वान साइड लभ निकै रमाइलो हुन्छ है? न केही गुम्ने डर न केही पाउने आश। आश त पहिला पहिया हुन्छन्। विस्तारै ती आशहरु मर्छ, हैन मारिन्छ।
आफूले आफ्ना भावनालाई, तीनको सम्झनालाई, मनमै कैद गरेर मारिन्छ। आँखा, मन, मस्तिष्कले दिन/रात नभनी केवल उनलाई नैं सम्झी रहन्छन्।
हरेक मन्दिर, मस्जिदमा जाँदा एकथोक नै यो मनले माग्ने गर्छ, केवल उनी। भगवान समक्ष भिख माग्छ यो मनले, माया पाउँ भनि माग राख्छ मनले। एकोहोरो मायाको मात यति लाग्छकी यहाँ रक्सीको मात नै खल्लो हुन्छ।
हरेक रात टुक्रिन्छ यो मन, हरेक रात जल्छ यो मन। आफैले लगाएको मायाको डँढेलोमा। खुसी त विरलै यो मुहारमा बास लिन्छ जहाँको घरधनी नै दुःखी नामको व्यक्तिको नाममा छ।
हुन त जीवनमा सधैँ केही पाउनु नै सफलता होइन। पाउने आश टन्न हुनु तर पाउँदै नपाउनु, यस मिठास नै बेग्लै हुन्छ।
कलेजमा छिटै पुग्दा होस् या फेसबुकमा अनलाइन आउँदा होस्, फर्स्टमै आँखाले उनी नै हो। अझ फेसबुकमा स्टोरी हाल्दा उनले नहेर्यो भने त स्टोरी हालेको अर्थ नै भएन भन्ने विरोधाभाष बेग्लै छ। अनि उनको प्रोफाइलमा स्क्रोल गर्दै गर्दा लास्ट अनलाइन कतिखेर आएको रैछ भन्ने जिज्ञासा बेग्लै छ।
गल्तीले उनको पुराना तस्बिरमा लाइक भयो भने, हतार हतार औँलाहरु डिसलाइक गर्न कुदिहाल्छ। ला गल्ती भयो, उनले देखी कि नाइँ भन्ने प्रश्नहरुले मनमा खेलिरहन्छ।
गल्तीले उसले 'हाइ' भनिभने त 'हेलो सन्चै छौँ' भन्ने जवाफ नफर्काएसम्म त खाकै पच्दैन।
उसको बारेमा ऊभन्दा बढी थाहा भैसक्छ हामीलाई। मानौँ, कुनै परीक्षामा आउने हो भने? नेपाल टप नै गरिन्थ्यो होला।
चित्त त तब दुख्छ जब उसले अर्कैलाई मन पराउँछे भन्ने कुरा थाहा हुन्छ। मित्रता गुम्ने होकि डरले डराई/डराई एक/दुई पटक प्रेमप्रस्ताव राखेको हो है। जवाफ नै 'नो' आएसी के गर्ने? न त माया मागेरै माग्नै मिल्छ न त खोस्नै। त्यसैले मौन बसेर उनको मायामै भुलिरहन्छु।
हुन त कति सम्बन्धहरु छन् यो समाजमा, कतिको त लभ नि पर्छ। तर समयसँगै विस्तारै पातलिँदै जान्छ। तर वान साइड लभ न त पातलिन्छ न त खिइन्छ, यो त समय अनुसार आझ बलियो हुँदै जान्छ।
कसैले त वान साइडबाट बोथ साइड हुँदै प्रगति नि गर्छन्। तर यहाँ कोही कोही भाग्यमानीले मात्र यसको सौभाग्य पाउँछ, जसले वान साइडको सम्झनामा जिउन पाउँछ।
हुन त जो पायो त्यसले वान साइड लभ गर्न नि सक्दैन, यसमा कति तड्पिनु पर्छ। त्यसैले त भन्छन् 'वान साइड लभ अमर हुन्छ' भनेर। न त छुट्ने डर, न त टुट्ने डर।