डाँडावारि र डाँडापारि घन्कने बाँसुरीको रन्को, तुवालो लाग्ने मौसम, पालुवा पलाइरहेका वृक्षहरू, भर्भराइरने अँगेनाको आगो, बेलाबखत आइपुग्ने बाडुली सबैले पालैपालो मनमा विरक्ति बढाइरहँदा सिर्जना गरे कतिपय लोककविहरूले समय सुहाउँदा गीत।
चैत महिना मानसिक हिसावले कष्टकर रहेको भाव व्यक्त गरे कतिपयले। त्यतिखेर सुनिने विरहपूर्ण बाँसुरीको धुन र केही गीतका पंक्तिले व्यक्त गर्न खोजेको उही वैसाखको आगमन हो। प्रतीक्षाको घडी लामो भयो भन्न खोजेको हो। त्यो प्रतीक्षा त्यही नयाँ वर्षको हो। विसुँ पर्वको हो।
दुई वर्ष अघि चैतको अन्तिम सातातिर रामलीलादेखि हाम्रा कैयौं चाडपर्वहरूको साथै वसन्त ऋतु र विगतकोे याद दिलाएका थिए गायक संगीतकार तिलकसिं पेलाले। कुराकानीकै क्रममा मैले भनेको थिएँ, ‘जाउँ पश्चिमतिरै उतै केही गर्नुपर्छ। यो काठमाडौं हामी जस्ताले धेरै दिन बस्ने ठाउँ हैन रहेछ।’ गीत सङ्गीतमा हृदय पोखिरहेका उनले सहमतिको भाव प्रकट गर्दै भनेका थिए, ‘मलाई एकान्त ठाउँमा कोठा खोजिदिनू। कोठा भेटिएको दोस्रो दिन नै म ट्रकमा सामान लोड गर्न थाल्नेछु।’
पर्यटन र संस्कृतिको क्षेत्रमा अहोरात्र खटिरहेका कैयौंका प्रेरणाका स्रोत अमरबहादुर शाहीले गाउँ फर्किने योजना बनाएको पनि वर्षौ भैसक्यो। आजका मितिसम्म हाम्रा योजना केवल योजनामै सिमित रहे। छैनौं कसैले यो सहर छोड्न सकेका।
आज फेरि चिया पसलमा केही मित्रहरूको बहस चलिरहेको थियो। सुदूरपश्चिममा कामको सम्भावना र केही दिन अघि मात्र मनाइएको विसुँ पर्व सम्बन्धी। सम्झाइरहेका थिए पुराना दिनहरू। यौटाले काठमाडौलाई गाली गर्दा अर्कोले बिरोध जनाउँदै भनेका थिए– ‘बस्नुपर्ने पनि यही सहरमा अनि सराप्नु पर्ने पनि यसैलाई ?’ मैले यहाँ कैयौं मान्छेहरू देखेको छु जो गाली गर्छन् काठमाडौंलाई। अनि अर्कोपट्टी केही छन् जो गाली गरेको मन पराउँदैनन्।
काठमाडौंको धरातल प्राकृतिक, धार्मिक, ऐतिहासिक, कलात्मक, पुरातात्विक सबै हिसावले पुजनीय छ। धर्तीसँग गुनासो गर्ने सामर्थ्य सायद कसैको छैन होला किनकि धर्तीले सबैलाई समान स्थान दिएकी छन्। बरू दरिद्र मान्छेले नै धर्तीको छातीमा सदा हानिरहेछ बन्चरो, रोपिरहेछ भाला र गाइरहेछ गीत धर्तीकै बिरुद्धमा।
काठमाडौंलाई गाली गर्नेहरूले सम्बोधन गरेका हुन् केवल ठाउँलाई। अन्तत्वगत्वा दोषी त यो सहरमा बसोवास गर्ने तिनै मानिस हुन् जो फोहरी राजनीति गर्दछन्। भष्टाचारको जालो बुन्छन्। मानव तस्करीका हिमायति बन्छन्। कालोबजारीको बीऊ रोप्छन्। अनि वाह्य दुनियाँलाई देखाउन हरेक आन्दोलनमा सहभागी बनिदिन्छन्। पद पाउने बित्तिकै आफूलाई सम्राट नै ठान्दछन्।
हिजोआज काँचका पर्दामा अनुहार देखाउन तछाडमछाड गर्छ काठमाडौं। राजनीतिको फोहरी खेलमा छलकपटका मुना रोप्छ काठमाडौं। रातदिन चिप्लो घसेर वर्षौ बिताउँछ काठमाडौं। मानवीय मूल्य मान्यता र संवेदनाका कुरा त निकै टाढाका विषयवस्तु भैसके। तासको पत्ति न हो काठमाडौं कुन कलरमा कति दम छ भन्ने पुष्टि गर्दै हिँड्छ। गरिबको जिन्दगीको असली रङ्ग चिन्दैन। शक्तिको बोलबाला देखाउँछ तर शक्तिबिहीनको इमान्दारीता र स्वाभिमानिपन बुझ्दैन।
वर्षाको मौसम जस्तै भर नलाग्ने समय पनि देखापर्छ यतै कतै। दुःख बिसाउने ठाउँसम्म नभेटिए पछि टल्किदै जान्छ विश्वासको खडेरी यहाँ। पिठी मुसारी मुसारी चार बल्ड्याङ खुवाइसक्छन् धूर्तहरूले। धोका जिन्दगीको सबैभन्दा ठूलो दुर्घटना हो। त्यो दुर्घटनाबाट बचेका छैनौं म र मेरा केही मित्रहरू। यहाँ सबै कुरा छ तर पनि खोज्नुपर्छ आफैंले आफैंलाई एकान्तमा। भेटाउन निकै नै गाह्रो छ मानवीय संवेदना, विश्वासको तलाउ र अहंकारमुक्त जिन्दगी।
प्रगतिका कुरा सुनिन्छन् जताततै अचेल। प्रगति त त्यो हो जहाँ माया, ममता, स्नेहभाव झाँगिदै गइरहेको हुन्छ। नजिकैको गिरिबाट कलकल बगिरहेको झरना, हराभरा जङ्गल, पन्छीहरूको उडान र गीतसँग आत्मसात गर्नेहरू, जङ्गलमा विरही भाका सुसेल्नेहरू जति सुखी र धनी छन् त्यति यो सहरका गगनचुम्बी महलमा बस्ने चिल्लो गाडीमा सयर गर्ने सम्राटहरू कहिल्यै हुन सक्दैनन्।
मजस्ता कैयौँ होलान् त्यो परिवेश छोडेर यो सहरमा दुःख बटुल्न आएका। लाग्छ मान्छे जब आफ्नो प्रिय स्थान वा प्रिय मान्छेबाट टाढा हुन्छ ऊभित्र पानीको मुहान फुटेझैं सम्झनाका भुल्काहरू पनि उठ्ने गर्छन् र बेलाबखत हृदयमा एक प्रकारको आँधी ल्याउँछन्। एकान्तमा तप्प आँसु चुहाउन बाध्य तुल्याउँछन्।
सहरमा नयाँ वर्ष मनाइरहँदा उता मेरो गाउँमा बिसुँ पर्व मनाइन्छ। जसलाई बिसवा सङ्क्रान्ति पनि भनिन्छ। यता सहरको वैसाख सङ्क्रान्ति उता गाउँमा विसुँ सङ्क्रान्ति बन्छ। बिक्रमको सम्वत फिर्ने पहिलो दिन अर्थात वैशाख सङ्क्रान्ति। ज्योतिषहरूका अनुसार सूर्य मीन राशिबाट मेष राशिमा जाने समय।
यतिखेर हरियाली छाउँदै होला खप्तडका पाटनतिर। नजिकिदै छ होला गंगा दशहरा मेला पनि। खप्तडका पाटनमा रातभर शित खेपेर डेउडा गीत खेल्ने सुन्नेको भीड हेर्न पाउनुु पनि आफैंमा सुन्दर पल हो जीवनको। जीवन र जगतका बारे सवाल जवाफ गरिने साँस्कृतिक महत्त्व बोकेका डेउडा गीतहरू उतै छन्।
यतिबेला टलक्क टल्केका होलान् घरका भित्ताहरू। वैशाख नलाग्दै रातो माटो र कमेरोको भारी बोक्ने महिलाहरूको लर्को देखिन्थ्यो बाटाभरि। साँझपख नापिरहन्थे लाहुरेले त्यही गोरेटोलाई। प्रायजसो लाहुरेहरू घर फर्कने भनेकै नयाँवर्ष र दसैंको समयमा हुन्। यसैदिन कतै कतै जात्रा पनि मनाउने चलन छ। चैत्र मसान्त आउनु अगावै निकै नै हलचल देखिन्थ्यो गाउँघरतिर। दसैंमा जस्तै सिगारिएका हुन्थे घरहरू। निकै नै रमाइलो वातावरण देखिन्थ्यो गाउँघरतिर।
चाडपर्वमा विभिन्न पक्वानहरू पकाउँदाको बासना गाउँभरि नै फैलिन्थ्यो। यस्ता चाडपर्वमा जुन घरमा दूधदिने गाईभैंसी छैनन् त्यही घरमा बढी गोरस हुन्थ्यो। गोरस हुनेले नहुनेलाई दिने चलन निकै नै मैत्रीपूर्ण थियो। जुन निकै नै पुरानो पनि हो। खसी बोका काट्दा पनि यसैगरी पकाएको मासु बाड्ने गरिन्थ्यो।
उकालोको शिरमा पात फरफराइरहेको बर पीपलका चौतारीमा सुस्केरा मार्ने मौसम यही हो। डाँडाकाँडातिर सुनिने बाँसुरीको विरहपूर्ण धुनले भावविह्वल तुल्याउने समय पनि त यही हो। एकातिर कोइलीको कुहूकुहू अर्कोतिर काफल पाक्यो काफल पाक्यो भन्ने आवाजले वनजङ्गलमा छुट्टै रौनक छाएको हुन्छ। गोरेटामा लाहुरेका बुटको आवाज सुन्ने रात उतै छन्।
भूगोलको राजधानीमा रमाउन खोज्ने मनले सक्दैनन् दिलको राजधानी खोज्न। दिलको राजधानी खोज्नलाई संवेदनशील दिल नै चाहिन्छ। धरातल सम्झिने मन चाहिन्छ। दिलको राजधानी उतैकतै पहाडमै छोडेको छु। उतै कतै छन् नजानिदो पाराले भित्रभित्रै तरङ्गहरू साटासाट गर्ने दिलहरू। जो निस्वार्थ छन्, आत्मीय छन्। निष्कपट छन् अनि छन् उत्तिकै प्रेमिल पनि। जिन्दगीका केही पर्वहरू यही खाल्डोमा मनाएको हुँ र केही अनुभव बटुलेको हुँ। हिजो आज यन्त्रवत देखिन्छ यहाँ मान्छेको जिन्दगी। अनि यान्त्रिक नै बनेका छन् कैयौं चाडपर्वहरू पनि। जो फाइफुर्ती र देखासिखि गर्नमा बढी व्यस्त छन्। समयले जतासुकै पुर्याए पनि मन अट्दैन यहाँ। हरेक पर्वपर्वादीमा पुग्छ मन उतै गाउँघरतिर।
तर, सम्झना शिवाय अब अरू केही छैन पहाडमा पनि। हजुरबाका पालाको घर जीर्ण प्राय छ। बाले निर्माण गरेको घर बिक्रि भैसकेछ। ३५ वर्षअघि नै धर्तीबाट बिदा भएका बाको जिन्दगी एक साधुको जिन्दगी थियो। धर्ती छोड्नु अघि मेरो शिर मुसार्दै बाले भन्नु भएको थियो, ‘जुन भगवानले मलाई पाल्यो त्यही भगवानले तँलाई नि पाल्नेछन्। जीवनमा कहिल्यै बेइमानी नगर्नू।’
इमान्दारीको पाठ सिकाएर जानु भो बा। आदर्श र इमान्दारीले नै धकेलेको हुँ अहिलेसम्म जिन्दगीका पटराहरू। बसाइँ सारेर तराई झरिसके कतिपय अनुहारहरू। म भौतारीरहन्छु मेरा बाजस्तै भगवान् खोज्न। यो यान्त्रिक सहरमा शान्ति छैन। मन रम्दैन। फर्केर जाने पनि अवस्था छैन्। तर, मन अड्दैन यहाँ। बेलाबखत पुगेकै हुन्छ गाउँघरतिर। त्यो गाउँ पनि मजस्तै त छ। हूलका हूल मान्छे तराई झरिसके। गर्मी याममा दौडेर सुटुक्क घारभित्र प्रवेश गर्ने माहुरी जस्ता एकाद महिला र केटाकेटीका पाइला मात्रै देखिन्छन् रे त्यहाँ। लोग्ने मान्छे जति खाडी मुलुक र भारतका गल्लीतिरको यात्रामा निस्किसके। दुई पैसा कमाएर फर्किएपछि डुल्न थाल्छन् तराईमा धुर खोज्न। फेसन नै भैसक्यो तराईको घरेडी। निकै अपहेलित हुन थाले तराईमा घरेडी नहुनेहरू।
हिजो आज त सपनामा पनि देखिदैन गाउँ। देखिदैनन् खोलानाला झरना अनि त्यो चौतारी। मात्र देखिन्छन् कंक्रिटका जङ्गल, धुलो, धुँवा आगलागी भएका डाँडा र कपटी मनहरू। निकै वर्ष भैसक्यो बा पनि देखिनु हुन्न सपनीमा। बालाई मात्र देखेको भए पनि सानो छँदा जिज्ञासा व्यक्त गरेझै तेर्स्याउँथे प्रश्न– बा के यान्त्रिक सहरमा देखिने सपनाहरू पनि यान्त्रिक नै हुन्छन् ?