सपनाहरू खासै ठूला थिएनन्
केवल दुई-चार अक्षर पढी
आफ्नो खुट्टामा उभिनु थियो
यत्तिकैमा बाबाले भने
चिना मिल्यो छोरी
तिमीलाई दिने निर्णय गरियो
चुपचाप टाउको हल्लाएँ,
सहमति जनाएँ ।
मेरा उनीले भने
म पढ्न शहर जान्छु,
तिमी बाबा-आमा हेरेर बस
त्यहाँ पनि चुपचाप टाउको हल्लाएँ,
सहमति जनाएँ।
अब उनी जागिरे भए र भन्न थाले
म कमाउँछु,
तिमी छोराछोरी हेरेर बस ।
सवैका इच्छा चाहनाका लागि
आफ्नो रहरको तिलाञ्जलि दिँदै गएँ
मैले नगरे कसले गर्छ भन्दै
आफ्नो मनलाई बुझाउदै गएँ ।
बिस्तारै दिनहरू बित्दै थिए
अब उनी भन्न थाले
तिमी मेरो लायक भइनौं
तिमी अनपढ भयौ, गवार भयौ।
अनि मेरा आँखाहरू तिरमिराउन थाल्छन्
केही सोच्न भ्याएकी हुदिनँ
यत्तिकैमा छोरो भन्छ
मामु हजुरलाई मेरो साथीको
अगाडि चिनाउन लाज भो
हजुरलाई राम्ररी बोल्न पनि आउँदैन।
अनि मेरो पैतालामुनिको जमिन भासिन्छ
आँखा अगाडि कालो वादल मडारिन्छ
र भुइँमा थुचुक्क बस्छु
केहिबेरपछि बिस्तारै आफूलाई सम्हाल्दै
सोच्न थाल्छु ।
आखिर को हुँ म?
बाबाको समाजमा कथित इज्जत जोगाउन
आफ्नो इच्छा मार्ने छोरी?
श्रीमानको रहर पुरा गर्न
आफ्नो इच्छाको तिलाञ्जलि दिने श्रीमती?
वा सन्तानको सुखको लागि
आफ्नो जीवन समर्पण गर्ने आमा?
कुनै शब्द भेटिनँ र भन्नथालेँ
हो म त्यहीँ नारी हुँ जसको
यो समाजमा कुनै अस्तित्व छैन
कुनै पहीचान छैन।
विडम्वना
हिजो मेरी आमाले
जुन अवस्था भोगेकी थिइन्
आज म पनि त्यही अवस्था भोग्दैछु
मात्र तरीका फरक हो ।
अब म चाहन्छु
मेरो भावी पुस्ता वा भनौं मेरी छोरीले
यो नियति भोग्न नपरोस्
उसले समाजका हरेक जिम्मेवारीहरू
वहन गर्नसकोस् ।
आफ्नो जीवनसाथीसँग जीवनका
हरेक लडाइँहरू काँधमा-काँध
मिलाएर लड्न सकोस्
उसको पनि यो समाजमा अस्तित्व रहोस्
आफ्नो पहीचान बनाउन सकोस् ।