कसैलाई अब केही हुन्छ जस्तो लागेको थियो
कतिलाई कति-कति सपना जागेको थियो
के गर्नु बालुवामा पानी हाल्दा हाल्दै उमेर गएपछि?
जतिले जति आन्दोलन गरे पनि खेर गएपछि।
कतिका कति रगत पनि नबगेका होइन
कतिलाई झ्यालखानामा पनि नलगेका होइन
के लाग्छ जो सत्तामा पुग्छ उही खाइपिइ शेर भएपछि?
फेरि जस्ताको त्यस्तै गरेको आन्दोलन खेर गएपछि।
आन्दोलनले कति-कति दल छरिइसके देशमा
दलहरूले कति-कति पदहरु भरिइसके देशमा
आन्दोलनमै छुटेका चाहिँ नचाहिने धेर भएपछि
जसको पछि लागेर गरेपनि आन्दोलन खेर गएपछि।
मंचमा बसेर भाषण ठोक्ने एक से एक निस्किए
साख्खै आफ्नै जस्तो गरी भोट तान्न जिस्किए
दु:ख मनैमा छोपी ताली बजाउनेको जेर भएपछि
नेताको भर पर्दा पर्दै आन्दोलन खेर गएपछि।
साथ दिनेलाई तासको पत्ता जस्तै खेलेपछि
सुखसयल भेटेपछि चाहिँ पर पर हेलेपछि
बिर्सिरहने रमाइरहँदा सम्झने अबेर भएपछि
कति चोटि विश्वास गर्नु आन्दोलन खेर गएपछि।