मन जलिरहेछ
भित्रभित्रै पोलिरहेछ
आँखै सामु बलिरहेको
तिम्रो लास
म कसरी हेर्न सक्छु!
दैव निष्ठुरी
मै माथि बज्रपात
कसरी सम्हालिनु?
अनाथ बनायो
तिम्रो लाश।
मन विक्षिप्त भएको छ
मणि हराए झैँ हराए
मेरा सपनाहरु
जिन्दगी घनचक्कर
उल्टा सुल्टा झैँ
किचकन्नी जस्तो
खै, के भनौ जीवन र जगत?
स्मृतिमा मात्र
हेर्दा गेर्दै खरानी भो
तिम्रो लास।
रातो कपडामा
सेतो बाछिट्टा
पहिचान नै हरायो
ललाटमा
विदुर कि विधवा
नियती यस्तै हो कि त्यस्तै
लम्पसार चिर निन्द्रामा
पुष्ष गुच्छा अर्पण गर्दै
हेरे! ज्वज्वल्य शरीर
तिम्रो लास।
हे उठ! जाग है!
औँसीको रातमा
हेर चहकिलो तारा
लक्ष्य चन्द्रमा पुग्ने
प्रतिज्ञा गर
स्मृतिमा राख्ने
बिर्स- बिर्से
खरानी भै जलिसक्यो
हावाले उडायो
तिम्रो लास।