तुरूपको एक्का पशुपतिको आर्यघाटमा जलिरहेको थियो। तुरूपलाई जलेको देख्दा लाग्यो जीन्दगी के नै रहेछ, जाबो तासको पत्तासरी त रहेछ नि। अनेक रूप, अनेक नाम, अनेक रंग, अनेक दाउ, अनेक खेल परिस्थितीसँगै खेलिरहने। एकदिन त कसो तुरूपको एक्का नपरोस् भन्दै फिटिरहने समयको हत्केलामा राखी। यही दाउको आशमा फिट्दा फिट्दै कुनबेला पशुपतिको आर्यघाटमा जलिनुपर्छ केही थाहा छैन।
केही दिन अगाडि मात्रै तुरूपको एक्काले सुसाइड गरेको थियो। अब त्यो परिवारमा तुरूपको एक्का कहिल्यै फर्किआउने छैन। तुरूपको एक्काको अवशान भएको छ। तुरूपको एक्का जितेर होइन हारेर गएको छ। उसले जितेको इतिहास रचेको छैन, हरेश खाएर हारेको इतिहास रचेको छ। अब उसलाई सम्झदाँ एउटा हारेको जीवन भनेर सम्झनेछ।
हातमा तुरूपको एक्का पर्दा पनि समात्नेले त्यसलाई समालेर चाल नचल्दा आज सबैभन्दा माथि भएर पनि सबैभन्दा तलको महसुस गरी तुरूपले आत्महत्या गरेको हो। तुरूपको लास नेपाल फर्काइयो। उसको लाससँगै सुसाइड नोटको कागज पनि पठाउने व्यवस्था गरियो ताकि परिवारलाई थाहा होस् वास्तवमा नै जीवनलाई मालामाल गर्न सक्ने तुरूप आफ्नै लापरवाही र घमण्डले कसरी गुम्यो भनेर। तुरूपको अन्तिम इच्छा थियो हजुरआमा जलेको घाटमा आफूलाई पनि जलाईयोस्। त्यही भएर नै उसको लासलाई नेपाल पठाईयो।
ऊ जलिरहेको भिडियो उसको दिदीले मलाई पठाउनुभएको थियो। भिडियो पुरै हेर्न पनि सकिनँ तर उसले लेखेको सुसाईड नोटको एकप्रति मसँग पनि थियो। त्यो चाँहि फेरि पढेँ। उसले आफ्नो हजुरआमालाई सम्बोधन गरेर सुसाईड नोट लेखेको थियो। सुरूवातीमा नै उसले लेखेको छ, ‘हजुरआमा अब मलाई कसैको एक्का बन्नु छैन। धुवाँ भएर आकाशमा उड्नु छ, खरानी भएर माटोमा विलाउँनुछ र हजुरसँग समाहित हुन मनछ।’
प्रिय हजुरआमा,
जीवनमा मलाई अब कसैको एक्का बन्नुछैन। धुवाँ भएर आकाशमा उड्नु छ , खरानी भएर माटोमा विलाउँनुछ र हजुरसँग समाहित हुन मन छ। म आउँदैछु त्यहाँ, कृपया मेरो यो निर्णयलाई स्वीकार्नुहोला।
मैले कहिल्यै सोचेको थिइनँ आज आएर यस्तो निर्णय पनि लिन्छु भनेर। तर मैले निर्णय लिइसकेँ। अब म यो निर्णयबाट पर भाग्दिनँ। केही महिनादेखि मलाई एकदमै छटपटि भएको छ। मन एकदमै अशान्त छ। घुटन हुन्छ। राति सुत्दा बिहान कहिल्यै नभए हुन्थ्यो जस्तो लाग्छ तर ब्यूँझिहाल्छु। जब राति बत्ती निभ्याएर सिरकले मुख छोपेर अन्धकारमा, निस्सासिदै निदाउँछु बल्ल शान्ति पाएको जस्तो हुन्छ अनि हो अब यही शान्ति सदैको लागि पाहोस् भनेर आज म यो कदम लिदैँछु।
मैले यत्ति सानै उमेरमा आफ्नो जीवन खत्तम गर्न खोजेकोमा मलाई माफ गरिदिनुहोला हजुरआमा। सानोमा हजुरले देवीदेवताको कथा भन्दा स्वर्गको बयान गर्नुहुन्थ्यो। मलाई विश्वास छ हजुरले सुनाउनु भएको जस्तै स्वर्ग एकदमै रमाईलो र शान्त छ। अनि हजुरले भन्नुपनि हुन्थ्यो मरेपछि फेरि बालक भएर जन्मछ भनेर। अब म मर्छु हजुरआमा फेरि बालक भएर जन्म न।
म बालक भएर नै स्वर्गमा आउँछु। मलाई त्यसरी नै सुख र मायाले हुर्काउनु होला। हजुर र म स्वर्गमा सुनौलो दिनहरू विताउँला। धर्तीमा मरेपछि स्वर्ग पुगिन्छ तर स्वर्गमा पुगेपछि मर्नुनै पर्दैन अनि हामी कहिल्यै मर्ने छैनौ। सधै सँगैसाथमा रहनेछौ। हजुरआमा हामी सधै बाँचिरहने स्वर्गमा।
आज म मर्ने दिन भएर होला धेरै कुराहरू मानसपटलमा घुमिरहेको छ। धेरै कुराहरू सम्झँदैछु। विगतमा मैले बाँचेको दिनहरू जसरी फर्किल्याउन सकिन आजको दिनपनि मैले कहिल्यै फिर्ता पाउनेछैन। त्यसैले हरेक शब्दमा म डुबेर लेख्न चाहन्छु। मेरो सुसाइड नोटमा म बाँच्न चाहन्छु अनि यसैमा म मर्न चाहन्छु। यही सुसाईड नोट मेरो चिता हो। यसमा नै म लम्पसार भएर सुतिरहनेछु। म आफैँले आफैँलाई दागबत्ती दिएर आज म मुक्त हुन चाहन्छु।
मलाई अझ याद छ त्यो दिन। हजुर हस्पिटलको बेडमा हुनुहुन्थयो। बाबा ममीले हजुर विरामी भएको मलाई भन्नुपनि भएन। ठूली काकीबाट थाहा पाएँ। हजुर अन्तिम अवस्थामा हुनुहुँदो रहेछ। नाती बाबुको मुख हेर्छु भनेर बारम्बार बाबुलाई बोलाइदे न भनेर बाबालाई भन्नुभएछ तर बाबाले मलाई खबर गर्ने जरूरत पनि ठान्नु भएन। सायद हजुर मरेपछि खबर गर्ने सोचमा हुनुहुँदो रहेछ।बाबाममीसँग फोनबाटै ठूलो झगडा गरेँ, मैले। तेरो पढाई बिग्रन्छ भनेर नभनेको रे। मलाई नेपाल आउनुपदैन खर्च हुन्छ पनि भन्नुभयो। कस्तो वाइयात लाग्यो उहाँहरूको बहाना। म हजुरसँग यति धेरै नजिक छु भन्ने थाहा पाउँदा पाउँदा पनि उहाँ पूरै स्वार्थमा विक्नुभयो। मैले रिसको झोकमा भने– यदि हजुरआमाको अन्तिम अवस्थामा म त्यहाँ भइनँ भने हजुरआमा जस्तै तपाइँ पनि छोराको आशमा तड्पिनु होला तर म त्यतिखेर नआउँला वा नहुँला। कस्तो हुन्छ आफैँ विचार गर्नू। उता बाबाले तुरून्तै फोन काट्नुभयो। यता म नेपाल आउने तयारी गरेँ।
मसँग तुरून्तै टिकट काँटेर नेपाल आइहाल्ने पैसा पनि थिएन। तर हजुरआमाको अन्तिम अवस्थामा मलाई केही कुराले पनि रोक्न सक्दैन भनेर साथीसँग तीन हजार डलर जति सापट मागेर म हजुरलाई भेट्न नेपाल आएँ। हस्पिटलमा सिधैँ मलाई देख्दा बाबाले छोरा तँ आईस् भनेर अंकमाल गर्नुको साटो नाक फुलाएर, आँखा ठूलो ठूलो पारेर हेर्नुभयो। आफूलाई जन्मदिने आमा मृत्युको शैय्यामा हुँदा बाबाको आँखा किन बालु जस्तो फुक्का, मरूभूमि जस्तो सुख्खा। ममीले मेरो पाखुरा समात्दै हजुर भएको बेडमा लानुभयो।
हजुरलाई त्यो अवस्थामा देख्ने वित्तिक्कै मैले आफूलाई समाल्नै सकिनँ त्यही भित्तामा अनुहार लुकाएर धेरैबेर रोइरहेँ। बाबु तँ आईस्, अब मेरो श्वास आरामले जान्छ– हजुर भक्कानिदैँ भन्नुभएको थियो। हजुरले ममीलाई मेरो यसलाई बोलाउने विन्ति सुनेकोमा धन्यवाद दिनुभयो र कहिल्यै दुःख नहोस् भनेर बाबा र ममीलाई आर्शिर्वाद पनि दिनुभयो। ममी केही नबोलि बाहिर जानुभयो। सायद लाजले ममीलाई बाहिर हुत्तायो। नगरेको पुण्यमा स्यावासी थाप्न सक्नुभएन क्यारे।
त्यसको पन्ध्र दिनसम्म हस्पिटलमा नै हजुरलाई कुरेर बसेँ। एकदिन हजुरकै हातमा गाला राखेर सुतिरहेको थिएँ मस्त निदाएछु। म सपना देखिरहेको थिएँ। वायुपंखी घोडा हजुरलाई र मलाई लिन आएको रहेछ। त्यो वायुपंखी सेतो घोडामा चढेर हजुर र म आकाशमा जाँदै थियौ। एक्कासी हजुरले नातीलाई हाइट देखेर डर लाग्छ भुइँमा नै छोडिदेउ जुन दिन डर लाग्दैन हामी उसलाई लिन आउँला भनेर त्यो वायुपंखी घोडालाई भन्नुभयो। म धर्तीमा झरे अनि हजुर आकाशमा विलिन हुनुभयो। शरीरमा चिसो भयो। वास्तवमा मेरो टाउको ममीको चिसो हातले हजुरको हत्केलाबाट छुटाउँदै हुनुहुँदो रहेछ। वरिपरी नर्स, डाक्टर, बाबा र अरू आफन्त पनि थिए। ममीले भन्नुभयो आमा हामी माझमा रहनुभएन।
म चिच्चाएर रोएँ। तर बाबाममीको आँखा अझै पनि शान्त थियो। उहाँहरू अरूलाई देखाउन रून कोशिस गर्दै हुनुहुन्थयो। त्यो दिन मलाई उहाँहरूप्रति घिन लाग्यो। उहाँहरू नक्कली लाग्यो। उहाँहरूको मुखै हेर्नै मन लागेन। त्यो दिनदेखि मेरो शिर निहुँरिएको आजसम्म निहुँरिरहेको छ। सबै व्यक्तिहरू खराब, सबै व्यक्तिहरू दुई अनुहार, दुई जिब्रे जस्तो लाग्छ। त्यसैले पनि मलाई शिर उठाएर यो नक्कली दुनियाँ हेर्नु भन्दा शिर झुकाएर यो माटोमा मिल्ने सत्यलाई हेर्न मन लाग्न थाल्यो। हजुर जानुभएको दुई वर्ष हुन लाग्यो हजुरआमा, अहिलेसम्म हजुरलाई विर्सनै सकिरहेको छैन।
हजुरको तेह्र दिनको भोलिपल्ट बाबाले अब फर्किहाल अष्ट्रेलिया भन्नुभयो। मेरो भावना सोध्नुभएन तर ठाडो आदेश दिनुभयो। मलाई त्यो आदेश मन परेन अनि टाउको निहुँराएर नै प्रतिकार गरेँ। मैले त्यो ठाउँमा जान्नँ भने। विदेश मलाई सुहाएन। त्यहाँ मन नै लाग्दैन। हरेक रात घर सम्झन्छु। ऐठन हुन्छ भनेँ। बाबाले मेरो भावना बुझ्नुभएन। मेरो भनाईको तात्पर्य थाहा पाउनु भएन। तर उल्टै त्यत्रो पैसा लगाएर पठाको अब यसै फर्कन्छन् भने। मैले रहर गरेर गएको हो र मलाई धकालेर पठाको होइन भने। बाबा अझ मुखमुखै लाग्छन् भनेर गर्जनुभयो तँ काम नलाग्ने एक्का होस् भन्दै सुत्न जानुभयो। त्यसको एक हप्तापछि म शिर निहुँराएर नै यहाँ आए।
हजुरआमा, म त्यतिखेर चुरोट खान्थे हजुरलाई के ठाट्नु तर हजुरको मृत्युपछि गाँजा पनि खान थालेँ। न काम, न पढाइ केही पनि गर्न सकिनँ त्यसपछि यहाँ मन एकदमै कमजोर भयो। साथीहरूसँग पैसा सापटी माग्न थाले तर तिर्न कहिल्यै सकिनँ। पैसा तिर्ने आशमा क्यासिनो धाउन थाले तर सधै हारेँ। साथीहरूले जिस्काउन थाल्यो नाम मात्रै तुरूप, क्यासिनोमा जहिले हारेर आउँछस् कुरूप।
साँच्चै गाँजाले म कुरूप नै भइसकेको थिए। गाँजा खाएको बेला हजुर मेरै वरिपरी हुनुहुन्छ जस्तो लाग्छ। त्यसैले पनि हजुरको वरीपरी हुन गाँजा खाइरहेँ। कहिल्यै हजुर घर अगाडिको रोडमा रोएको देख्छु। हजुरलाई लिन म दौडिदै रोडमा जान्छु। साथीहरूले भनेको एकदिन झण्डैले मलाई कारले नहानेको रे। मैले उनीहरूलाई हजुर आउनुभएको बारेमा भन्दा हाँसोमा उडाए। एकदिन मैले उनीहरूलाई सेतो वायुपंखी घोडामा हामी चढेर आकाशको सयर गरेको अनि राती मलाई कोठामा छोडेर हजुर आकाशमा पुन जानुभएको पनि भने। तर उनीहरूले मलाई तँ पागल हुँदैछस् तुरूप भनेँ।
एकमनले हो कि, जस्तो पनि लाग्यो। नेपाल गएर परिवारसँग बसे भने ठिक होला कि जस्तो पनि लाग्यो। तर परिवारको रेस्पोन्स पछि झन् म एक्लिएँ। साथीहरूले बाबा ममीलाई मेरो यस्तो व्यवहारको बारेमा भन्दा त्यसलाई यता नपठाउ त्यतै उपचार गर है। यता आयो भने फेरि हाम्रो बेइज्जत हुन्छ एउटा छोरा पनि विग्रिएछ भनेर गाउँभरी हल्ला हुन्छ बरू निको भएपछि पठाउँ।
पछि एकदिन साथीहरूले मलाई डाक्टरकोमा पनि लगे तर डाक्टरले यो सबै गाँजाको असर हो भन्यो। हेलुसिनेसन्स् हो रे हजुरआमा। यो हेलुसिनेसन्स्ले गर्दा साथीहरूले मलाई घरबाट निकालिदिए। सातदिन सडकमा नै मागेर आएँ। पछि मेरो कलेजको साथीले थाहा पाएर घर ल्याएको छ। अहिले म त्यही साथीको शरणमा छु। दुई महिना भइसक्यो यो साथीलाई पनि दुःख दिएको। अरू साथीहरू पैसा फिर्ता दे भनेर दिनदिनै फोन गर्छन्। मोबाईल अफ गरेर बसेको अब त यो साथीलाई पनि तुरूप त्यहाँ छ रे हामी पैसा लिन त्यही आउँछौ भनेर फोन गर्छ रे।
दिक्क भएर शरण दिने साथीले पनि कि आज कि भोलि निस्केर जा भनिरा’छ। मेरो जाने ठाउँ नै भएन हजुरआमा। नेपाल जाउँ भने बाबाममीको वेइज्जत हुन्छ रे तर यहाँ अन्त जाने ठाउँ नै छैन। दिनभरी यत्तिकै बसिरहेको हुन्छु। तीनदिन भयो घरमै पनि पानी र पाउरोटी मात्रै खाएको। मलाई लाग्न थाल्यो हजुर भएको ठाउँ नै मेरो लागि उत्तम हुन्छ भनेर। त्यहाँबाट त मलाई कसैले पनि निकाल्दैन होला नि है? म त्यहीँ आउँदैछु हजुरआमा। मेरो अगाडि विष छ। बडो मुश्किलले ल्याएको यो विष। यो सबै पिए भने म केही घण्टामा नै त्यहाँ आईपुग्छु। बरू त्यही सेतो वायुपंखी घोडालाई लिन पठाउनु न। नाती तयार भएर बसेको छ लिन जा भनेर पठाउनु न।
अनि यो विष देख्ने वित्तिक्कै मलाई त्यो सानोको घटना पनि याद आउँछ। सानोमा म घोप्टे भीरमा गएर त्यहाँको तलाउँमा विष राखेर माछा मार्थे। भुरा माछाहरू त्यो विष सहन नसकेकर उफ्रँदै किनारामा आउँथ्यो। मलाई खुब मज्जा लाग्थ्यो। माछा मारेँ भनेर खुब गर्व लाग्थ्यो। तर आज महसुस गर्दैछु त्यो माछाको पीडा। म पनि अब यसरी नै छटपटेर मर्छु होला। मैले विषको बल्छि थापे अहिले जीन्दगीले मलाई बल्छि थाप्यो। यो बल्छि मात्रै होइन अभिमन्यूको चक्र पनि हो। पसे तर निस्कनै सकिनँ। हरेक परिस्थितते प्रहार मात्रै गरेको छ। म त्यो माछाको भुरो भएको छु। समय र भाग्यले म माथि दया गरेन जसरी त्यो माछाहरूलाई मैले गरिनँ।
अनि योसँगै अर्को कुरा पनि सम्झन चाहन्छु। मेरो नामको किस्सा। स्कूलबाट निधारभरी अबिर लगाएर कक्षामा प्रथम भएर दुई वटा मोटा मोटा कापी लिएर घर आउँदा तपाइँ भन्नुहुन्थ्यो –तँ त हाम्रो तुरूपको एक्का। तैले हामीलाई हराउनै जानेको छैन। आफू पनि जित्छस् हामीलाई पनि जिताउँछस्। यो तुरूपको एक्काले आज सबैलाई हराउँदैछ।
हजुरआमा मेरो नाम तुरूप सुनेर धेरै जना हाँसेका पनि थिए कक्षामा। मेरो नाम परिवर्तन गरिदिनु न भनेर मैले कतिपटक बाबालाई पनि अनुरोध गरेँ। एकपटक त मलाई आफ्नो नाम एलिस राख्न मन लाग्यो। यो नाम लिएर मेरो नाम अबदेखि एलिस राखिदिनू भनेँ। तर हजुरहरू सबैजना मुर्छा परेर हाँस्नुभयो मलाई झन् लाज लाग्यो। हजुरले एकदुई पटक नाती एलिस भनेर पनि बोलाउनुभयो तर अरू कसैलाई बोलाएको जस्तो लाग्यो। अनि आफैंलाई पनि एलिस नाम सम्झेर हाँसो उठ्यो। एलिस त तुरूप भन्दा पनि हाँसो उठ्दो नाम रहेछ भनेर बरू तुरूप नै सही लाग्यो।
एकदिन तपाइँले मेरो नाम तुरूप राख्नुको कारण पनि भनिदिनु भयो। बाबालाई तास खेल्दा कहिल्यै तुरूपको एक्का नपर्ने रे। तास खेल्न थालेपछि उहाँलाई कहिल्यै पनि तुरूपको एक्का परेको थाहा नै रहेनछ। घरमा आमालाई व्यथा लाग्दै गर्दा बाबा तास खेल्न व्यस्त हुनुहुदो रहेछ। जीन्दगी तुरूपको एक्का नपर्ने मान्छेलाई त्यो दिन तुरूपको एक्का पर्दा बाबालाई मन समाल्नै गाह्रो भएछ। त्यतिखेर पनि दश हजार रूपैँया एकैपटक मार्नुभएको थियो रे। त्यतिनैखेर ठूली काकी गएर तास खेलेको ठाउँमा बाबालाई तिम्रो छोरो जन्मिएको खबर दिनुभएछ। चार छोरी पछि छोरो जन्मे भनेपछि बाबालाई त झन् मन समाल्नै गाह्रो भएछ।
गाउँलेले तासमा पनि तुरूप घरमा पनि तुरूप भनेर जिस्काए रे। बाबा बेहोस हुनुभएको रे नि त त्यतिखेर। मैले सोध्दा बाबा गाउँलेले पानीमा फूल पारेका हुन्। मन समाल्न गाह्रो चाँहि भएको थियो बेहोस होइन। बाबा आँखा छलेर म बेहोस भएको होइन भन्नु भो। सायद छोराको अगाडि लाज लाग्यो। यो सम्झदाँ मलाई मर्न मन लाग्दैन। रमाईलो लाग्छ। घर र बाबाको जीवनमा खुशी ल्याउने तुरूपको एक्का थिए म र हुँ पनि। तर यो तुरूपको एक्काको रहर, इच्छा कहिल्यै बुझ्नुभएन। तँ हाम्रो तुरूपको एक्का होस् , तँ हाम्रो एकल छोरा होस्, तँ भोलिको दिनमा हाम्रो जिम्मेवारी उठाउनुपर्छ , तँ चार दिदीबहिनीको माइती होस् , तँ विदेश जानुपर्छ, तैले धेरै धन कमाउनुपर्छ , तँलै हामीलाई पनि बोलाउनुपर्छ खै केहो के हो। मेरो सानो दिमागमा यी सबै कुराहरू भरिदाँ मेरो दिमागले नै थेक्न सकेन।
हजुर एउटा कुनाबाट भन्नुहुन्थो विचरा यति सानै दिमागमा कति कुराको बोझ सुनाउँछस्। ठूलो भएपछि आफैं बुझिहाल्छ नि। नबुझे पनि त ठिकै छ। उसको जीन्दगीको मालिक ऊ नै हो, हामी होइन। भने पनि यी सारा कुरा पछि भनौँला नि। हजुरले यसो भन्दा ममी उफ्रेर आफ्नो छोराबाट चाँहि कति आशा गर्नुहुन्छ र थुप्रेर यही बस्नुभएको छ हामीले चाँहि हाम्रो छोरालाई भन्दा केको पीरलो हो। हामीलाई हेर्छ भनेर ईर्श्या लागेको होला नि। बुहारीको वचन पछि हजुर त्यसपछि केही नबोली शिर निहुँराउनु भयो।
त्यतिखेर जर्वजस्ती म प्लेन चढेर यो भूमिमा आएको थिएँ। अब म स्वइच्छाले काठको बाकसमा नेपाल जान्छु। बाबा तपाइँहरूले नआउनु भन्नुभयो म आउँछु यतिमात्रै फरक हो कि प्लेनको टिकट लिएर होइन काठको बाकसमा प्लेन चढेर आउने। मेरो एउटा अनुरोध छ। मेरो लासलाई हजुरआमा जलाएकै ठाउँमा जलाउनु है।
ह्जुरआमाको हस्पिटलमा पन्ध्र दिन कुर्दा उहाँले मलाई भन्नुभएको थियो। बाबु मेरो जीवनको यो अन्तिम अवस्थामा मलाई दुःख दिने, मलाई पीडा दिने सबैलाई सम्झेर माफी दिदैँछु। अनि यो सँगसँगै पनि भन्नुभयो मैले पीडा र दुःख दिएकालाई पनि सम्झेर माफी माग्दैछु।
ह्जुरआमालाई मैले सोधेँ, ममी बाबालाई पनि माफी दिनुभयो? हजुरआमा मुस्कुराउँदै भन्नुभयो, उनीहरूले त्यस्तो के नै अपराध गरेका छन् र उनीहरूलाई माफी दिनू। उनीहरूलाई त धन्यवाद दिने हो। यस्तो प्यारो नाती मलाई दिएकोमा।
ह्जुरआमा सरह मलाई पनि पीडा दिनेहरूलाई माफी दिदैछु। मैले पीडा दिएकोहरूलाई माफी माग्दैछु। म विरामी भएर एउटा खाटमा सुतेको थिएँ, हजुरआमा थला परेर अर्को कुनामा बस्नुभएको थियो। मलाई थालभरी फफूल र दूध टुटाउनु भएन तर हजुरआमा टुलुटुल त्यो कुनाबाट हेर्दा पनि केही सोध्नुभएन। सायद न त हजुरआमाको भाग्यमा छोराको साथ थियो न त तपाइँहरूको भाग्यमा रहेछ।
ह्जुरआमाले पनि तपाइालाई जन्माउँदा तुरूपको एक्का ठान्नुभएको थियो होला। न त त्यो तुरूपको एक्काको कमाल हजुरआमाले देख्न पाउनु भयो न त अब तपाइाहरूले देख्न पाउनु हुन्छ। अलविदा बाबा ममी। ....
मैले यो भन्दा अगाडि धेरै पढ्नै सकिनँ। अझ दुई पेज बाँकि थियो सुसाइड नोट पढ्न। मैले यत्तिकैमा थन्काएँ। बाँकि भिडियो फेरि हेरेँ। एउटा कुनामा तुरूपको बुबा पुर्पुरामा हात राखेर भक्कानिदै रूनुभएको थियो। अलिपर तुरूपको ममी बेहोस अवस्थामा भएको देखेँ। यदि यो आँसु र वेहोसी त्यो दिन तुरूपले हस्पिटलमा देखेको भए सायद आज ऊ यसरी जल्दैनथ्यो होला। सायद ऊ यसरी हारेर खरानी हुँदैनथ्यो होला।