प्रत्येक आँखा र मनको चाहनामा
नव बधू जस्तो सिँगारिएर
हर-एकको दिलमा खुसियालीका
वसन्तमय आनन्द दिलाएर
काठमाडौँको मुटुमा
मुसुक्क मुस्काएर उभिएको
प्रिय धरहरा तिम्रो पुन: उपस्थितिलाई
डेढ करोड नेपालीको अन्तरहृदयदेखि
मायालु न्यानो स्वागतम्
नेपालको एउटा
कहिल्यै ननासिने इतिहास
हर नेपालीको गौरव गाथा
स्वदेशी होस् या विदेशी पर्यटक
संसारभरिकै आकर्षण केन्द्र
जति जति पटक भुँइचालोले ढलाए पनि
एक-एक नेपालीको सीप र कलाकारिताले
अझ सुन्दर र मनमोहक भएर
उही स्थलमा फेरि पनि उभिएको
प्रिय धरहरा तिम्रो नयाँ स्वरुपलाई
हर्षले विभोर तनमनले स्वागतम्
जसरी पहिल्यै पनि कति तस्बिरहरुमा
कति कोरेका चित्रहरुमा
कुँदेका अनेकौँ मूर्तिहरूमा
पसलमा, घर घरमा, र देश विदेशमा
कोसेली बनेर जहीँ तहीँ सजिने
नेपाल र नेपाली सबैको सम्झनाको चिनो
प्रिय धरहरा तिमीलाई
आज फेरि सबैका हात हातका सेलफोन
घाँटीमा झुण्डिएका साना-ठुला क्यामेरा
तिम्रो पहिलेभन्दा पनि धेरै
थरिथरिको फोटो खिचेर
सुन्दरताको वर्णन गर्न
उत्सुक छन्
हतारमा छन्
त्यस्तो प्रिय धरहरा तिमीलाई
तिम्रो पुनर्जन्मको सुखद घडीमा
मुरी मुरी स्वागतम्।