६२ सालमा कोशी बाँध फुटेर
मधेशबाट लखेटिएको नेपाली नागरिक हुँ म
बाढीले तीन वर्षे छोरोसहित पारिदियो एकै चिहान
राखिदिएन परिवारलाई गाड्ने माटोसम्म
बिना दाहसंस्कार उसै भेलमा
बगाउनु पर्यो परिवारका लासहरू
आफ्नो पहिचान गुमेपछि
अहिले अनागरिक छु हजुर।
म तपाईँको ढोकासम्म आएर
कहिले तरकारी
कहिले फलफूल
कहिले खाली सिसी र पुराना कागजमा
कहिले न्यानो बोकेर
जीवन खोजिरहेछु अस्तित्वको
डेलिभर गरिरहेछु सूचनाको
लिनुहोस् हजुर!
सस्तो छ मिलाएर दिहाल्छु।
हमर असली नाम कथी है?
आब पत्ता नै है अहाँ सबके
अहाँ सबके आद्मिके जिमे लटकल है
बडनिक नाम निक छै
भैया
धोती
मधेशी
इन्डियन... आदि
म प्रत्येक दिन म जस्ताका लागि
अभावमा खोक्रा पेटमा माडको जोहो गर्न
साइकलमा डुलाइरहेछु बजार
तपाईँहरूको सुविधाका लागि।
मैले पसिनासँग सापट मागेको समय
भोग्न पाइनँ कहिले मेरा लागि
आफ्नो सम्पूर्ण समय
यहाँहरूकै वचनमा झर्को नमान्दा पनि
कहिले रुखा र टर्रा बोलीले
हकार्दै र झपार्दै गर्नुहुन्छ गाली
कहिले खोज्नुहुन्छ पिट्न
कहिले मेरो अनुहार भूगोलसँग जोडेर
थर्काउनुहुन्छ मानवता बिर्सेर
पशुवत् व्यवहार।
मानव महाशय!
तराई मधेश अहाँ सबके नइहरू?
हम भैया छियौ
हम धोती छियौ त कथी भेलौ त?
अहाँ सबके और हमर खुनमे फरक है त अहाँ सबके!
पर्दैन सट्टामा केही दिनु
म मभन्दा माथिल्ला जातकासँग
माग्न आएको हैन
भिख बटुल्न आएको हैन
दिन आएको हुँ हजुर!
सहरका दुर्गन्धित गल्ली
गाउँका घुमाउरा गोरेटा छिचोलेर
कहिले थोत्रा वस्तु बटुलेर हिँड्छु
कहिले तपाईँका रछ्यान सफा गर्दै हिँड्छु
कहिले तपाईँका आलिसान महलमा
कराउँदै हिन्छु सुनिने गरी।
सहर तपाईँको हो,
गह्नाउने दुर्गन्धित गल्ली मेरो यात्रा हो
भूगोलसँग मेरो छाला नजोड्नुस् हजुर
तपाईँको देशको नागरिकलाई
नबनाइदिनुस् अनागरिक।
तपाईँहरूकै समय बचाएर
आफ्नो समय-
सदाका लागि विश्राम गरी हिँडेको फकिर हुँ म
आफ्नै पहिचान हराएर
यहाँहरूका जनजिब्रोमा झुन्डिएको
घृणा र तिरस्कार गरिएको
हेपिएको,
दबाइएको,
ठगिएको सुकुम्बासी भैया हुँ म।
तपाईँहरूकै घर आँगन र चोकमा
नापिरहेछु गन्तव्यविहीन
हजारौँ माइलका पाइला
र झारिरहेछु पसिना तपाईँका सहरमा
कहियो अहाँ
भैया, धोती, मधिशे...
पत्ता हरेल् भगेल् हम् के छियै?