के भन्नु हुन्छ होला ? हैन साडीमा त झन् राम्री पो देखिन्छे होली। कति राम्री केटी बिहे गरेछ भनेर गाउँभरि हल्ला चल्नेछ।’
सोच्दै गर्दा मनमनै हाँसो पनि उठ्यो।
'अझैसम्म राम्रोसँग नजर त जुध्न पाएको छैन। बोलेको पनि छैन। धत् के सोचेको होला’ भन्दै ध्यान एकैछिनको लागि अन्तै मोड्ने कोशिस गरें।
पुन: सलक्क परेको लामो लामो, हल्का गोल्डेन कपाल आँखा अगाडि हावाले सरसर हल्लाए झैं भयो।
‘अब त अति नै भयो। यहाँबाट निस्कनु पर्यो भनेर थेसिस झोलामा हालें।
निस्कनुभन्दा पहिले मैले सुबिनलाई हातको इशाराले बोलाएँ । उ पनि केटीहरूसँग बिदा भएर मतिर आयो।
‘दाइ त्यो दिदीले तपाईंलाई को हो ? भनेर सोध्दै थिइन्। मैले बुटवलको दाइ हो। राम्रो हुनुहुन्छ भनेर भनेको छु। मनपर्यो भने भन्नुस् है’, भन्दै मलाई जिस्काउन थाल्यो।
एकैछिन है भनेर म बाथरूममा छिरें। ऐनामा आफ्नो अनुहार नियालेर हेरें। अलि दुब्लाएको हो कि जस्तो देखें। पानी लगाएर जुल्पी मिलाएँ। मुसुक्क हाँस्दा आफैंलाई ह्यान्डसम देखें। तर आफू अलि केटीजस्तो मोडर्न नभएको जस्तो लाग्यो। कपाल पनि पुरानै स्टाइलमा काटेको थिएँ। मनमनमा सोच्दै निस्कें ‘आजै गएर अलि मोडर्न स्टाइलमा कपाल काट्न लगाउँछु।
सुबिन भाइ सहरको केटा थियो। उसको लगाइ, हेयर स्टाइल पनि मेरो भन्दा फरक थियो। मैले प्राय कपडाको सर्ट र पेन्ट धार निकालेर लगाउँथें। सहरका केटाहरू जिन्स र टिसर्टमा सधैं केटीहरूसँग गफिएका हुन्थे।
मलाई पनि लाग्यो आखिर केटीहरू स्टायालिस केटाहरू मन पराउँछन् भने यस्तो सर्ट पाइन्ट लगाएर प्रेम गर्न खोज्नु के पी बा को बयलगाडा चढेर अमेरिका गएझैं भयो भन्ने लाग्यो।
कोठामा जाँदाजाँदै बाटोमै शैलुनमा पसेर कपाल काट्न भनें। सधैं उसले सोध्दा 'ठिक्क मिलाएर काट' भन्थें। तर आज सुबिन भाइको स्टाइल देखाउँदै ‘त्यस्तै चट्ट मिलाएर काट है’ भनें। सुबिन मेरो पछाडि ऐनामा कपाल मुसार्दै मुसुमुसु हाँस्दै थियो।
कपाल काटिसकेपछि ऐनामा फर्की फर्की हेरें। चिटिक्क सुहाएको जस्तो लाग्यो। दुई रुपैयाँ टिप्स थपेर पैसा दिएँ।
बेलुका सुबिनले भन्यो ‘दाइ त्यो दिदीको परिवारको सबै जनालाई मैले राम्रोसँग चिन्छु। म घरमा गएर बसेको पनि छु। दाइहरूको कलंकीमा बिजनेस छ। आँटे हुन्छ है।’
मैले केही जवाफ फर्काइनँ। बेलुका उसले मलाई मोबाइल नम्बर दियो। नाम पनि उसैले भनेको थियो श्वेता शर्मा हो भनेर। मैले धेरै कुरो सोधिनँ। उसले आफैं बेला बेला भनिरहन्थ्यो। लाग्यो उसले मेरो मनको कुरा बुझिसकेछ।
मसँग भर्खरमात्र नोकियाको मोबाइल थियो दाइले दुबईबाट पठाइदिएको। नयाँ नम्बरमा मिसकल गर्ने चलन अलि बढी नै थियो। मैले उनलाई मिसकल गरें। उताबाट तुरून्त मेसेज आयो ‘ हु इज दिस् ?’
मनमा हलचल पैदा भयो। गरौं कि नगरौं भैराखेको थियो सुबिनले भन्यो’ के को मिसकल गरेको दाइ फोन गर्नुस्। ऊ फ़्रेङ्क छ।’
अरू केटीहरूलाई फोन गर्दा त्यस्तो नर्भस त कहिल्यै हुदैनथें। ब्लफ कल गर्न त पहिलेदेखि नै अलिअलि सिपालु थिएँ । तर किन किन उसको मेसेज आउनासाथ छातीमा भ्यागुतो उफ्रिन लाग्यो। जोडले स्वासभित्र खिचें र बाल्कोनिमा बसेर फोन गरें। तेस्रो घन्टी नसकिँदै ‘हेलो ‘ भन्ने आवाज कानमा संगीतको तरङ्ग झैं गुञ्जियो।
'श्वेता बोल्नु भएको ?’
‘हो अनि तपाईं को होला ? मैले त चिनिनँ नि !’
‘म दीपक हो। सुबिन भाइसँग नम्बर मागेर फोन गरेको। हिजो लाइब्रेरीमा देखेको थिएँ हजुरलाई।'
भन्दै कस्तो अड फिल भयो। 'तपाईं, 'हजुर' के भनेको हुँला भन्दै मनमनै सोचें।
उनले केही नभनी फोन काटिन्। लाग्यो केटी घमण्डी रैछ। उतिबेलै सुबिनको मोबाइलमा घन्टी बज्यो। उसैको फोन थियो। म बाल्कोनीमा बसेर उनीहरूको कुरा सुनें।
‘पहाड घर बाग्लुङ हो। थेसिस लेख्दै हुनुहुन्छ। ह्यान्डसम --- यस्तै के के भन्दै थियो। म कोठामा छिरें। उसले कुरा छोट्यायो।
‘एकैछिनमा मेरो मोबाइलमा फोन आयो। मैले मेरो परिचय दिएँ। उनले भोलि दिउँसो भेटौं न भनेर प्रस्ताव राखिन्। हेर्दा मात्र मोर्डन हैन, मान्छे पनि मोर्डन नै रहेछ भन्ने लाग्यो। त्यो रातभर राम्रोसँग निन्द्रा पनि लागेन। उसको सलक्क परेको लामो अनुहार र टाउकोमा अड्याएको कालो चश्माको झझल्को आइरह्यो। मनमनै सोचें ‘के यही माया हो ?’
अर्को दिन बिहानै उठेर सेभिङ गरें। नुहाएर कोठामा छिर्दा सुबिन अझै मस्त निन्द्रामै थियो। उसलाई उठाएर चिया खायौं। दिउँसो श्वेतासँग भेट्ने कुरो उसलाई पहिले नै थाहा थियो। वास्तवमा भन्ने हो भने यो कुरो उसैले मिलाएको थियो।
‘डेटिङ जाँदा त जिन्स लाउनुस् है।’ भलाद्मी बनेर हैन जाने’, उसले चिया पिउँदै गर्दा भन्यो।
मसँग एउटा पुरानो बेलिबटम स्टाइलको पाइन्ट थियो। उसले 'यस्तो सुहाउँदैन। नयाँ किन्नुस्’ , भनेपछि मैले पनि भाडा बुझाउन राखेको पैसो सिरानीमुनिबाट निकालें र दुबैजना पाङ्गा चोकतिर निस्कियौं। नयाँ भर्खर फेसनमा चलेको प्यारालाल पाइन्ट किनेर फर्क्यौ।
दिउँसो बाह्र बजे हामीसँगै लाइब्रेरीतिर लाग्यौं। लाइब्रेरीमै भेट्ने कुरो भएको थियो। लाइब्रेरी पुगेपछि सुबिन बाहिर क्यान्टिनमा बस्यो। म भित्र छिरें। भित्र छिर्दै गर्दा अलि अलि नर्भस भएको फिल भयो। सरासर हिजो बसेकै ठाँउमा पुगें। उनी किताब पढ्दै थिइन्। तिनै ठूला ठूला आँखा, सलक्क परेको लाम्चो अनुहार, चिटिक्क परेको नाक, अनि कमलको फूलजस्तो मुस्कान।
‘हेल्लो! म दीपक ‘भन्दै मैले हात अघि सारें। उनले पनि ‘हाई म श्वेता’ भन्दै हात अघि सारिन्। सारै कोमल हात। पहिलो पल्ट यसरी केटीसँग हात मिलाइरहेको थिए। मज्जा आयो। एकछिनसम्म दुबैजना चुप भयौं।
‘तपाईं पनि थेसिस लेख्दै हो ?’ मैले आइस ब्रेक गरें।
‘हो, तपाईं पनि हो र ?' उनले सोधिन्। केहीबेरसम्म यिनै पढाइको बारेमा कुरा भयो। कुरा गर्दै जाँदा उनीभन्दा म नै लजाएको जस्तो फिल भयो।
'बाहिर गएर गफ गरौं न। यहाँ अरूलाई डिस्टर्ब होला ‘ भन्दै हामी त्यहाँबाट निस्कियौं। क्यान्टिनमा बसेर एक एक प्लेट चुकौनी र चिया खायौं।
‘फर्कनेबेला उनले आफू बेलुका बानेश्वर जाने कुरा गरिन्। मैले पनि ‘सँगै जाऊँ न। म पनि घट्टेकुलोसम्म पुग्न छ' भनें। जाने काम त थिएन तर उनीसँग अलि समय बिताउन मन थियो। त्यसपछि उनले मलाई होस्टलमा भेटेर सँगै निस्कने प्रस्ताव राखिन्।
ठिक चार बजे म कीर्तिपुरको लेडिज होस्टेलको गेटमा पुगें। हामीलाई भित्र जान दिँदैनथ्यो। एकैछिनमा उनी आइन्। जिन्समाथि कलेजी रंगको टिसर्ट र खैरो रंगको ओभरकोट लगाएर हल्का गोल्डेन कपाल खुला छोडेकी उनी कुनै बलिउड सिनेमाको हिरोइन भन्दा कम देखिएकी थिइनन्।
‘त्यहाँबाट निस्कँदै गर्दा उनले भनिन् ‘धेरैजसो त म ट्याक्सीमा यात्रा गर्छु। बसमा धेरै भीड हुन्छ।’
म भित्रको पुरूष आत्माले भन्यो ‘अब तिर भाइ ट्याक्सीको भाडा। यो खेतीको निको चाल होला जस्तो लागेन। तल गेटमा पुगुन्जेल ट्याक्सी खोज्यौं। एउटा पनि ट्याक्सी पाइएन।
‘अहिले खाली खाली जस्तो पनि छ लाउडा मै जाऊँ गफ गर्दै’, मैले भनें।
नभन्दै त्यति नै बेला लाउडा आयो। एक्काइस नम्बरको बसलाई लाउडा भन्ने चलन थियो।
हामी चढ्यौं र पछाडिको सिटमा गएर बस्यौं। सँगै बस्दा उनको अनुहार नजिकबाट हेरें। मेकअपले छालाको प्राकृतिक रंग ढाकेको जस्तो लाग्यो। परेला पनि मिलाएर काटे झैं देखिन्थे। आँखी भौ मार्करले लाइन कोरे झैं थियो। उनल छरेको परफ्युमले हल्का टाउकोसम्म दुख्न थालेको थियो। त्यसैमाथि कलंकी पुग्दा बसभित्र टेक्ने ठाँउसम्म थिएन।
उनलाई पहिलोपल्ट देखेको त्यो सयपत्री फूलजस्तो मुस्कान ओइलाएकोझैं लाग्न थाल्यो। उनले आफू पहाडमा नगएको, तर घुम्न मन पर्ने, घाँस काट्न हैन, घाँसको भारीसँग फोटो खिचाउन मन पर्ने कुरा सुनाइन्। आफूलाई खाना बनाउन नआउने तर बनाउन चाहिँ मनपर्ने कुरा गरिन्।
‘मलाई आइहाल्छ नि खाना बनाउन इन्डियन, चाइनिज, कन्टिनेन्टल’, मैले ठट्टा गर्दै भनें।
'हाउ स्विट!’ उनले मेरो हातमाथि आफ्नो हातले हल्का स्पर्स गर्दै भनिन्। सायद म पनि त्यही मौकाको पर्खाइमै थिएँ क्यारे मैले आफ्नो हातले उनका औंला खेलाउन थालें।
उनले कुनै प्रतिक्रिया देखाइनन्। त्यतिन्जेलसम्म लाउडा रत्नपार्क टेकिसकेको थियो। मनमनै सोचें बस सिधै जाउलाखेल पुगेर फर्के हुन्थ्यो। सोच्दा सोच्दै बस खाली भैसकेको रहेछ। बसपार्कमा नझरी सुखै भएन।
बसपार्कमा झरिसकेपछि उनी बानेश्वर जाने बस खोज्न थालिन्। म भने पुन: त्यही बसमा फर्कने सुरमा थिए। घट्टेकुलो जाने त केबल बहानामात्र थियो। अबेर भएकोले उनी अलि हतारमा थिइन्। साथीकोमा जाने भनेर पहिले नै भनेकोले मैले को साथी? के साथी? कस्तो साथी? भनेर धेरै सोध्न चाहिनँ। उनलाई बानेश्वरको बस चढाएरमात्र म मेरो बाटो गर्छु भन्ठानेर म पनि उनीसँगै बानेश्वरको बस लाग्ने ठाउँमा उभिएँ। कति छिट्ट हामी बेस्सरी लब परेझैं हातै समातेर उभिने भैसकेका रहेछौं।
एकैछिनमा बानेश्वर जाने बस रोकियो। बसको अघिल्लो ढोकाबाट मेरो साथी अजय ओर्लंदै गरेको देखें।
ऊ बानेश्वरमा डेरा गरेर बस्थ्यो। उसले हामीलाई सँगै उभिएको देखेर हो कि कुन्नि, देखेर पनि नदेखेझैं गरी छेउको पसलको पेटीमा उक्लियो।
श्वेता बसमा चढिन्। मैले हात हल्लाएर 'बाई' गरें। अजय त्यही उभिएको रैछ, म ऊ भएको ठाउँमा गएँ।
‘के हो छुपा रुस्तम? को हो त्यो ?’ उसले कुटिल हाँसो हाँस्दै भन्यो।
‘छोड यार। भर्खर भर्खर लब पर्दैछ। भिलेन बन्न नआइज। ‘
'ल अब ! राम्रै मुर्गा भेटिछ त यो पालि’ उसले अनुहारमा गम्भीर भाब निकाल्दै भन्यो।
‘किन ? तैंले चिन्छस् ?
‘मैले हैन ब्वाज होस्टेलमा बस्ने सबैले चिन्छन्।’
'कसरी ?’
'साँच्चै तेरो लबै परेको हो त ?’ मेरो आँखामा आँखा जुधाएर उसले सोध्यो।
‘हैन यार। आज मात्रै भेटेको’, मैले भनें।
‘प्ले गर्ल हो, प्ले गर्ल। दर्जनभन्दा धेरै केटाहरू फेरी सकी। संजयलाई चिन्छस्, स्ववियूको नेता? अहिले बानेश्वरमा सरेको छ। त्यसैकोमा जान्छे यो। त्यही आगाडिको घरमा बस्छु म। माकसम तेरो टाउकोमा हात राखेर भन्छु यो तेरो ‘टाइप’को केटी हैन।’
ऊ मेरो एउटा मिल्ने साथी थियो। बानेश्वरमा स्कुल पढाउँथ्यो। उतै डेरा गरेर बस्थ्यो। मैले उसले भनेको कुरामा शंका गर्ने ठाउँ देखिनँ।
‘ल यार म जान्छु। एउटा ट्युसन क्लास छ बागबजारमा अलिक ढिलो भैसक्यो। फेरि भेटौंला नि’, भन्दै ऊ बागबजारतिर अगाडि बढ्यो।
एकछिनसम्म म त्यही उभिरहें। ढलको पानी ठुस्स गनायो। एकैछिनमा लाउडा पनि आइपुग्यो। बसको पछिल्लो सिटमा गएर बसें। सधैं बुरुक बुरुक उफ्रिने भ्यागुतो पनि छातीबाट निस्केछ क्यारे मन उदास थियो।
संयोग भनौं या के बसको स्पिकर मेरो सिटको ठिक माथि थियो जहाँबाट नारायण गोपालको गीत बज्दै थियो 'उडायो सपना सारा हुरीले…