बा ! हे मेरा बा !
मेरो माटो र सीमाना बनाइदिने बा !
तिमीले बिछ्याएको देश र उपदेश
या पछ्याएको स्वदेशभरि लमतन्न मोरो !
म निरस, तिम्रो छिनेको डोरो !
म तिम्रो नालायक छोरो !
म समय हाँक्न लायक कसरी हुनु ?
पढ्न सकेँ, सड्न सकिनँ
कसैको बुई चढ्न सकिनँ
कसैका मुट्ठीमा गड्न सकिनँ
टुप्पाबाट बढ्न सकिनँ !
न जानें झेल बेमेल, न बनें कागको बेल
न म स्कुल फेल, न जानु कुनै जेल
धिक्कार भो तिम्रो छोरो !
म स्वाँठ !
हातमा सीप र मगजमा दीप
अनि ढुकढुकीमा मेरा प्रमाणपत्र झैं धिपधिप
मुठी परान बोकिरहेकोछु
बोली छैन, सिर्फ गोर्खा र पुर्खा खोकिरहेछु
सडकछेउ र गेटबाट
ख्वामित स्कुलफेलज्यू,
झेलज्यू र जेलज्यूलाई
दण्डवत सलाम ठोकिरहेको छु
म अधमरो बिचरो !
म तिम्रो नालायक छोरो !
मलाई लायकै ठानेर हो कि
माटोको उम्दा गायक ठानेर हो कि !
मलाई तिमीले आर्जेको नासो छोडेर गयौं,
टुलुटुलु हेरेँ,
आफैंलाई भयङ्कर भयले घेरेँ
समाचार, आकार र ऐनाहरूमा
आफ्नो कायर अनुहार बेस्कन केरेँ
बन खाए पनि, मन खाए पनि
बारम्बार बलात्कारले बहिनी
अनि धनयुद्व र कतारले हजार भाइको तन खाए पनि
मेरो बोली फुटेन
नझुक्न भन्थ्यौ, झुकेर बाचेँ
नलुक्न भन्थ्यौ, लुकेर बाचेँ
तिम्रो अनुहारमा हिलो छ्याप्दा
पराइले आमाको अस्मिताको सप्को च्यात्दा
म चुपचाप ख्वामितका सवारीलाई सलाम ठोकेर बसेँ
जिब्रो टोकेर बसेँ
सर्टिफिकेटको मुठो काखी बोकेर बसेँ
तब त म खसेँ
यति तल, जहाँबाट म तिमीलाई मेरो मुख देखाउन सक्दिनँ
ए बा ! तिमी माथिबाट हेरिरहेका हौला !
एकोहोरो एकोहोरो !
बा ! तिम्रो म अधमरो छोरो !
र पनि म बोल्नेछैन ! अहँ म बोल्नेछैन !
सिएको मुख खोल्ने छैन
मोल छैन मेरो, सस्तै छु, पलपल खस्तैछु,
चोकमा आफ्नै बेकाम प्रमाणपत्र लिलाम गर्न बस्तैछु
म मेरो जुनीको धुनीको खरानी घस्दैछु
बा ! मेरो गरिब परिचयले
‘कमन सेन्स’को गन्जी पोल्न मानेन
मेरो दुस्साहसी लयले
खजानाको खल्ती खोल्न मानेन !
तनका कपडा सब त्यागेर
नाङ्गै मन्चमा बोल्न मानेन
तब त भोकमरीमा छु म
तब त शोकभरिमा छु म
म कहीं निश्वास सत्रहजार छुँदैछु
म कहीं बाकसभित्र बन्द, अरब-कतार रुँदैछु
त्राहिमाम ! थकित सासको सप्को विस्मृत धुँदैछु
या आँफैले पक्रेको अपराधीलाई
आफैंले चढाएको सलामबाट आँफै बलात्कृत हुँदैछु
मलाई नभेटे
भत्केका गल्ली; नखनेका पहाडी बाटा
र खाद्यान्नको लाइनमा खोज्नु !
मेरा लास पनि समाचार हुन्नन्
समाचार बिचरो ख्वामित वरिपरी घुम्छ
कानुनले प्रभुका पाउ चुम्छ
आकाश खसेर के हुन्छ ? खस्छ, रुन्छ
म अर्को पाइला झरिदिन्छु
पंख छैन मेरो, उत्तानो परिदिन्छु
म जिउँदा जिउंदै कतिचोटी मरिदिन्छु
र पनि सलाम ठोक्न उठेको हुन्छु ख्वामितलाई
सडकपेटीको म बिचरो !
धिक्कार ! अधुरो रैती अधमरो !
बा ! म तिम्रो नालायक छोरो !