युवा नेता हुँ प्यारी,
मेरो ठुलै पहुँच छ।
हो प्यारी, नेता हुँ म। युवा नेता हुँ म। प्यारो भाइ भनेर मलाई माया गरी बोलाउने मेरा अग्रज पार्टीका नेताहरु कति छन् कति।
मलाई केही भयो भने बचाउने उहाँहरु नै हो। प्यारी, सानोतिनो नेता होइन म, मेरो ठुलै पहुँच छ।
अबदेखि नुन-तेल ल्याउने पैसा नमाग्नु है प्यारी। म कार्यक्रममा जानु छ बरु दुई-चार हजार देऊ न, भाइहरुलाई चिया खुवाउनु पर्छ। तिमी ढुक्क भएर बस है प्यारी, म नेता हो, तिम्रो छुट्टै इज्जत छ।
किचकिच नगर न यार प्यारी, फलानोको बुढो जापान, अस्ट्रेलिया छ, पैसा कमायो, घर बनायो भनेर। हेर ‘ऊ’ र ‘म’ मा फरक कति छ।
म फलानो केन्द्रीय नेतासँग हिँड्छु, उनीहरुसँगै खान्छु, उनीहरुकै गाडीमा कार्यक्रममा जान्छु अनि मलाई आशन ग्रहण हुन्छ। भाषण दिन्छु। हेर त मेरो इज्जत, सबले नमस्कार गर्छन्।
हो प्यारी, मेरो ठुलै पहुँच छ।
युवा नेता हुँ म।
प्यारी, चामल छैन नभन है इज्जत जान्छ यार। बरु पल्लो घरबाट मागेर ल्याऊ न, म भनेपछि डराउँछन्, दिन्छन्। पछि तिरौला नि, हाम्रो पार्टीकाले जितेपछि सब ठिक हुन्छ।
अहिले मिलाऊ है। म त आज मिटिङमा जान्छु, उतै खान्छु होला। आमालाई मिठो-मिठो बनाएर राम्रो कपडा लगाइदिनु है। सब म मिलाउँछु केही महिनामा। पख न हाम्रो पार्टिले जित्न देऊ अनि त मेरो चल्छ के। अबको उमेद्वार मेरो फलानो दाइ हो।
प्यारी, पल्लाघरे कान्छीले सुन लगाएर तिम्रो मन किन खिन्न? म त नेता हो, प्यारी सुनको कुरा नगर हामी त समाज बनाउने समाजवादी नेता हो।
प्यारी, साहुले पैसा माग्यो रे! पख है, म फलानो दाइलाई भनेर थप १ वर्षपछि तिर्ने बनाइदिन्छु। तिमी पिर नगर, मेरो पहुँच ठुलै छ। बरु खाना पस्क न, आज ठुलो आमसभा छ। मलाई ढिलो भैसक्यो। फलानो नेता आउँदै हुनुहुन्छ आज त। त्यो अस्तीको झण्डा झिक्देऊ है, म रेडी हुन्छु।
छोराको फी तिर्नेबेला आयो रे! ल ल चिन्ता नगर, मेरो फलानो नेता त्यो स्कुलको अध्यक्ष हो। हामी गरिब छौँ, सबलाई थाहा छ, म फी मिनाह गर्न लगाउँछु। किन चिन्ता गर्छौ? मेरो चल्छ प्यारी, म नेता हो।
आमालाई सारी फलानो पसलमा उधारो भनेको छु, पार्टीकै दाइ हुन् गएर ल्याउनु। फलानो नेता ठुलै ठेक्दार हो, उस्को बजारमा घर छ। केही महिना कोठामा बस भन्नुभा’छ, छोराछोरी त्यहिँ बसेर पढाउनुपर्छ प्यारी।
मेरो ठुलै पहुँच छ प्यारी,
म युवा नेता हुँ।
आज घरमा काम छ भनेर नरिसाऊ है, तिमी सबै काम गरिहाल्छौ नि। म त आज विरोध र्यालीमा जानु छ। घरमा सबै मिलाऊ है, धेरै बोलेऊ भने म डिभोर्स दिन्छु फेरि।
एक रुपैयाँ तिर्नु पर्दैन मैले, महिला अधिकार त हामीले लेखेको शब्द मात्रै हो। थाहा छ नि मेरो ठुलै पहुँच छ। म त फलानो नेताको खल्तीको मान्छे हुँ। मेरो सबै चल्छ।
युवा नेता हुँ प्यारी,
मेरो ठुलै पहुँच छ।