मेरो नाम नै डाक्टर भवनाथ शर्मा पिएचडी हो। हाल क्यानडाको टोरोन्टोमा बस्छु।
खासमा मलाई मेरी स्वास्नी छोराछोरीभन्दा पनि यो नामको अगाडिको डाक्टर चाहिँ बढी प्यारो लाग्छ। त्यसैले कृपया मलाई डाक्टर अगाडि जोडेर मात्र बोलाउनु होला।
यत्ति कुरो सबैले याद राख्नु होला कि मेरो पछिल्लो समयमा जति पनि शत्रु भएका छन् प्राय: जसो सबैले मलाई डाक्टर भनेर सम्बोधन नगर्नुको परिणाम नै हो।
मैले धेरै ठाउँमा जान छोडेको कारण मलाई बारम्बार मेरो नाम नलिनु र लिइहाले पनि मेरो नामको अगाडि डाक्टर र पछाडि पिएचडी नजोड्नु हो। अलिक अगाडिसम्म एउटा नेपाली संस्थाको कार्यक्रममा जाने गरेको थिएँ किनकी कार्यक्रम सञ्चालकले मेरो नाम पूरै भनेर मेरो नाम लिई दिनुहुन्थ्यो। रिकग्निसन ...। अचेल जान्नँ। डाक्टर भन्नु पनि छैन, खादामाला पनि छैन, आशन ग्रहण पनि छैन, मलाई मेरो डाक्टरीको अपमान भयो जस्तो लाग्यो। जान छोडिदिएँ।
सानामा मैले राम रतन धन पाएँ...भन्ने भजन सुनेको थिएँ। के रेछ भनेको बल्ल थाहा भयो। त्यो त पिएचडी पो रहेछ। पिएचडी केमा, कसरी, कैले गरियो त्यता अहिले नजाऊँ तर पिएचडी गर्या दिनदेखि मलाई सबै कुरो आउन थाल्यो। लिला नै भयो।
आर्थिक, सामाजिक, साहित्यिक, विज्ञान, वेदवेदान्त, व्याकरण, टेक्नोलोजी, गणित आदि सबै विषयका नेत्र एकसाथ खुले त अनि।
नपत्याए मेरो फेसबुक खोलेर हेर्नुस् त।
मैले के विषयमा आफ्नो विद्वता प्रस्तुत गरेको छैन। अलिक अगाडि एउटाले डाक्टर साबको जर्नलहरूमा आर्टिकल चाहिँ त्यति देखिँदैन नि भन्दै थिए।
मैले पनि मेरो एउटा, दुइटा आर्टिकल सेतोपाटीमा छापिएको छ भनेर साथी कान्तिपुरमा आर्टिकल लेख्छ पनि भनिदिएँ, डाक्टर जस्तो मान्छे त्यतिको त दिनु परो नि होइन ?
क्यानडा आएपछि मेरा साथीहरू पनि प्राय: डाक्टर नै छन्- फेरि सुइँ लाउने त एउटा पनि होइनन् नि सबै फुई लगाउने मात्र हुन्।
एकजना पुराना डाक्टर साब हुनुहुँदोरहेछ- उहाँलाई पनि डाक्टर भनेको असाध्यै मनपर्ने, खादामाला र सम्मान पत्रको त उहाँ ठूलो पारखी।
खोई उहाँ आफैं पैसा दिएर विभिन्न संस्थामा आफूलाई सम्मान गर्न लगाउनु हुन्छ रे।
मलाई यो मामिलामा अलिकति अघि बढ्न पाएहुन्थ्यो भन्ने लाग्या छ। घरकालाई लगेर सम्मानपत्र फ्याँकिदिन पाए अलिक पत्याउँथे कि!!! घरकाले केही गरी मानेनन् होऊ। यसो मान्छेको अगाडि डाक्टरसाब भन्दे हुने नि भनेर बुढीयालाई कति सम्झाएँ... मान्दिनन्। घरकी मुर्गी दाल बराबर भन्या यही होला।
त्यस्तै अर्का डाक्टर साब हुनुहुन्छ, उम्लेली रे।
उहाँको घर कता हो कसैलाई थाहा छैन -कोई हुम्लेली भन्छन्, कोई जुम्लेली भन्छन्, कोई गुल्मेली भन्छन्।उहाँ आफैं चाहिँ उम्लेली भन्नु हुन्छ।
घरठेगाना कसैलाई भन्नुहुन्न राज खुल्छ भन्नुहुन्छ। उहाँ त झन् अमेरिका छ महिना घुम्न आको अरे फर्केर गएपछि अगाडि डाक्टर लेख्न थालेको, डाक्टरको डाक्टर हुनुभएछ।
नेपालमा भन्दा क्यानडा आएपछि यो डाक्टरी जाग्यो भन्नुहुन्छ उहाँ।राजनीतिक पहुँच पनि राम्रो थियो रे डाक्टरीको अपमान कैले हुनदिनु परेन भन्नुहुन्छ।
अर्का डाक्टर साब हुनहुन्छ उहाँ चाहिँ समयोजित रे। समय जितिसकेको भन्नुहन्छ। कहिल्यै समयमा कहीँ नपुग्ने। अनि अरूलाई देख्दा डाक्टर पो त भन्ने पार्नुपर्छ भन्नु हुन्छ मलाई।
उहाँ भन्नुहुन्छ- म त बरू डाक्टर्नीको टाउको कनाइदिएर बस्छु समयमा त मरी गए पुग्दिनँ।
डाक्टर साबको सालो पनि नेपालबाटै पिएचडी गरेर आएका रहेछन्। उहाँको चाहिँ ठूलो मान्छेसँग फोटो खिच्ने र विज्ञापन गर्नेमा विशेष विद्वता देखियो। ज्यान हेर्दै डाक्टर देखिनुहुन्छ उहाँ चैं।
अलिक पहिले टोरोन्टोको एउटा कार्यक्रम एउटा ठूलै नेता आएका थिए, लछारेरै गाडीबाट निकालेर फोटो खिच्नुभो।
फोटो खिचेकै ठाउँबाट एउटा फेसबुकमा स्टाटस आयो- नेपाली समुदायको हितको लागि आज क्यानडाको सांसदसँग गम्भीर छ्लफल भयो" भनेर फोटो आयो।
अनि मलाई यो काइदो पनि ठिक लाग्यो। नेपाली समाजलाई सहयोग गर्ने त यो तरिका पो ठिक रेछ। हेर्दै जाम यो तरिकाबाट घिउ लाग्न पनि सक्छ। सामाजिक अभियन्ता त म हुँदै हो आखिर।
अर्का डाक्टर साब हुनहुन्छ रिसर्च मै रिसर्च गरेर पिएचडी डाक्टर हुनुभएको रहेछ।
नेपालमा शान्ति छैन नत्र विलियन डलरको प्रोजेक्ट नेपाल पठाइदिन्थें, भनिरहनुहुन्छ।
एकदिन मैले साँच्चै हो त डाक्टर साब भनेको - गफै त हो नि सम्धी भन्नु भो। अनलाइन पत्रिका र युट्युबमा उहाँको बढ्दो सानले मलाई पनि लोभ्याएको छ। त्यो गुरू मन्त्र -गफै त हो नि सम्धी, लाई हल्का अब व्यवहारमा लागू गर्दैछु। आखिर नेपालमा एउटा एउटा समस्या आइ नै रहन्छ। नगर्नु डाक्टर जस्तो मान्छेले कुरो गरे पछि किन सानो गर्ने?
अर्का डाक्टर साबको पिएचडी नै पार्टीको कोटामा गर्नु भाको अरे, साह्रै मजाको मान्छे हुनुहुँदो रेछ।
उहाँको पार्टीइतरका कसैको नराम्रो समाचार आयो भने बिहान, दिउँसो र साँझ तीन पटक फेसबुकमा शेयर गर्नुहुन्छ एउटै समाचार।
डाक्टर साबको पिएचडी चाहिँ फेसबुक मै हो कि अरू पनि केही छ भनेको एकदिन।
गर्वका साथ खिसिक्क हाँस्नु भो। मैले कुरो बुझिहालें।
यसो सम्झें उहाँ पनि हाम्रो समुदायको अभिन्न अंग हो भनेर बाहिर कसैलाई केही भनिनँ।
अर्का एक जना डाक्टर साब यतै बसेर नेपाल चलाउँछु भन्नुहुन्छ। ठूलो विद्वान अरे। पार्टीले नियुक्ति दिएन भनेर गनगन गर्नु हुन्छ। तपाईंको क्षमता भन्दा निकै माथि त पुगिसक्नु भाको रेछ त डाक्टर साब पार्टीकै कारणले भनेको एकदिन आउजाउ पातलियो।
साँच्चै रिसर्च गर्ने, विद्वान, आफ्नो क्षेत्रमा नामी डाक्टर साबहरू पनि धेरै छन् यहाँ। तर मेरो उहाँहरूसँग खासै उठबस छैन। उहाँहरूले नाममा खासै डाक्टर लेखेको पनि देख्दिनँ। खादामाला आशन ग्रहणमा पनि त्यति नझुम्मिने डाक्टर के डाक्टर खोइ? मिल्ने जति त देखाउनु परो नि डाक्टर साब...